पार्टीमा तेस्रो पुस्ता आइसक्यो, उनीहरुलाई भरोसा गर्नुपर्छ- अष्टलक्ष्मी

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा तेस्रो पुस्ता आइसकेकाले उनीहरुलाई भरोसा गर्नुपर्ने बताएकी छन् ।

नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत बन्द सत्रको दोस्रो दिन भृकुटीमण्डपमा पत्रकारसँग कुराकानी गर्दै उपाध्यक्ष शाक्यले नयाँ पुस्तालाई भरोसा र विश्वास गर्नुपर्ने बताइन् ।

शाक्यले भनिन्- ‘उहाँहरु योग्य छ, विज्ञ छ, प्रविधिले युक्त छ, हामी जस्तो होइन नि त ?’

उनले ३/४ वर्षअघिदेखि नै आफूले पार्टीको सक्रिय राजनीति छोड्ने बताइरहेको प्रष्ट पारिन् ।

‘मलाई टिकट पनि चाहिँदैन, मलाई मन्त्री पनि चाहिँदैन भन्याथें, मेरो बारेमा चिन्ता नगर्नु भनेको थिएँ,’ शाक्यले भनिन्, ‘मैले टिकट पनि लिइनँ, अहिले आएर पार्टीको स्थिति हेरिरहँदाखेरि यति धेरै पार्टीमा दोस्रो पुस्ता भइरहँदा मैलेमात्र पार्टीमा बस्नुपर्छ, पार्टी सम्हाल्नुपर्छ भन्ने मलाई लाग्दैन ।’

उपाध्यक्ष शाक्यले पार्टीका लागि पछाडि बसेर पनि गर्न सकिने बताइन् । उनले पद नै चाहिन्छ भन्ने नलागेको बताइन् ।

उनले पार्टीको सक्रिय राजनीतिबाट अचानक बिदा लिएको बताइन् । कसैको सल्लाहबिनै, कसैले नभनी नै बिदा लिएको शाक्यले बताइन् । उनले भनिन्, ‘सबै छक्क पनि पर्नुभयो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *