
काठमाडौं । नेकपा एमालेका नेता शेरधन राईले केपी शर्मा ओलीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफूहरूको प्रयास अझै जारी रहेको बताएका छन् । सचिवको उम्मेदवारी दिएका राईले ओलीकै नेतृत्वमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यमा हिँड्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो अधिकतम प्रयास सर्वसम्मतिको थियो र छ । अहिले पनि हामी त्यो प्रयासमा हामी छौँ । हामी चाहन्छौँ केपी शर्मा ओलीको नेतृत्वमा सर्वसम्मत ढङ्गले नयाँ केन्द्रीय कमिटी चयन गरेर नेकपा एमालेमा नयाँ आकर्षणका साथमा हामी यस देशमा प्रस्तुत हुन चाहन्छौँ । जसले आजको यो मुलुक जुन सङ्कटमा छ, यो सङ्कटबाट एउटा समाधानको प्याकेजसहित अगाडि जान सकोस् ।’
पार्टीलाई एउटा निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्दै अगाडि बढाउन आवश्यक रहेको राईले बताए ।
उनले थपे, ‘कतै पनि सर्वसम्मतबाट नेतृत्व निर्माण हुन नसक्दा हामीले प्रक्रियामा प्रवेश गर्नुपर्छ । हामी लोकतान्त्रिक अभ्यासमा, हामी त्यो मान्यतामा विश्वास गर्छौँ । त्यसप्रकार प्रतिस्पर्धा हुन्छ। तर प्यानलको आधारमा, गठबन्धनको आधारमा भन्ने कुरा भन्दा पनि हामी स्वस्थ ढङ्गबाट हामी प्रतिस्पर्धा गर्छौँ ।’
यो प्रतिस्पर्धा पछि एमाले फुट्नेबारे उनले भने, ‘यो बिल्कुलै गलत हो । यस्तो सपना जपनाहरू दशकौँदेखि मान्छेले गर्दै आएका छन्, लखहरू गर्दै आएका छन् । तर, सत्य साबित कहिले पनि भएको छैन ।’
उनले एमाले सबै खालका चुनौतीलाई सामना गर्दै यहाँसम्म आएको जिकिर गरे ।
पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले थपे, ‘चौतर्फी घेराबन्दीको बीचबाट पनि नेकपा एमाले बलियो शक्तिको रूपमा, लोकप्रिय शक्तिको रूपमा अगाडि बढ्दै आएको छ । र यस पटक पनि धेरै मान्छेहरूले चाहना गरिराखेका छन् केपी ओलीबिनाको एमाले हेर्न चाहन्छन् । लुलो एमाले हेर्न चाहन्छन् । कमजोर एमाले हेर्न चाहन्छन् । तर, नेकपा एमाले केपी ओलीकै नेतृत्वमा एउटा बलियो एउटा शक्तिशाली पार्टीको रूपमा स्थापित हुन चाहन्छ ।’
उनले अब केपी ओली र ईश्वर पोखरेल दुवैले भीम रावलको नियति र त्यो हविगत भोग्नु नपर्ने बताए ।
उनले थपे, ‘प्रतिस्पर्धा गरिसकेपछि त्यो पराजयलाई पनि त स्वीकार, आत्मसात् गरेर निर्वाचित नेतृत्वलाई मतलब सहयोग गरेर जानुपर्ने हुन्छ नि । त्यसो नगरेर उहाँ जसरी रोडमा जानुभयो, किनारामा जानुभयो, कहाँ पुग्नुभयो त्यो उहाँको कुरा हो । त्यसैले अहिले त्यो बिम्बलाई जोडेर फेरि मतलब भीम रावल कसैलाई बनाइदिँदै छन्, बन्दै छन् भन्ने कुरा त्यो उपयुक्त होइन ।’

Leave a Reply