मेरो कित्ता एमाले हो : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूलाई कित्ताकाट नगर्न आग्रह गर्दै आफ्नो कित्ता एमाले भएको बताएका छन् ।

एमालेको ११औँ महाधिवेशन स्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता बास्कोटाले एमाले पार्टीले निर्माण गरेको जगभित्र, यसको अभ्यासभित्र प्रतिस्पर्धा गर्ने कुरा सामान्य भएको बताए । उनले पदीय कुरामा इच्छा आकांक्षाहरुमा मतमात्रै नमिलेको बताए । उनले आफू जन्ती र मलामी नै ईश्वर पोखरेल र केपी ओलीको नभएको बताए ।

बास्कोटाले भने- ‘यसबाट केही रोटी सेकिन्छ कि भन्ने कसैलाई परेको छ भने सम्भव छैन ।’

नेता बास्कोटालाई पत्रकारले ‘तपाईं केपी शर्मा ओली पक्षको’ भनेपछि बास्कोटाले ‘सबै केपी शर्मा ओलीको, सबै ईश्वर पोखरेलको भन्दै जवाफ दिए । उनले भने, ‘म नजन्मिँदै उहाँहरु यो मुभमेन्टमा लाग्नु भएको थियो । तपाईंले किन मलाई कित्ताकाट गर्नुपर्छ ?’

एमालेको हरेक महाधिवेशनमा प्रतिस्पर्धाको अभ्यास भइरहेको बास्कोटाले बताए । उनले भने- ‘यो चुनाव हो एमालेभित्रको, तपाईंहरु सबै पत्रकार भए पनि मिडियाको ब्राण्ड र अनुहार फरक छ, त्यस्तै हो ।’

बास्कोटाले एमालेको इक्वेसन मात्र फेरिएको बताए । उनले भने- ‘एमाले फेरिएको होइन, एमालेको संस्कार फेरिएको छैन । एमालेप्रतिको विश्वास धर्मराएको छैन ।’

एमाले र आफूलाई हेर्दा निकट विगत र परको आगत हेर्न उनले अनुरोध गरे ।

‘एमालेलाई हेर्दा हिस्ट्रीमा हेर्नुस् त्यहाँभित्र एमालेको जीवन र एमालेको जीवनभित्र मुलुकको लोकतन्त्र अटेको छ ।’ बास्कोटाले भने ।

‘बाउ छोरा एउटै घरमा हुन्छन् यसो दायाँ बायाँ हुँदा सबै सम्बन्ध तोडिन्छन् ?’ बास्कोटाले पत्रकारलाई नै प्रश्न गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *