रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशतले बढ्यो, भित्रियो ६ खर्ब ८७ अर्ब रुपैयाँ

काठमाडौं । रेमिट्यान्स (विप्रेषण) आप्रवाह ३१.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो ।

गएको कात्तिक महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३३ अर्ब ८२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब १४ अर्ब ३१ करोड रहेको थियो ।

यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।

खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रहेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ४७ हजार ४७८ र ९४ हजार १०५ रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *