
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति विशुद्ध जनताको सेवा गर्ने एउटा माध्यम भएको बताएका छन्। महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कम्युनिस्ट पार्टीका मूल्य र मान्यताहरूलाई बचाइराख्नुपर्ने उनको भनाइ छ।
अब सक्रिय राजनीतिबाट बिदा हुने घोषणा गरेका ज्ञवालीको भनाइ जस्ताको तस्तै, हाम्रो पार्टीमा लामो समयको अभ्यासपछि निरन्तर एउटा कार्यकारी पदमा चाहिँ दुई पटक भन्दा बढी नउठ्ने, या त माथिल्लो पदमा जाने या रिटायर गर्नेरलिने भन्ने एउटा प्रस्ताव हामीले पास गरेका हौँ। त्यो हामी छलफल गरेर पास गरेका हौँ, व्यापक रूपमा छलफल गरेर पास गरेका हौँ। नवौँ (महाधिवेशन) मा गर्यौँ, दशौंमा गर्यौँ।
तर बिचमा आएर यो कुरालाई के गरियो भन्दा तोडमोड गरेर अनि चाहिँ के भन्दा के कारणले गरियो, कसको स्वार्थमा गरियो, अब उनीहरूले जानुन्। तर त्यो कुरासँग मेरो असहमति रहँदै आयो। असहमति रहँदै आएको हुनाले म एक कार्यकाल पार्टीको सचिव, दुई कार्यकाल पार्टीको उपाध्यक्ष भएको हुनाले, त्यो अब दुई कार्यकाल भइसकेपछि या त म अध्यक्षमा जानुपर्थ्यो या म चाहिँ पछाडि हट्नुपर्थ्यो।
अध्यक्षमा चाहिँ ईश्वर पोखरेललाई अगाडि बढ्नुस् भनेर मेरो पनि सल्लाह हो, समर्थन हो। त्यसो भएको हुनाले अब चाहिँ फेरि उपाध्यक्षमा तेस्रो पटक उठ्नुपर्छ भन्ने त्यो कुरा चाहिँ मैले मान्दिन। ईश्वर पोखरेललाई त अध्यक्षमा समर्थन गर्या हो। फेरि उपाध्यक्षमा दोहोरिन मन भएन। त्यसो गर्नुहुन्न भन्ने मान्यता हो। त्यसकारणले गर्दा अध्यक्षमा पनि दोहोरिन हुन्न, उपाध्यक्षमा पनि दोहोरिन हुन्न। अर्को कुनै कार्यकारी पदमा माथि जान पाइयो, तल चाहिँ दोहोरिन भएन।
लोकतन्त्रमा, कुनै पनि कार्यकारी महत्त्वपूर्ण पदमा धेरै लामो समय रहनुहुँदैन। यसका अनेकौँ कारणहरू छन्, अहिले तपाईँसँग व्याख्या गर्न समय छैन। त्यसो भएर लोकतन्त्रलाई सुदृढ गर्नको लागि एउटै कार्यकारी पदमा कुनै पनि व्यक्ति लगातार रूपमा लामो समय रहनुहुँदैन। त्यसका अनेक नकारात्मक कुराहरू छन्।
मैले अध्यक्ष ओलीलाई मात्रै होइन, नेपालका सबै राजनीतिक पार्टीहरूलाई, नेताहरूलाई तपाईँहरू बाँचुन्जेल पदमै, कार्यकारी पदमै बसिरहने मान्यताबाट अब पछि हट्नुस्। यस्तो गर्नुहुन्न। यसले लोकतन्त्र कमजोर हुन्छ, पार्टी कमजोर हुन्छ।

Leave a Reply