
काठमाडौं । चलचित्र ‘झरिपछिको इन्द्रेणी’ को ‘आम नेपाली बुवा’ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको युट्युब च्यानलबाट चलचित्रको ओएसटी सार्वजनिक गरिएको हो ।
बालेनले आफ्नो र्याप बुवालाई समर्पित गरेका छन् । गीतको भिडियाे सुरु हुनु अघि उनले आफ्नो स्वर्गीय बुवा डा.रामनारायण शाहको तस्बिर राखी उनलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । र्यापको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ समावेश छ । कोरस गायन दीक्षा उप्रेतीको छ ।
सार्वजनिक ‘आम नेपाली बुवा’ मा र्याप सँगै शब्द पनि बालेनकै छ । आम बुवाको संघर्ष, जिम्मेवारी र भावनात्मक सम्बन्धलगायत समाजको यथार्थ र्यापमा समावेश गरिएको छ । भने भिडियोमा चलचित्रका दृश्यहरू समेटिएको छ ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको यो चलचित्रबाट अभिनेता गणेश उप्रेतीले लामो समयपछि कमव्याक गर्दैछन् । चलचित्रमा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईको अभिनय छ ।
आगामी पौष ४ गतेबाट देशब्यापी रिलिज हुने यो चलचित्रबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवाल छन् । निर्देशक घिमिरे स्वयंको कथा रहेको चलचित्रको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले मिलेर लेखेका छन् ।
बुद्ध थापाले छायांकन गरेको यो चलचित्रलाई अनिशा सेन्दाङ लिम्बुले निर्माण गरेकी हुन। सह-निर्मातामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की रहेका छन् ।

Leave a Reply