
काठमाडौं । नेकपा एमालेको आगामी नेतृत्वको लागि केपी शर्मा ओली र ईश्वर पोखरेल भिड्ने निश्चित भएको छ । दुवै पक्ष प्यानल बनाएर चुनावी मैदानमा उत्रिँदै छन् ।
अहिलेसम्म दुवै पक्ष आफ्नो तर्फबाट उम्मेदवार टुङ्ग्याउन आन्तरिक गृहकार्यमा जुट्दै उम्मेदवारी दर्ता गरिरहेका छन् ।
अध्यक्ष केपी ओलीको तर्फबाट सचिव पदमा २ पूर्वमुख्यमन्त्री र २ बहालवाला मुख्यमन्त्री मैदानमा छन् । जसमा शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की र यामलाल कँडेल छन् ।
शेरधन कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन् । ०७४ फागुन २ गते मुख्यमन्त्री बनेका राई ७८ भदौ १० सम्म रहेका थिए । उनी अहिले स्थायी कमिटीमा थिए ।
कार्की भने कोशी प्रदेशको चौथो मुख्यमन्त्री हुन् । उनी ०७९ पुस २५ मा पहिलोपटक मुख्यमन्त्री बनेका थिए । उनी पनि १०औँ महाधिवेशनबाट स्थायी कमिटी सदस्य छन् ।
खगराज अधिकारी पनि पूर्वमुख्यमन्त्री हुन् । उनी दुई पटक गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थि ए। यामलाल कँडेल भने अहिले कर्णालीको मुख्यमन्त्री छन् । उनीहरू पहिलो पटक पार्टी पदाधिकारीमा डेब्यू गर्ने दाउमा छन् ।
यस्तै, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी पनि अनुशासन आयोगको सदस्यमा ओली प्यानलबाट चुनाव लड्दैछन् ।
पूर्वमुख्यमन्त्रीद्वय शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ भने यसअघि नै पदाधिकारीमा थिए । पोखरेल महासचिवमा दोहोरिने र गुरुङ उपमहासचिवबाट उपाध्यक्षमा फड्को मार्ने तयारीमा छन् ।

Leave a Reply