
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशन आगामी फागुन ११ देखि १३ गतेसम्म हुने भएको छ ।
विगतमा भिन्नभिन्न समूहमा रहेका एनआरएनएको एकतापछि आइतबार बसेको ‘स्टेरिङ’ समितिको बैठकले एनआरएनएको १२औँ एकता महाधिवेशन फागुन १३ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो । सङ्घका महासचिवद्वय गौरीराज जोशी र बीआर लामाले संयुक्त विज्ञप्ति जारी गरी ‘स्टेरिङ कमिटी’ले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मिति घोषणा गरेको जानकारी दिए । उक्त बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै साङ्गठनिक एकता र आन्तरिक व्यवस्थापनका लागि विभिन्न निर्णयसमेत गरेको छ ।
बैठकले राष्ट्रिय समन्वय समिति (एनसिसी) बिचको एकतालाई निष्कर्षमा पुर्याउन गङ्गाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसिसी एकता समिति’ गठन गरेको छ । उक्त समितिको सहसंयोजकमा टीका गुरुङ र सदस्यमा शनि ओली, नारायण काफ्ले र चिरञ्जीवी खड्का छन् ।
सङ्घले एनआरएनएको एकताको सन्देश विश्वभरका नेपालीमाझ पुर्याउन क्षेत्रीयस्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रम गर्ने भएको छ । सङ्घले १२औँ महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन विश्वभर छरिएका गैरआवासीय नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषदहरू र सरोकारवाला सबै पक्षलाई सहयोगका लागि अपिल गरेको छ ।

Leave a Reply