‘जेनजी आन्दोलन’को क्षतिपूर्तिमा बीमकको कन्जुस्याइँ- साढे २३ अर्बको दाबी पर्दा भुक्तानी ४ अर्ब मात्रै 

काठमाडौं । अर्बौंको प्रिमियम संकलन गर्दा ‘सुरक्षाको ग्यारेन्टी’ गर्छौँ भन्ने बीमा कम्पनीहरूले विपत्तिको समयमा भने मुठ्ठी कसेका छन् । गत भाद्र २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ ले पुर्‍याएको भौतिक क्षतिको घाउमा मलम लगाउनुपर्ने बीमा कम्पनीहरूले दाबी भुक्तानीमा चरम ‘कन्जुस्याइँ’ देखाएका हुन् ।

‘जेनजी आन्दोलन’ को आगो साम्य भएको तीन महिना बितिसक्दा पनि पीडित व्यवसायीले राहतको महसुस गर्न पाएका छैनन् । बीमा कम्पनीहरूको दाबी भुक्तानीको गतिमा सुस्त देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने करिब साढे २३ अर्ब रुपैयाँको दाबी पर्दा ८० प्रतिशतभन्दा बढी रकम रोक्का राखेको देखिन्छ । क्षति व्यहोरेको तीन महिना बितीसक्दा समेत पीडितले दाबी गरेको रकमको २० प्रतिशत हिस्सा पनि भुक्तानी पाउन सकेका छैनन् ।

प्राधिकरणका अनुसार आन्दोलनका कारण क्षति भएको भन्दै विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा कुल तीन हजार तीन सय वटा दाबी परेका छन् । यी दाबीवापत बीमितहरूले २३ अर्ब ४४ करोड ६ लाख ७४ हजार रुपैयाँ माग गरेका छन् । तर, कम्पनीहरूले हालसम्म जम्मा ४ अर्ब ३८ करोड ४७ लाख ८० हजार रुपैयाँ मात्र भुक्तानी गरेका छन् । यो कुल दाबी रकमको १८.७० प्रतिशत मात्र हो ।

सिद्धार्थ प्रिमियरमा सबैभन्दा बढी दाबी 

सबैभन्दा धेरै दाबी पर्नेमा ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स’ रहेको छ । यस कम्पनीमा ५ अर्ब ५३ करोड ५६ लाख रुपैयाँ बराबरको ४०७ वटा दाबी परेको छ । जसमा १ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ ।

त्यस्तै, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा ५ अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको दाबी परेको छ । १०१ वटा दाबी परेको यस कम्पनीले हालसम्म ९ करोड १२ लाख रुपैयाँ बराबरको मात्रै भुक्तानी गरेको छ ।

आइजिआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीमा २ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको दाबी पर्दा शिखरमा २ अर्ब ४० करोड ५८ लाख बराबरको दाबी परेको छ । सगरमाथा र नेको इन्स्योरेन्समा एक अर्ब माथिको दाबी पर्दा अन्य कम्पनीहरूमा एक अर्ब भन्दा कम रकम बराबरको दाबी परेको छ ।

राष्ट्रिय बीमा कम्पनीको भुक्तानी ‘शून्य’ 

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको दाबी भुक्तानी ‘शून्य’ रहेको छ । यस कम्पनीमा ५८ करोड ६९ लाख रुपैयाँ बराबरको २४७ वटा दाबी परे पनि हालसम्म कम्पनीले एक रुपैयाँ पनि भुक्तानी गरेको छैन ।

सर्भेको रिपोर्ट आउन ढिला भएकाले दाबी भुक्तानी प्रक्रिया अगाडी बढाउन नसकिएको कम्पनीका दाबी विभाग प्रमुख देवराज घिमिरेले जानकारी दिए । उनले नेपाल प्रेससँग भने, ‘हाम्रो कम्पनीमा सर्भेको रिपोर्ट आउन ढिला भयो । अब लगभग रिपोर्ट सबैजसो प्राप्त भएको छ । भुक्तानीको प्रक्रिया शुरु गर्छौँ ।’

उनका अनुसार यस कम्पनीले भुक्तानीका लागि २० वटा फाइल अगाडी बढाइसकेको छ । अर्को सातादेखि भुक्तानी प्रक्रिया शुरु गर्ने तयारी रहेको उनले जानकारी दिए ।

सरकारले बीमा दाबी रकमको ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी गर्ने भनेको थियो । तर, यस कम्पनीमा अग्रिम दाबीका लागि पीडित कसैले पनि दाबी आवेदन नदिएको घिमिरेले बताए । उनले भने, ‘हामीले पनि अग्रिम भुक्तानी गर्ने भनेका थियौँ । तर हाम्रोमा त्यस्तो माग नै आएन ।’

राष्ट्रिय बीमा कम्पनीसँगै दि ओरिएन्टल इन्स्योरेन्स कम्पनी’ को दाबी भुक्तानी अवस्था निकै दयनीय देखिएको छ । यो कम्पनीमा ५ अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको दाबी परेकोमा हालसम्म जम्मा ९ करोड १२ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ ।

सम्पत्ति बीमामा धेरै क्षति, बागमतीमा सर्वाधिक असर

बीमालेखको प्रकृति हेर्दा आन्दोलनकारीले सबैभन्दा धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको देखिन्छ । ‘सम्पत्ति बीमा’ अन्तर्गत मात्रै १९ अर्ब ८८ लाख रुपैयाँ बराबरको दाबी परेको छ । यस शीर्षकमा हालसम्म ३ अर्ब २१ करोड ८९ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ । यस शीर्षकमा ७१० वटा बीमा दाबी परेका छन् ।

त्यस्तै, दाबी सङ्ख्याको हिसाबले हेर्दा मोटर बीमातर्फ सबैभन्दा बढी दाबी परेको छ । यस शीर्षकमा ३ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ बराबरको २ हजार ३०८ वटा दाबी परेको छ । जसमा हालसम्म १ अर्ब ८ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ ।

इन्जिनियररिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत ५५ करोड ५५ लाख बराबरको दाबी परेकोमा ६ करोड ८१ लाख भुक्तानी भएको छ । एक करोड ६८ लाख बराबरको परिवहन बीमा दाबी परेकोमा ६६ लाख भुक्तानी भएको छ ।

अन्य बीमा अन्तर्गत ३८ करोड ४० लाख रुपैयाँ बराबरको ४५ वटा दाबी परेका छन् । जसमध्ये ४९ लाख रुपैयाँ मात्रै भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

भौगोलिक रूपमा हेर्दा आन्दोलनको केन्द्रबिन्दु बागमती प्रदेश बनेको देखिन्छ । कुल दाबीमध्ये १७ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ (करिब ७६ प्रतिशत) हिस्सा बागमती प्रदेशको मात्रै छ । तर, यहाँ पनि भुक्तानीको अवस्था ३ अर्ब ११ करोड १५ लाख रुपैयाँमा सीमित छ ।

सर्वाधिक बीमा दाबीको दोस्रोमा कोशी प्रदेश रहेको छ । यस प्रदेशमा २ अर्ब ३२ करोड १० लाख रुपैयाँ बराबरको चार सय वटा बीमा दाबी परेको छ । जसमध्ये ६६ करोड ४८ लाख रुपैयाँ दाबी भएको छ ।

मधेशमा ७१ करोड ६४ लाख रुपैयाँ बराबरको दाबी पर्दा ८ करोड ६० लाख भुक्तानी भएको छ भने गण्डकीमा एक अर्ब ६५ करोड ३४ लाख बराबरको दाबी पर्दा ३० करोड ५७ लाख भुक्तानी भएको छ ।

लुम्बिनी प्रदेशमा ४८ करोड ७४ लाख, कर्णालीमा १० करोड ४५ लाख र सुदूरपश्चिममा ३२ करोड ८२ लाख रुपैयाँ बराबरको दाबी परेको छ । जसमध्ये क्रमशः १२ करोड ७७ लाख, ३ करोड ३५ लाख र ५ करोड ५३ लाख रुपैयाँ भुक्तानी भएको तथ्यांकले देखाउँछ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *