
पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैलाउनु न्यायोचित नहुने बताएका छन् । पोखरामा आयोजित प्रदेश सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले लोकतन्त्रको अभिन्न अंग विधिको शासन र स्वतन्त्र निर्वाचन भएको उल्लेख गरे ।
‘लोकतन्त्रको अभिन्न अंग विधीको शासन र स्वतन्त्र निर्वाचन हो । निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनी भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम कतैबाट पनि गर्नु र गराउनु न्यायोचित हुने छैन,’ उनले भने ।
लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याएको विषयप्रति सरकार र गृह प्रशासनले कार्य गरिरहेको अर्यालले सुनाए ।
‘राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याएको विषयप्रति सरकार र गृह प्रशासनले कार्य गरिरहेको व्यहोरा जानकारी गराउछु,’ उनले भने।
दलसँगको वार्ता र संवादको समेतको विषयमा सरकार जिम्मेवार रहेको गृहमन्त्री अर्यालले बताए । उनले भने, ‘दलसँगको वार्ता र संवादको समेतको विषयमा सरकार जिम्मेवार, संवेदनशील र त्यतिकै उत्तरदायी छ। जसका लागि सरकार वार्ता, सम्वाद र छलफलका लागि खुला छ ।’
फरार कैदीबन्दीका सम्बन्धमा कुल फरार कैदीमध्ये ठूलो संख्यामा करिब ७० प्रतिशत कैदीबन्दी फिर्ता आइसकेको अर्यालले जानकारी दिए । बाँकी पनि आउने क्रममा रहेको र यसका लागि गृह प्रशासनले काम गरिरहेको उनले दाबी गरे ।

Leave a Reply