एमाले महाधिवेशन–ओली पक्षका पदाधिकारीबारे छलफल जारी, महासचिवमा प्रदिप ज्ञवालीको अडान कायमै

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट नेतृत्व चयनका प्रक्रिया शुरु हुनलाग्दा संस्थापन पक्षले पदाधिकारीका उम्मेदवार तय गर्न सकेको छैन । आइतबार रातभर पनि नेताहरु छलफलमा थिए ।

महासचिवमा शंकर पोखरेललाई नै अघि सार्ने अध्यक्ष केपी शर्मा ओलीको चाहना नेताहरुले बुझेका छन् । तर प्रदीप ज्ञवालीले महासचिव उम्मेदवार नबने केन्द्रीय सदस्यमात्र उम्मेदवार बन्ने भनेका छन् । पोखरेल र ज्ञवालीमध्ये एकजना महासचिव उम्मेदवार ओलीले तय गर्ने एकल जिम्मेवारी पाएका छन् ।

महासचिवका अर्का दाबेदार पृथ्वीसुब्बा गुरुङ उपाध्यक्ष उम्मेदवार बन्ने भएका छन्, तर उनले शंकर पोखरेलको विकल्प खोज्नुपर्ने अडान राखेको बताइएको छ । त्यस्तै संस्थापन पक्षबाट उपाध्यक्षमा बिष्णु पौडेल, रामबहादुर थापा बादल उम्मेदवार बन्ने निश्चित छ ।

हालका उपाध्यक्ष गुरु बराललाई अनुशासन आयोगको अध्यक्ष बनाउने प्रस्ताव नमानेका कारण उम्मेदवारको टुंगो भएको छैन । उपमहासचिवमा संस्थापन पक्षबाट बिष्णु रिमाल, रघुवीर महासेठ, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र पद्मा अर्यालमध्ये ३ जना हुनेछन् ।

९ सचिवका लागि कोशीबाट शेरधन राई, हिक्मत कार्की र भानुभक्त ढकाल, बागमतीबाट महेश बस्नेत, शेरबहादुर तामाङ, माधव ढुंगेललगायतको बलियो दाबीका कारण टुंगो लागेको छैन । गण्डकीबाट खगराज अधिकारी, कर्णालीबाट यमलाल कडेल र गोरखबहादुर बोगटी, सुदूरपश्चिमबाट गणेश ठगुन्ना, घरफर्क अभियानबाट रामकुमारी झाँक्रीलगायतको नाममा अझै पनि छलफल जारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *