एकैदिन देशभर २२ स्थानमा आगलागी, ७२ लाख बढीको क्षति

काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर २५ वटा विपद्जन्य घटना भएका छन् । ती घटनामध्ये सबैभन्दा बढी २२ वटा घटना आगलागीका छन् ।

कतै डढेलो त कतै भान्सामा खाना पकाउने ग्यास लिक हुँदा आगो लागेको हो । बिजुली सर्ट भएर, असावधानी एवम् जनचेतना अभावमा पनि आगो लागेको प्राधिकरणको विवरणमा उल्लेख छ । रौतहटमा तीन, पाँचथर, झापा, कास्की र स्याङजाका दुई–दुई स्थानमा आगलागीका घटना भएका छन् ।

मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौँ, स्याङजा, रुपन्देही, दाङ, अछाम र दार्चुलाका एक–एक स्थानमा आगलागीका घटना भएका छन् । हिउँदको समयमा आगो ताप्दा, सलाइको काटी खेलाउँदा र धानको कुन्युमा केटाकेटी खेल्दासमेत आगलागी भएको पाइएको छ ।

प्राधिकरणका अनुसार, काठमाडौँको दक्षिणकाली नगरपालिका–५ पूरानो दक्षिणकाली जंगलमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय फर्पिङ टोली र स्थानीयको सहयोगमा डढेलो नियन्त्रण गरिएको थियो । पाल्पामा पहिरो, मोरङका दुई स्थानमा जङ्गली हात्तीले आक्रमण गरेको छ । त्यसमध्ये मोरङको सुन्दरहरैचा नगरपालिका १२ मा हात्तीको आक्रमणमा परेर एकको मृत्यु भएको छ । विपद्मा परेर एक जनाको निधन र चार जना घाइते भएका छन् ।

विपद्जन्य घटनाका कारण एकदिन ७२ लाख ९ सय रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *