
काठमाडौं । आगामी चुनावलाई अलोकतान्त्रिक भन्दै आएको अन्तर्राष्ट्रिय आलोचनाप्रति आइतबार म्यान्माको सैन्य सरकारले प्रतिक्रिया जनाएको छ । जुन्ता प्रमुख मिन आङ ह्लाइङले चुनावपछि बन्ने सरकारमा आफू नेतृत्वको भूमिकामा आउन सक्ने सङ्केतसमेत गरेका छन् ।
सन् २०२१ को कूका माध्यमबाट सेनाले सत्ता कब्जा गरेपछि नागरिक सरकार अपदस्थ भएको थियो । नेताहरू जेल परेका थिए र देशभरि हिंसात्मक गृहयुद्ध फैलिएको थियो । सैन्य सरकारले डिसेम्बर २८ देखि चरणबद्ध रूपमा चुनाव गराउँदै लोकतन्त्रमा फर्किने र द्वन्द्व अन्त्य गर्ने अवसर मिल्ने दाबी गर्दै आएको छ ।
तर अन्तर्राष्ट्रिय लोकतन्त्र पर्यवेक्षकहरूले यस मतदानलाई सैन्य शासनलाई नयाँ स्वरूपमा प्रस्तुत गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन् । संयुक्त राष्ट्रसङ्घ, बेलायत र थाइल्यान्डले समेत यो चुनाव स्वतन्त्र र निष्पक्ष नहुने ठहर गरिसकेका छन् ।
याङ्गुनमा आयोजित दुर्लभ पत्रकार सम्मेलनमा जुन्ताका प्रवक्ता जाओ मिन टुनले ‘म्यान्माका लागि चुनाव भइरहेको हो, अन्तर्राष्ट्रिय समुदायका लागि होइन’ भने । उनले आलोचना गर्न चाहनेहरूले आलोचना गर्न सक्ने भए पनि सेना बहुदलीय लोकतान्त्रिक प्रणालीमा फर्कने आफ्नो उद्देश्यबाट पछि नहट्ने स्पष्ट पारे ।
सन् २०२१ फेब्रुअरीको कूपछि मार्सल ल घोषणा गरेर देश शासन गर्दै आएका मिन आङ ह्लाइङले यस वर्ष आपतकालीन शासन अन्त्य गर्दै राष्ट्रपतिलाई सत्ता हस्तान्तरण गरेका थिए । र कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीसमेत सम्हालेका थिए ।
मतदानपछि उनको राजनीतिक आकाङ्क्षाबारे सोधिएको प्रश्नमा प्रवक्ता जाओ मिन टुनले उनको ‘राज्य कर्तव्यसम्बन्धी अनुभव’ उल्लेख गर्दै राज्यले जिम्मेवारी सुम्पिएमा देशका लागि योगदान गर्न सधैँ तयार रहेको अघिल्ला भनाइ स्मरण गरे ।
यसैबीच सैन्य शासनविरुद्ध लडिरहेका विद्रोही समूहहरूले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा चुनाव रोक्ने घोषणा गरेका छन् । सेनाले चुनावविरुद्ध प्रदर्शन वा अभिव्यक्तिलाई एक दशकसम्मको जेल सजाय दिने कडा कानून लागू गरिरहेको छ ।
सन् २०२० को चुनाव जितेको नेसनल लिग फर डेमोक्रेसी पार्टी विघटन भइसकेको छ र उक्त पार्टीकी नेता नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकी अझै नजरबन्दमै रहेकी छन् ।
– रासस/ एएफपी

Leave a Reply