ई-७ भिसामा कोरिया जाने बाटो खुल्यो, रोकिएको प्रक्रिया पुनः सुरु गर्न सरकारलाई निर्देशन

काठमाडौं । गणतन्त्र कोरियामा दक्ष कामदारका रुपमा जानका लागि रोकिएको ई-७ भिसा प्रक्रिया पुनः खुलेको छ । उच्च अदालत पाटनको आदेशपछि पुनः खुल्ला भएको हो । यसअघिको सरकारले सुरु गरेको तर नयाँ सरकार आएपछि तत्कालका लागि रोक लगाइएको यो प्रक्रियामा अब अदालती हस्तक्षेपपछि नेपाली दक्ष कामदार कोरियामा काम गर्न जान पाउने भएका हुन् ।

केही समयअघि सरकारले नेपालबाट सीपयुक्त श्रमिकहरूलाई कोरियाको ई-७ भिसा अन्तर्गत पठाउने प्रक्रिया सुरु गरेको भएपनि जेनजी आन्दोलनपछि बनेको सरकारले यो प्रक्रियालाई तत्कालका लागि रोक्न भन्दै सूचना निकालेको थियो । वैदेशिक रोजगार विभागले २०८२ भदौ ३१ गते सूचना जारी गरी गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८०’ कार्यान्वयन नहुने जानकारी गराएको थियो । सरकारको यो निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट परेको थियो ।

अदालतले मिति २०८२ असोज ३१ गते उक्त रोक लगाउने निर्णय खारेज गर्दै प्रक्रियालाई अघि बढाउन आदेश दियो । यससँगै, श्रम मन्त्रालयले मिति २०८२ मसिर २४ गते वैदेशिक रोजगार विभागलाई पत्र लेख्दै अदालतको आदेश कार्यान्वयन गर्न निर्देशन दिएको छ । सोहीअनुरूप, वैदेशिक रोजगार विभागले मिति २०८२ मसिर २५ गते सूचना प्रकाशन गरी ई-७ भिसामा दक्ष कामदार पठाउने प्रक्रियालाई रोक लगाउने पुरानो पत्र कार्यान्वयन नहुने स्पष्ट पारेको छ ।

अदालतको यस निर्णयले कोरियामा ई-७ भिसा अन्तर्गत जान तयारी गरिरहेका नेपाली दक्ष युवाहरुलाई ठूलो राहत मिलेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *