
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा अनियमितता सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले विभिन्न जिल्लामा क्रियाशील सदस्यता फाराम वितरण गर्ने क्रममा सिरियल नम्बर नै नभएका फाराम समेत जिल्ला तहमा पठाएपछि क्रियाशील सदस्यतामा धाँधलीको आरोप लागेको छ ।
रुपन्देहीको ७ वटा वडामा सिरियल नम्बर नै नभएका सदस्यता फारामहरू पठाइएपछि वडा समितिले संयुक्त रूपमा कांग्रेस केन्द्रीय कार्यालयमा उजुरी दिएका छन् । सैनामैना नगरपालिकाको वडा नम्बर ५ , ६ , ७, ८, ९, १० र ११ मा पठाइएको फाराममा सिरियल नम्बर छैनन् ।
सिरियल नम्बर भएका फाराममार्फत भरिएका सदस्यतालाई पछि अस्वीकृत गर्न सकिने मनसाय राखेर सुनियोजित रूपमा वितरण गरिएको आरोप उजुरीकर्ताहरूले लगाएका छन् ।
नेपाली कांग्रेस रुपन्देही जिल्ला समितिमार्फत केन्द्रीय कार्यालयमा पठाइएको उजुरीसाथ सिरियल नम्बर नभएका सदस्यता फाराम प्रमाणको रूपमा पेश गरिएको छ ।
तुलसीराम पोख्रेल, शालिकराम पन्थी, महोदत्त ढकाल, ईश्वरी तिवारी, नरेन्द्र सोमरे र नारायण अर्यालले दिएको उजुरीमा सत्यतथ्य छानबिन गरी निरूपण गर्न माग गरिएको छ । कांग्रेस केन्द्रीय कार्यालयकै केही व्यक्तिहरूले सुनियोजित रूपमा भोलि अस्वीकृत हुनसक्ने फाराम पठाएर छेडखानी गरेको उनीहरूको आरोप छ ।
कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य डा।गोविन्दराज पोखरेलले उजुरी प्राप्त भएको र आवश्यक छानबिन भइरहेको बताए ।
‘सिरियल नम्बर बिनाका सदस्यता फाराम वितरण भएको विषयमा उजुरी आएको छ । तत्काल आवश्यक निर्णय लिन्छौँ’,पोखरेलले नेपालप्रेससँग भने ।
कांग्रेसले साबिकको सदस्यता संख्याको अधिकतम शतप्रतिशत नबढ्ने गरी नयाँ क्रियाशील सदस्यता वितरण गर्न परिपत्र गरेको छ ।
केही नेताले सदस्यता दोब्बर गर्ने निर्णयको आडमा ६ लाख सदस्यता सिरियल नम्बरबिनै छपाइ तथा वितरण गरी पार्टी कब्जा गर्ने षड्यन्त्र गरिएको आरोप लगाएका छन् ।
यस कार्यमा पार्टी केन्द्रीय कार्यालयका आईटी म्यानेजरसहित कतिपय कार्यालयका कर्मचारी संलग्न रहेको आरोप छ । यसबारेमा डा।शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई फोन गरेरै जानकारी मागेका थिए । अनियमित रूपमा वितरण गरिएका सदस्यता फिर्ता गरी खिचेर नष्ट गर्नुपर्ने माग कोइरालाले गरेका छन् ।

Leave a Reply