काठमाडौंको जाम हटाउन अन्तर-प्रदेश रुट परमिट बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा देखिएको सवारी चाप र अस्तव्यस्ततालाई मध्यनजर गर्दै अन्तर प्रदेश रुट परमिट बन्द गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा २०८१ साउन ३२ गते बसेको बैठकले प्रदेश सरकार मातहतका यातायात कार्यालयहरूबाट जारी हुँदै आएको अन्तर-प्रदेश बाटो इजाजत (रुट परमिट) मा पूर्ण रूपमा रोक लगाउने निर्णय यातायात व्यवस्था विभागले गरेको हो ।

निर्णय कार्यान्वयनमा आएसँगै अबदेखि प्रदेश सरकारका यातायात मन्त्रालय अन्तर्गत रहेका यातायात कार्यालयहरूले आफ्नो प्रदेश भित्र मात्रै सार्वजनिक सवारी साधनको बाटो इजाजत दिन पाउने छन् । यसअघि विभिन्न प्रदेशका कार्यालयहरूले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर अन्तर-प्रदेश रुट परमिट जारी गर्दै आएका थिए ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अन्तर-प्रदेश जाँच पास तथा रुट इजाजत पत्र जारी गर्ने जिम्मेवारी पूर्ण रूपमा संघीय सरकारको क्षेत्राधिकार भित्र पर्नेछ । अब अन्तर-प्रदेश बाटो इजाजत दिनु परे यातायात व्यवस्था विभाग अन्तर्गत रहेका सवारी परीक्षण कार्यालयहरूले मात्र दिन पाउने छन् ।

विभागले यस सम्बन्धमा सबै प्रदेशका यातायात मन्त्रालयलाई अन्तर-प्रदेश रुट परमिट जारी नगर्न परिपत्र गरिसकेको छ । पहिले जारी भएका रुट परमिट पनि तत्काल सच्याउन भनेको छ ।

महानिर्देशक पोखरेलले भने, ‘उपत्यकामा बढेको ट्राफिक जाम र दुर्घटनाको जोखिम कम गर्न प्रदेशले दिने अन्तर प्रदेश रुट परमिट बन्द गरेको हो । कतिपय यातायात कार्यालयहरूले आफ्ना क्षेत्राधिकारभन्दा बाहिर रुट इजाजत जारी गर्दा काठमाडौँ उपत्यकामा व्यापक ट्राफिक जामको समस्या बढेको छ । साना सवारी चल्न सक्ने कम चौडाइका बाटोमा समेत बढी सिट भएका ठूला सवारीलाई बाटो इजाजत दिँदा दुर्घटनाको जोखिम समेत वृद्धि भएको छ । यस निर्णयले यातायात व्यवस्था कार्यालयलाई नियमानुसार कायम भएका प्रदेशभित्रका बाटोमा मात्र रुट इजाजत पत्र जारी गर्ने गरी बाध्यकारी बनाएको छ । जसले संघीय संरचना अनुसार अधिकार क्षेत्रको स्पष्ट सीमाङ्कन गरेको छ ।’

काठमाडौं उपत्यकाको ट्राफिक सहज बनाउनका लागि बाहिरबाट उपत्यका प्रवेश गर्ने सार्वजनिक यात्रुवाहक सवारी साधनहरूको रुट पनि निश्चित गरिएको छ । नयाँ नियम अनुसार उपत्यका बाहिरबाट प्रवेश गर्ने सार्वजनिक यात्रुवाहक सवारी साधनहरू अब कलंकी–सितापाइला हुँदै बसपार्कसम्म मात्र आउन र जान पाउनेछन् ।

काठमाडौं उपत्यका बाहिरबाट बनेपासम्म चल्ने सार्वजनिक यात्रुवाहक सवारी साधनका लागि भने विशेष रुट तोकिएको छ । यस्ता सवारी साधनले कलंकी-सातदोबाटो-कोटेश्वर हुँदै बनेपासम्म आउन र जान पाउने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *