
काठमाडौं । एमाले केन्द्रीय डेब्युको तयारीमा रहेका केही नेताहरूको सम्भावना बलियो बनेको छ । उनीहरू नेतृत्वको ‘राडार’ मा समेत रहेको विश्लेषण गरिएको छ । हिजोसम्म संशयमा रहेका केही भने मनोनयमा परेपछि उत्साहित बनेका छन् ।
केन्द्रीय कमिटीमा इन्ट्री गर्न लागेकामध्यै एक हुन् बागलुङ एमालेका अध्यक्ष हीराबहादुर केसी हुन् । दोस्रो कार्यकाल अध्यक्ष हाँकिरहेका केसीलाई यसपालि केन्द्रीय सदस्यको प्रबल दाबेदारका रूपमा हेरिएको छ ।
युवा संघ उपाध्यक्षको चुनावमा म्यान अफ दि इलेक्सन घोषणा भएका केसी ‘पाको पुस्ताको अनुभव र युवा पुस्ताको जोश’ ले एमाले निर्माणमा ठूलो सहयोग पुग्ने बताउँछन् ।
केन्द्रीय सदस्यमा इन्ट्री हान्न लागेकी अर्की चर्चित अनुहार सुनिता डंगोल हुन् । काठमाडौं महानगरकी उपमेयर डंगोले स्पष्ट वक्ता, मोटिभेसन स्पिकरसमेत हुन् । महानगरमा मेयर बालेनसँगको द्वन्द्वमा पार्टीको पक्षमा कहिले उनीसँग भिडेरै र कहिले समन्वय गरेर पार्टीभित्र आफ्नो स्पेस बनाइरहेकी सुनिता नेतृत्वको नजरमा रहेको बताइन्छ । हिजो महाधिवेशन प्रतिनिधि मनोनयनमा परेपछि उनलाई केन्द्रीय सदस्य हुने उनको बाटो खुलेको छ ।
यसैगरी ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले पनि हिजो मनोनयमा परेसँगै आफूलाई सशक्त दाबेदारको रूपमा प्रस्तुत गर्दै लबिङ बढाएकी छन् ।
यसपटक केन्द्रीय सदस्यमा इन्ट्रीको तयारीमा रहेका अर्का चर्चित व्यक्तित्व हुन् सुहाङ नेम्वाङ । १०औँ महाधिवेशनबाट उपाध्यक्ष भएका सुवास नेम्वाङका छोरा सुहाङ बाबुको मृत्युपछि इलाम २ को संसदीय उपचुनावमा सानदार जितसँगै राजनीतिमा होमिएका युवा हुन् ।
महाधिवेशन स्थलमा धेरैजनाको आकर्षणको केन्द्र बनेका सुहाङलाई अधिकांश प्रतिनिधिले केन्द्रीय सदस्यमा देख्न खोजेको बताएका छन् । उनीसँग फोटो सेसन गर्नेको पनि उत्तिकै भिड लाग्छ ।
यस्तै अर्का चर्चित व्यक्तित्व अब्दुस मिया पनि केन्द्रीय सदस्यमा इन्ट्रीका लागि पल्ला भारी भएको व्यक्तिमा रहेको बताइन्छ । पार्टीभित्र सेलिब्रेटीको रूपमा रहेका मिया २०७९ को निर्वाचनमा गोरखामा प्रचण्डसँग चुनाव लडेका थिए ।
एमालेमा ९ जना जिल्लाका अध्यक्षहरू दोहोरिएका छन् । ती सबैले केन्द्रीय सदस्यमा इन्ट्री गर्ने सम्भावना बलियो रहेको एक नेता बताउँछन् ।

Leave a Reply