१७९ जना सुब्बा र खरिदारको सरुवा, फागुनसम्मलाई काज र सरुवा स्थगित

काठमाडौं । १३८ जना नायव सुब्बा र ४१ जना खरिदार गरेर १७९ कर्मचारीको एकै पटक सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुको एकै पटक सरुवा गरेको हो ।

१७९ जना नासुब्बा र खरिदारको सरुवा गर्दै सामान्य प्रशासन मन्त्रालयले सुब्बा र खरिदारको सरुवा तथा काज स्थगित गरेको छ । मन्त्रालयले राजपत्र अनङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीको सरुवा, कामकाज, काज तथा सरुवा सहमति प्रदान गर्ने कार्य अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार लोक सेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार खुला प्रतिस्पर्धा तथा बढुवाका विज्ञापन प्रकाशन हुने समय नजिकिँदै गर्दा लामो समयदेखि सुगम स्थानमा कार्यरत कर्मचारी बढुवा प्रयोजनका लागि मात्र दुर्गम स्थानमा सरुवा हुने प्रवृत्ति देखिन थालेपछि यस्तो निर्णय गरिएको हो ।

विज्ञापन प्रकाशित हुनु ठीक अघि नायब सुब्बा, खरिदार वा सो सरहका पदमा कार्यरत कर्मचारीलाई सरुवा गर्दा लामो समयदेखि दुर्गम क्षेत्रमा सेवा गरिरहेका कर्मचारी बढुवाको अवसरबाट वञ्चित हुने जोखिम रहेको मन्त्रालयको ठहर छ । विभिन्न जिल्लामा दुर्गम सेवाको प्रतिशतसमेत निर्धारण भइसकेको अवस्थालाई ध्यानमा राख्दै, निर्वाचनजस्ता विशेष परिस्थिति तथा पदस्थापनबाहेक अन्य अवस्थामा सरुवा तथा काज रोक्ने निर्णय गरिएको जनाइएको छ ।

निर्णयअनुसार राजपत्र अनङ्कित प्रथम श्रेणी (नायब सुब्बा वा सो सरह) का कर्मचारीको सरुवा तथा काज आगामी माघ मसान्तसम्म र राजपत्र अनङ्कित द्वितीय श्रेणी (खरिदार वा सो सरह०का कर्मचारीको हकमा आगामी फागुन मसान्तसम्म स्थगित रहनेछ ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै उक्त निर्णय कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई अनुरोध गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *