
काठमाडौं । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रको तयारी भइरहेको छ । प्रतिनिधिहरू हलभित्र छिर्ने क्रम शुरू भएको छ ।
बन्दसत्रको अध्यक्षता पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने र अध्यक्ष मण्डलमा निवर्तमान कमिटीका सबै पदाधिकारी हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनका अनुसार आजको बन्दसत्रले महाधिवेशनका प्रक्रियागत विषयलाई अनुमोदन गर्दै बाँकी जिम्मेवारी पार्टीको केन्द्रीय निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने छ ।
बन्दसत्रको शुरूमा विश्वका विभिन्न मुलुकका कम्युनिष्ट पार्टीले पठाएका शुभकामना सन्देश प्रस्तुत हुनेछ ।
त्यसपछि आजै बिहान सम्पन्न केन्द्रीय कमिटीको अन्तिम बैठकबाट अनुमोदित १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव हलमा प्रस्तुत गरिने भएको छ । यो प्रस्ताव पारित भएपछि निर्वाचन कार्यतालिकाको मस्यौदा प्रस्तुत हुन्छ ।
निर्वाचन कार्यतालिकाको मस्यौदामा ४० वर्षमुनिका युवालाई केन्द्रीय कमिटीमा प्रवेश गराउने अलग्गै कलष्टर छैन । यद्यपि, प्रतिनिधि चयनमा भने उक्त कलष्टर थियो ।
केन्द्रीय कमिटी सदस्य निर्वाचनका लागि प्रदेशगत भौगोलिक, महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र, मजदुर सहितका क्षेत्र प्रस्तावित मस्यौदामा छ । युवा कलष्टर नराखिएको भन्दै उक्त कलष्टरका प्रतिनिधिले केन्द्रीय कमिटी निर्वाचन तालिकाभित्र उक्त कलष्टरको माग गर्दैछन् ।
आजै निर्वाचन आयोगलाई हस्तान्तरण
बन्दसत्रको हलबाट निर्वाचन तालिका र कार्यविधि पारित भएपछि बाकी हुने सम्पूर्ण प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी आयोगलाई नै दिइने उपमहासचिव ज्ञवालीले बताए ।
अध्यक्ष मण्डलले महाधिवेशनमा सहभागी आयोजक र प्रतिनिधिलाई मतदाता कायम गरी आजै नामावली हस्तान्तरण गर्दैछ ।
आयोगले आजै बेलुकी मतदाता नामावली र निर्वाचन कार्यक्रम प्रकाशित गर्ने तयारी गरेको छ । आयोगका प्रमुख विजय सुब्बाले सकेसम्म छिटो हुने गरी प्रक्रिया पूरा गरिने बताए ।

Leave a Reply