
विराटनगर । २०७९ को निर्वाचनमा सुनसरी ३ बाट उम्मेदवार बन्दा कांग्रेस नेता विजयकुमार गच्छदारले यो मेरो अन्तिम पटक भन्दै मतदातासँग भोट मागेका थिए । आफूविरुद्धको भ्रष्टाचार मुद्दामा फैसला नभई लडेका गच्छदार एमालेकी भगवती चौधरीसँग पराजित भए ।
२०४८ को निर्वाचनदेखि कहिल्यै निर्वाचन नहारेका गच्छदार निर्वाचनमा पराजित भएपछि उम्मेदवार नबन्ने धेरैको अपेक्षा थियो । गच्छदार आफैँले अन्तिम पटक भनेकाले पनि पालो पाइने आशामा थिए अरु कांग्रेस नेता । यसरी आशामा बस्ने नेता मध्येका एक हुन् उनका भाइ वेद गच्छदार ।
सुनसरीको दुहबी नगरपालिकामा दुई पटक मेयर जितिसकेका वेद प्रतिनिधिसभामा उक्लिने दाउमा रहँदा पुन विजय तगारो बनेर आए । आफैँले गरेको घोषणा बिर्सिएर गच्छदारले सुनसरी ३ नम्बर क्षेत्रीय समितिको बैठकमा आगामी निर्वाचनमा उम्मेदवारको रूपमा एकल नाम सिफारिस गर्न दबाब दिएको नेताहरू बताउँछन् ।
समितिका एक सदस्यका अनुसार पहिलो दिन बसेको बैठकमा विजयले एकल नाम सिफारिसका लागि दबाब दिए । दाजुले पुन इच्छा देखाएपछि वेदले आफ्नो पनि नाम राख्न समितिसँग भने । कांग्रेसले स्थानीय तह र प्रदेश सभामा रहेकाहरूलाई आसन्न निर्वाचनमा उम्मेदवार बन्न नपाउने मापदण्ड तोकेको छ । तर, विजयले दाबी नछाडेपछि भाइ बेदले पनि मापदण्ड विपरीत आफ्नो नाम राख्न भने ।
दाजुभाइको विवादपछि नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ ले दाजुभाइसहित थप एकजनाको नाम राखेर जिल्ला समितिमा नाम सिफारिस गरेको छ । गच्छदार तीनै नेता हुन् जो ५ पटक उपप्रधानमन्त्री र १२ पटक मन्त्री भएका छन् ।
४८ सालदेखि सो क्षेत्र नछाडेका गच्छदारले नेपाली कांग्रेसबाट टिकट नपाएपछि नयाँ पार्टी समेत बनाए । पटक पटक सत्तामा पुगेका उनै गच्छदार जीवनको उत्तरार्धमा पुग्दा पनि पुन निर्वाचन लड्ने आकाङ्क्षी छन् ।
गच्छदार जस्तै नारायण खड्काले समेत उम्मेदवारको नाम एकल रूपमा आफ्नो नाम सिफारिस गर्न दबाब दिए । उदयपुरको १ बाट निर्वाचन लड्दै आएका खड्काले आसन्न निर्वाचनमा आफ्नो मात्रै नाम सिफारिस गराउन खोजे पनि क्षेत्रीय समितिले उनीसहित अरू आकांक्षीको नाम जिल्लामा पठाएको छ ।
७९ वर्षका खड्का २०५६,२०६४, २०७०, २०७४ र २०७९ मा सो क्षेत्रबाट निर्वाचन लड्दै आएका छन् । पटक-पटक मन्त्री भएका उनलाई पुन: प्रतिनिधिसभाको उम्मेदवार रूपमा कांग्रेसले अगाडि सारिसकेको छ ।
सोलुखुम्बुबाट यस पटक पनि बलबहादुर केसी नै उम्मेदवार बन्ने दौडमा छन् । उनी आफैँ पुन: उम्मेदवार बन्न खोजेपछि विवाद भएको थियो । विवाद भएपछि उनी बैठक नै छाडेर काठमाडौं हिँडेपछि सिफारिस प्रक्रिया अनिश्चित बनेको कांग्रेस सोलुखुम्बुले जनाएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय समितिले मङ्सिरको २३ गते भित्रमा क्षेत्रीय समितिलाई आसन्न निर्वाचनमा उम्मेदवार बन्नेको नाम सिफारिस गर्न सर्कुलर जारी गरेको थियो । सो सर्कुलर अनुसार कोशी प्रदेशका अधिकांश प्रतिनिधि सभाका क्षेत्रीय समितिहरूले आसन्न निर्वाचनमा उम्मेदवारका लागि अधिकांश निर्वाचन क्षेत्रमा पुरानै अनुहारलाई सिफारिस गरेको छ ।
केहीमा भने अझै सिफारिसमा समस्या देखिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिले यस अघि पटक-पटक चुनाव जितेका र मन्त्री भएकाहरूलाई नै आगामी निर्वाचनमा पनि उम्मेदवारको रूपमा नाम सिफारिस गरेको हो । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय समितिले ‘पुस्तान्तरण’ को नारालाई पूर्णतः बेवास्ता गरेको भन्दै कांग्रेस भित्रका युवा पुस्ताले विरोध गरेका छन् ।
‘जेन-जी आन्दोलनपछि दुईजना महामन्त्रीहरूले कांग्रेस सुध्रन्छ र पुस्ता हस्तान्तरण हुन्छ भन्नुभयो । तर, नाम सिफारिसमा कुनै गुन्जायस देखिएन । यो नाम हेर्दा अब आउने निर्वाचनमा पनि उही अनुहार नै मत माग्न आउनु हुनेछ’, ती नेताले भने ।
नेपाली कांग्रेस प्रदेश सभापति उद्धव थापाले सबै विधिबाट छनौट र सिफारिस भएको विषयलाई स्वीकार गर्नुपर्ने बताउँछन् ।
‘सबैको नाम विधि अनुसार सिफारिस भएका हुन् । प्रक्रिया सबैले मान्नुपर्छ । पुराना नेताहरूको मात्रै नाम सिफारिस भएको छैन । युवाहरूको पनि भएको छ । अन्तिम टुङ्गो भने केन्द्रले लगाउँछ ।’
को को भए पुराना नेता सिफारिस ?
महेश आचार्यको नाम मोरङ क्षेत्र नम्बर ४ बाट सिफारिस भएको छ । उनी पूर्वअर्थमन्त्री तथा वन मन्त्री हुन् । उनी पटक-पटक सांसद भइसकेका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको नाम पनि मोरङ क्षेत्र नम्बर ६ बाट सिफारिस भएको छ । उनको नाम एकल सिफारिसमा परेको छ ।
उनी पनि विघटित प्रतिनिधिसभामा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । यसैगरी सुनसरी- ४ बाट ज्ञानेन्द्रबहादुर कार्कीको नाम सिफारिस भएको छ । उनी पनि भोजपुर हुँदै सुनसरीबाट निर्वाचन लड्दै आएका छन् । संखुवासभाका दीपक खड्काको नाम पनि आसन्न निर्वाचनमा उम्मेदवारको रूपमा सिफारिस भएको छ । संखुवासभाबाट चुनाव लड्दै आएका खड्का जेन-जी आन्दोलन अघिसम्म मन्त्री थिए ।
मोरङ १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस भएका डिगबहादुर लिम्बू पनि संविधान सभा चुनावदेखि पटकपटक उठ्दै आएका छन् ।
इलाम १ बाट निर्वाचन लड्दै आएका डम्बरबहादुर खड्का यस पटक भने २ बाट सिफारिस भएका छन् । उनी ७९ को निर्वाचन र उप निर्वाचनमा इलाम १ मा पराजित भएका थिए । एकबाट पराजित भएका खड्का यस पटक भने २ बाट चुनाव लड्ने दाउमा छन् । तेह्रथुमकी सीता गुरुङको नाम यसपटक पनि सिफारिस भएको छ ।

Leave a Reply