
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि हात पार्यो ।
त्यही लुम्बिनी हो, पहिलो सिजनमा एक मात्र जित निकाल्दै अंक तालिकाको पुछारमा रहेको । हो त्यहीँ लुम्बिनी हो, दोस्रो सिजनमा लगातार तेस्रो हार बेहोर्दा लिग चरणबाट बाहिरिने संघारमा पुगेको । हो त्यही लुम्बिनी हो, लगातार हार बेहोर्दा टिमका ओनर ईश्वर जिसीले सामाजिक सञ्जालमा पोखेको फ्रस्टेसन । हो त्यही लुम्बिनी हो, लगातार ६ खेलमा अपराजित हुँदै च्याम्पियन बनेको ।
पहिलो सिजनमा एक मात्र जित निकालेको लुम्बिनीलाई यस पटक राम्रो प्रदर्शन गर्ने दबाब थियो । सोहीअनुसार लुम्बिनीले पहिलो खेलमा जित निकाल्दै दोस्रो सिजनमा सुखद सुरुआत गर्यो । तर, उक्त लय कायम गर्न सकेन । त्यसपछि लगातार तीन खेलमा लुम्बिनीले लय गुमाउन पुग्यो । हारपछि प्लेअफ दौडबाट बाहिरिने संघारमा पुग्दा टोलीका ओनर ईश्वर जिसीले सामाजिक सञ्जालमै फ्रस्टेसन पोखे । उनले सामाजिक सञ्जालमा जिसीले ‘इज इट नट इनफ नाउ’ लेख्दै टोलीको प्रदर्शनप्रति असन्तुष्टि जनाए ।
लगातार हार बेहोर्दा लुम्बिनीको समर्थकबाट चर्को आलोचनासमेत भयो । कतिसम्म भने लुम्बिनीको कप्तानी गरिरहेका राष्ट्रिय टोलीका कप्तान रोहित पौडेललाई कप्तानबाट हटाउनु मागसमेत गरे । तर, लुम्बिनी त्यसबाट नडगमगाई मैदानमा टोलीको प्रदर्शनमा केन्द्रित रह्यो । लगातार तेस्रो हारपछि लुम्बिनीका लागि हरेक खेल ‘डु अर डाई’ को अवस्थामा थियो । त्यहाँबाट एक खेल मात्रै हारेको खण्डमा पनि लुम्बिनी प्रतियोगिताबाट बाहिरिन्थ्यो । तर, लुम्बिनीले उत्कृष्ट पुनरागमन गर्दै उपाधि चुम्न सफल भयो ।
लगातार तीन हारपछि लुम्बिनीले बलिङमा परिवर्तन गर्यो । प्लेइङ–११ मा तीन पेस बलर राखेका कप्तान रोहितले त्यसपछि दुई हुँदै फाइनलमा एक पेस बलर मैदानमा उतारे । सुरुआतमा ३ पेस बलर मैदानमा उतार्दा ब्याटिङ लाइनअप कमजोर बन्न पुगेको थियो । पेस बलर गुल्बदिन नाइब बाहिरिएपछि लुम्बिनीले विकेटकिपिङ ब्याटर निरोशन डिक्वेलालाई भित्रायो । जसले लुम्बिनीको ब्याटिङ अप्सन बढायो ।
तीन हारपछि कप्तान रोहितले बलिङको जिम्मा स्पिन डिपार्टलाई सुम्पिए । जसको फलस्वरूप लुम्बिनी लगातार ६ खेलमा पराजित रहँदै च्याम्पियन बन्न सफल भयो । पछिल्लो ६ खेलमध्ये ५ खेलमा स्पिन बलर प्लेयर अफ द म्याच बनेका छन् । बलिङ चल्दा लुम्बिनीले ब्याटरको साथ पाउन थाल्यो । सुरुआति खेलमा चल्न नसकेका ओपनर डार्सी सर्ट फर्ममा फर्किए । उनी र कप्तान रोहितको साझेदारीले लुम्बिनीको ब्याटिङलाई थप बलियो बनायो । त्यसपछि ब्याटरले संयमित ब्याटर गर्दा लुम्बिनीको जित सम्भव भयो ।
स्पिनरको जादु
शनिबार भएको फाइनल खेलमा लुम्बिनीविरुद्ध सुदूरपश्चिम ८५ रनमा अलआउट भयो । लिग चरणमा एक मात्र खेल हारेको सुदूरपश्चिमको ब्याटिङ लुम्बिनीको स्पिनरसामु धरासायी बन्न पुग्यो । लुम्बिनी फाइनलमा स्पिन बलिङको भरमा मैदान उत्रिएको थियो । जहाँ सफल पनि भयो । स्पिनर शेर मल्ल र कप्तान रोहित पौडेलले ३–३ विकेट र तिलक भण्डारीले एक विकेट लिए । कप्तान रोहित एनपीएलमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाडीसमेत बने ।
एक मात्र पेस बलर रुवेन ट्रम्पलम्यानले पनि उत्कृष्ट प्रदर्शन गरे । सुरुआती दुई विकेट लिँदै रुवेनले सुदूरपश्चिमलाई दबाबमा राखे । त्यसपछि आएका स्पिनरले पनि सुदूरपश्चिमका ब्याटरलाई खुलेर लेख्न दिएनन् । जसका कारण सुदूरपश्चिम ८५ रनमा अलआउट हुन पुग्यो । यो खेल मात्र होइन, लुम्बिनीले खेलेको अधिकांश खेलमा स्पिन बलर हाबी भएका छन् । प्लेअफका दुई खेलमा लुम्बिनीविरुद्ध काठमाण्डु गोर्खाज १११ र विराटनगर किंग्स ९४ रनमा अलआउट भएका छन् । त्यसबाहेकका खेलमा पनि लुम्बिनीका स्पिन बलर हाबी भएका छन् ।
स्पिनर मल्लसहित लुम्बिनीका तिलक भण्डारी, अभिशेष गौतम र कप्तान रोहितले विपक्षीमाथि हाबी भए । फाइनलमा कप्तान रोहितले ह्याट्रिक पूरा गरे । प्रतियोगितामै सर्वाधिक विकेट लिएका ३ खेलाडीमध्ये एक लुम्बिनीका शेर हुन् । उनी उदीयमान खेलाडी घोषित । लुम्बिनीका कप्तान रोहित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी खेलाडी र उत्कृष्ट ब्याटर बने ।

Leave a Reply