भक्तपुरको सल्लाघारीबाट एमालेको सन्देश: उत्साहजनक सहभागिता र ओलीको आश्चर्यजनक सम्बोधन

काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार भने फरक, सन्तुलित र प्रतीकात्मक अभिव्यक्तिसहित प्रस्तुत भए।

शनिवार भक्तपुरको सल्लाघारी पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले अधिकांश समय लिखित भाषणमै केन्द्रित रहेर पार्टी पङ्क्तिलाई एकताको सूत्रमा बाँध्न प्रयास गरे र भदौ २३ र २४ पछि आफूलाई लागेको आरोपको कूटनीतिक तरिकाले जवाफ दिएर युवा पुस्ताको मन जित्ने प्रयास गरे ।

उनको सन्देशमा एमालेभित्रको आन्तरिक एकता नै अहिलेको पहिलो शर्त देखिन्थ्यो भने युवा पुस्ताको चाहना र आवश्यकतालाई स्वभाविक मानिए पनि त्यसलाई हाई ज्याक गरेर गरिएको विध्वंस र त्यसपछि बनेको सरकारविरुद्ध कडा प्रतिवाद गरेका थिए । उनले पार्टीको ११ औँ महाधिवेशनको अङ्कको अर्थ नै पार्टीको आन्तरिक एकता भएको तर्क गरे । ‘एक–एक मिलेर एघार बनौँ’ यो नै एकताको दर्शन‘ उनले भनेका छन् ।

ओलीले ११ औँ महाधिवेशनको अङ्कलाई प्रतीकका रूपमा व्याख्या गर्दै भने—‘हामी एघारौँ महाधिवेशनमा छौँ। एघारमा दुई वटा एक हुन्छन्, तर छुट्टाछुट्टै, टाढा टाढा उभिएका एक होइनन्। एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका एक हुन्।’

उनले थपे–‘‘एक एमालेले अर्को एमालेसँग हात मिलायो, मन जोड्यो भने हामी साधारण एक–एक रहँदैनौँ, हामी एघार बन्छौँ। तर रिस, घात–प्रतिघातमा गयौँ भने हामी एक–एकमै सीमित हुन्छौँ।’

उनका अनुसार, हरेक एमालेले अर्को एमालेलाई जोड्ने शर्त नै ११ औँ महाधिवेशनको मूल सन्देश हो। अध्यक्ष ओलीले युवा पुस्ताको सम्मानमा धेरै समय खर्चे । उनले असहमति जायज, तर विकल्प राजनीतिक दल नै भएको तर्क राख्दै आन्तरिक एकता, राष्ट्रियताप्रति सचेत हुन आग्रह गरे । ओलीले युवाको चाहना स्वाभाविक भएको भन्दै जेन–जी पुस्ताको सम्मान गर्दै भने- ‘असहमति राख्नुस्, आवाज उठाउनुस्। तर त्यो दलको विकल्पमा होइन। जायज विषय, जायज आवाज सम्मान योग्य हुन्छ।’

उनले राजनीतिक उद्देश्य सत्ता परिवर्तन मात्रै नभई सुरक्षा, सुशासन र समृद्धि भएको स्पष्ट पारे। ‘राजनीति सत्ता बदल्ने खेल होइन, नागरिकको ज्यानको सुरक्षा र राष्ट्रिय स्वाधीनताको विषय हो।’ उनले भने ‘सरकार जेन–जी सम्झौता नाटक हो ।’

ओलीले अहिलेको सरकारप्रति कडा आलोचना गर्दै भने— ‘यो जेन–जी सम्झौता नाटक हो, देशविरुद्धको षड्यन्त्र हो। यस्ता नाटक मञ्चन गरेर निर्वाचन हुँदैन। सरकार जालो बनेको छ।’ उनका अनुसार तत्कालको निकास भनेको विघटित प्रतिनिधि सभाको पुनःस्थापना नै हो।

‘संविधानलाई लिकमा फर्काउनुको विकल्प छैन। हामी–हामीबीचको एकता पहिलो शर्त हो।’ उनले चुनावबाट एमाले नभाग्ने सन्देश दिए। ‘डर, दबाब र प्रतिशोधमुक्त वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउने ल्याकत राख्छ। त्यसैले एमाले चुनावबाट भाग्छ भन्ने कल्पना नगरे हुन्छ। एमाले चुनावबाटै परीक्षण भएको पार्टी हो तर यो सरकार कानुनी रूपमै वैध छैन, उसले चुनाव चाहेकै छैन । यो अवस्थामा चुनावै हुँदैन ।’ तर अहिले चुनावको कुरा मात्रै गरेर देशलाई अलमल्याइएको उनको आरोप थियो। ‘संवादको सट्टा निषेध, घृणा, मिडिया ट्रायल, हल्ला— यिनै चलिरहेका छन्। नेतामाथि मुद्दा, राहदानी र स्थान हद लगाएर कसरी चुनावको वातावरण बन्छ ?’

उनले सल्लाघारीको जनसागर  ‘देश जोगाउने अभियान’ भएको भन्दै नेता कार्यकर्ताको मन जित्ने प्रयास गरे । ओलीले सल्लाघारीको विशाल उपस्थितिलाई लोकतन्त्र र देश जोगाउने अभियानको संज्ञा दिए । ‘यो जनसागरलाई अण्डरमाइन्ड नगरियोस्। एमाले कमजोर बनाउने कल्पना नगरे हुन्छ। एमालेविरुद्ध षडयन्त्र गर्नेहरूलाई यो जवाफ हो, देशैभर एमालेको पक्षमा यस्तै माहौल छ ।’ उनले भने ।

कार्यक्रम स्थलको दृश्य र अव्यवस्था 

औपचारिक कार्यक्रम सुरु हुनुअघि नै सल्लाघारी क्षेत्र खचाखच भरिएको थियो। जुलुसहरू एक किलोमिटर टाढाबाट आइरहेका थिए। मोबाइल नेटवर्क अवरुद्ध हुँदा कार्यकर्ताले प्रत्यक्ष प्रसारण गर्न सकेनन् भने पत्रकारलाई समाचार संकलनमै समस्या देखियो। धुलो, अव्यवस्था र भीडका बीच पनि कार्यकर्ताको ऊर्जा भने उच्च देखिन्थ्यो। ओलीको सम्बोधन सकिँदासम्म पनि टाढा टाढाबाट नारा लगाउँदै सहभागीहरू आइरहेका थिए।

उपमहासचिवको सञ्चालन र महासचिवको स्वागत अलमलमा वरिष्ठ उपाध्यक्ष 

महाधिवेशनको सञ्चालन परम्पराअनुसार महासचिवले गर्ने चलन रहे पनि यस पटक उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चालन गरे। महासचिव शंकर पोखरेलले सम्बोधन गरे तर पार्टी वरियतामा दोस्रो स्थानमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल स्वागत वा सम्बोधनको प्राथमिकतामा परेनन्— जसले आन्तरिक राजनीतिक सन्देश दिएको देखियो।

ठूला दलका शीर्ष नेताको अनुपस्थिति- अर्थपूर्ण सङ्केत

राजधानी नजिकै भएको एमालेको ऐतिहासिक महाधिवेशनमा देशका ठूला दलका शीर्ष नेताहरू स्वयं उपस्थित भएनन्। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नआएर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल अनुपस्थित रहे। मधेस केन्द्रित दलका शीर्ष नेता पनि आएनन्। जेन–जी आन्दोलनबाट सबैभन्दा बढी क्षति भोगेको एमालेको यो महाधिवेशन शीर्ष नेताको प्राथमिकतामा किन परेन रु यो प्रश्न सहभागी कार्यकर्ताबीच अर्थपूर्ण बहसको विषय बन्यो।

कसले के भने ?

विप्लवको प्रतिरक्षा- नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमालेमाथि भएको हमला राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै परिणाम भएको बताए।

‘यो हमला साम्राज्यवादी योजनाअन्तर्गत भएको हो।’ उनले अहिलेको सरकारलाई अवैधानिक र कठपुतली को संज्ञा दिए र सर्वपक्षीय सरकारबाट चुनावको विकल्प नभएको बताए। नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले उनी एमाले पक्षमा लागेर आफ्नो एकतामा नआएको आरोप लगाइरहेका बेला विप्लवले खुलेर एमालेको प्रशंसा गरेका थिए ।

उनले एमालेविरुद्धको भयानक प्रहार सामान्य अवस्थाको नरहेको जनाएका थिए ।  निर्वाचनमा जान रास्वपाको आग्रहस् महामन्त्री कवीन्द्र बुर्लाकोटीले एमालेले चुनावमा भाग लिएर संविधानलाई लिकमा ल्याउन ढिलाइ नगर्न आग्रह गरे। जेन–जी आन्दोलनको क्षतिमा सबै दलले जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो।

फुटको अनुभव बुझेर अघि बढ्न कांग्रेसको सन्देशस् कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी फुट्दा र जुट्दाको पीडाबाट शिक्षा लिन आग्रह गर्दै सहमति वा मैत्रीपूर्ण प्रतिस्पर्धा मा नेतृत्व छान्न सुझाव दिए। भने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजा, दल र जेन–जीबीच नयाँ समझदारी को आवश्यकता औँल्याउँदै संविधान नै ‘मरिसकेको’ दाबी गरे। नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्ट एकताको विकल्प नभएको भन्दै उनले वामपन्थीहरूबीच सहकार्य अपरिहार्य भएको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *