
कोलकाता । विश्व फुटबलका महान् खेलाडी लियोनेल मेसीको बहुप्रतिक्षित ‘जीओएटी टुर २०२५’ भारतमा सुरु भएको छ । अर्जेन्टिनाका विश्वकप विजेता कप्तान मेसी आफ्ना इन्टर मियामीका साथी लुइस सुआरेज र रोड्रिगो डि पाउलसँगै कोलकातामा पुगेका छन् ।
यो तीन दिने भ्रमणको पहिलो चरण कोलकाताबाट सुरु भएको हो, जहाँ हजारौं प्रशंसकहरूले उनको स्वागत गरेका थिए । मेसी मध्यरातपछि कोलकाताको नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे। विमानस्थल र होटेलबाहिर हजारौं प्रशंसकहरू जम्मा भएर मेसीको नाममा नारा लगाएका थिए । यो मेसीको भारत भ्रमण १४ वर्षपछिको हो । सन् २०११ मा पनि उनले कोलकाताको साल्ट लेक स्टेडियममा अर्जेन्टिना र भेनेजुएलाबीचको मैत्रीपूर्ण खेल खेलेका थिए ।
भ्रमणको पहिलो दिन मेसीको व्यस्त तालिका थियो । बिहान स्पन्सर्ड कार्यक्रमपछि उनले लेक्न टाउनमा आफ्नो ७० फिट अग्लो प्रतिमा भर्चुअल रूपमा अनावरण गरे । यो प्रतिमा श्रीभूमि स्पोर्टिङ क्लबले बनाएको हो । अनावरण कार्यक्रममा बलिउड अभिनेता शाहरुख खान पनि उपस्थित थिए । त्यसपछि मेसी साल्ट लेक स्टेडियम पुगे, जहाँ पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, पूर्वक्रिकेटर सौरभ गांगुली र शाहरुख खानलगायतका सेलिब्रेटीहरूले उनको स्वागत गर्ने योजना थियो । स्टेडियममा फेलिसिटेसन कार्यक्रम, युवा खेलाडीहरूसँग अन्तरक्रिया र प्रदर्शनी खेल पनि राखिएको थियो । तर, कार्यक्रम उत्साहजनक सुरुवात भए पनि अराजकतामा परिणत भयो ।
मेसी स्टेडियममा पुग्दा हजारौं प्रशंसकहरूले उनलाई हेर्न खोजे । भीड अत्यधिक भएकाले मेसीलाई भिआइपी र सुरक्षाकर्मीहरूले घेरेका थिए, जसले गर्दा ग्यालरीमा बसेका दर्शकहरूले उनलाई राम्रोसँग देख्न पाएनन् ।
मेसीले छोटो समयमै स्टेडियमको ल्याप अफ अनर सुरु गरे पनि सुरक्षा कारणले कार्यक्रम छोट्याइयो र उनी १०–२० मिनेटमै बाहिरिए । यो देखेर प्रशंसकहरू आक्रोशित भए । धेरैले महँगो टिकट (४००० देखि १८००० भारूसम्म) किनेका थिए, तर मेसीलाई राम्रोसँग देख्न नपाएको गुनासो गरे । भीडले प्लास्टिकका बोतल र सामानहरू फाल्न थाले, कुर्सीहरू तोडफोड गरे, ब्यानर र पोस्टरहरू नष्ट गरे । स्टेडियममा तोडफोड र हुलदंगा मच्चियो।
केही प्रशंसकहरूले आयोजकको खराब व्यवस्थापनको आरोप लगाए । एक प्रशंसकले भने, ‘१२ हजारको टिकट किनेका थियौं, तर अनुहार पनि देख्न पाएनौं । नेताहरू र सेलिब्रेटीहरूले घेरेर राखे ।’
यो घटनापछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मेसी र प्रशंसकहरूसँग माफी मागिन् । उनले सामाजिक सञ्जालमा लेखिन्, ‘साल्ट लेक स्टेडियममा भएको खराब व्यवस्थापनले म स्तब्ध र दुखी छु । मेसी र सबै खेलप्रेमीहरूसँग माफी माग्छु ।झ
उनले आयोजकलाई दोष दिइन् र घटनाको छानबिनको माग गरिन् । राज्यका गभर्नर सीभी आनन्द बोसले पनि सरकारसँग विस्तृत रिपोर्ट मागेका छन् । मेसीको सुरक्षालाई ध्यानमा राखेर उनलाई छिट्टै स्टेडियमबाट बाहिर निकालियो र उनी हैदराबादतर्फ प्रस्थान गरे । यो घटनाले कोलकाताको फुटबलप्रेमी शहरको छविमा आघात पुगेको छ ।आयोजकहरूले प्रशंसकहरूको भावनासँग खेलवाड गरेको आरोप लागेको छ ।
मेसीको भारत भ्रमण हैदराबाद, मुम्बई र दिल्लीमा जारी रहनेछ । यो टुरले भारतीय फुटबलप्रेमीहरूलाई नजिकबाट मेसीलाई हेर्ने अवसर दिएको थियो, तर कोलकाताको घटनाले सबैलाई निराश बनाएको छ । फुटबलको जादुगर मेसीको यो भ्रमण स्मरणीय बन्नुपर्नेमा विवादास्पद बनेको छ ।

Leave a Reply