काठमाडौं आएका महाधिवेशन प्रतिनिधिलाई सुहाङको आग्रह- चिसो छ,आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला !

काठमाडौ । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङ ११ औँ महाधिवेशनका लागि काठमाडौं आएका प्रतिनिधिलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन्।

उनले प्रतिनिधिहरूलाई अग्रजको सङ्घर्षबाट प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै मुलुकलाई नयाँ बाटो र उज्यालो तर्फ लैजानु पर्ने बताएका छन्।

उनको भनाई जस्ताको तस्तै :

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन देशका विभिन्न स्थान र प्रवासबाट काठमाडौँ आउनुभएका आदरणीय प्रतिनिधिहरूलाई काठमाडौँमा हार्दिक स्वागत गर्दछु । काठमाडौंमा चिसो छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला है !

राष्ट्रिय महाधिवेशनमा आउनु भएका आदरणीय प्रतिनिधि कमरेडहरू आ–आफ्नो क्षेत्रको अगुवा नेतृत्व हुनुहुन्छ । सबै परिस्थिति र अवस्था बारेमा यहाँहरू जानकार हुनुहुन्छ । म एउटा नवपुस्ताको प्रतिनिधिको रूपमा यति भन्न सक्छु, ‘हाम्रा अग्रजहरू र यहाँहरूको असाधारण सङ्घर्षबाट प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै मुलुकलाई नयाँ बाटो र उज्यालो तर्फ लैजानु पर्नेछ ।’ यसको लागि एउटै शर्त हो, ‘हामीबिचको असाधारण एकता, अभूतपूर्व सहकार्य र सहमति ।’ हाम्रो नयाँ एकता, सहकार्य र सहमतिको बलमा नै हाम्रा तमाम चुनौतीहरूका सामना गर्न सक्नेछौँ ।

हाम्रा अग्रजहरूले हाम्रो देशको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई जसरी अक्षुण्ण राख्नु भएको छ । इतिहासमा मुलुक र जनताप्रति जुन उचाइको उत्तरदायी, जबाफदेही र जिम्मेवार भूमिका निर्वाह गर्नुभएको छ । त्यो नै हाम्रो गरिमा र गौरव हो । कम्युनिस्ट आन्दोलनलाई जुन अवस्था र उचाइमा ल्याउनु भएको छ । यहाँहरू सबैप्रति गहिरो सम्मान प्रकट गर्दछु ।

त्यही गौरवमय आन्दोलनलाई नवपुस्तासँग जोड्नु आजको प्रमुख चुनौती र कार्यभार हो भन्ने लागेको छ । बेग्लै भाका र भाषा, बेग्लै सपना र सङ्कल्पहरू बोकेर आइरहेका नवपुस्तासँग गहिरो संवाद गरेर हाम्रो गौरवमयी आन्दोलन र अभियानमा जोड्नु आजको सबैभन्दा ठुलो काम हो ।त्यसमा मेरो तर्फबाट पनि केही योगदान गर्न सक्छु भन्ने लागेर ११ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निधो गरेँ । तपाईँहरूको माया, साथ र सहयोगको लागि हार्दिक अनुरोध छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *