
काठमाडौं । भारतकाे कोलकातास्थित साल्ट लेक स्टेडियममा शनिबार बिहान तनावपूर्ण अवस्था सिर्जना भएको छ। फुटबल स्टार लियोनेल मेस्सीलाई प्रत्यक्ष देख्ने आशामा ठूलो संख्यामा भेला भएका समर्थकहरू आक्रोशित बनेपछि स्टेडियम परिसरमा तोडफोड तथा बोतल प्रहार गरिएको छ।
‘गाेट इन्डिया टुर’ को पहिलो चरणका क्रममा विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबलर मेस्सीलाई नजिकबाट देख्न नपाएपछि दर्शकदीर्घाको एक समूहले बोतल र कुर्सी प्रहार गर्दै स्टेडियमको सम्पत्तिमा तोडफोड गरेका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार मेस्सी स्टेडियममा करिब १० मिनेट मात्र उपस्थित भएका थिए। छोटो समयमै उनी फर्किएपछि धेरै समर्थकले उनलाई राम्रोसँग देख्न नपाएको गुनासो गरेका छन्। यही कारण आक्रोशित समर्थकहरूले नाराबाजी गर्दै बोतल प्रहार गर्नुका साथै केही संरचनामा क्षति पुर्याएकाे भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले बताएकाे छ ।
भिडियोहरूमा समर्थकहरूले बोतल फ्याँकिरहेको, होहल्ला गरिरहेको र सुरक्षाकर्मीहरू हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएको देख्न सकिन्छ। थप अप्रिय अवस्था हुन नदिन सुरक्षाकर्मीहरू ठूलो संख्यामा परिचालन गरिएको थियो।
हिन्दुस्तान टाइम्सका अनुसार मेस्सी शनिबार बिहान २:२६ बजे कोलकाता आइपुगेका थिए। त्यसपछि उनले सहरमा स्थापना गरिएको ७० फिट अग्लो आफ्नो सालिकको भर्चुअल अनावरण गरे।
बिहान करिब ११:३० बजे मेस्सी साल्ट लेक स्टेडियम प्रवेश गरेपछि राजनीतिक नेता, पूर्व फुटबल खेलाडी, प्रशिक्षक तथा आयोजक समितिका सदस्यहरूले उनलाई घेरिहालेका कारण दर्शकदीर्घामा भरिएका समर्थकहरूले आफ्ना प्रिय खेलाडीलाई स्पष्ट रूपमा देख्न पाएनन्।
स्टेडियमभित्रको छोटो उपस्थितिका क्रममा मेस्सी मुस्कुराउँदै दर्शकतर्फ हात हल्लाउँदै अभिवादन गरेका थिए। त्यसपछि उनले मोहन बागान ‘मेस्सी’ अल स्टार्स र डायमण्ड हार्बर ‘मेस्सी’ अल स्टार्सबीच भएको प्रदर्शनी खेलमा सहभागी पूर्व भारतीय फुटबल खेलाडीहरूसँग छोटो भेटघाट गरे।
अधिकारीहरूले मेस्सीको ‘ल्याप अफ अनर’ का क्रममा बाटो खाली गराउने पटक–पटक प्रयास गरे पनि भीड व्यवस्थापन भएन, जसका कारण स्टेडियमका सबै भागका दर्शकले उनलाई राम्ररी देख्न पाएनन्।
समर्थकहरूले कार्यक्रम आयोजकको कमजोर व्यवस्थापन र स्पष्ट जानकारी नदिइएकोप्रति असन्तुष्टि जनाएका छन्।
घटनाबारे सम्बन्धित निकायले हालसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन। मानवीय क्षति नभए पनि स्टेडियमको केही सम्पत्तिमा क्षति पुगेको बताइएको छ।

Leave a Reply