जब ओलीले भने- महाधिवेशन हलमा पुगेपछि ईश्वर कमरेड चलाउनुस् भनेर हिँड्न पनि सक्छु

काठमाडौं । राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा हिजो (शुक्रबार) १०औँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय सचिवालयको अन्तिम बैठक बस्यो । पुरानो विधान ब्यूँताउन गृहकार्य भइरहेको चर्चाबीच हिजोको बैठकमा निकै रस्साकस्सी चल्ने अनुमान थियो ।

खासगरी पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने संस्थापनको तयारी र अघिदेखि नै त्यो हुन नदिने अडानमा सुनिएका ईश्वर पोखरेल समूहको डिफेन्सले बैठक तात्ने अनुमान थियो । तर, यो अनुमान विपरीत बैठक ‘कुल’ बनेको नेताहरूले बताएका छन् ।

एक पदाधिकारी अध्यक्ष केपी ओली सुरूदेखि नै ‘फ्लेक्जिबल’ साथ कमरेड्ली ढंगले प्रस्तुत भएको बताउँछन् ।

‘उहाँले कुनै पक्ष-विपक्षको मेसेज नजाओस् । हामीले आफ्नै नेतृत्व छान्ने हो । पार्टीलाई एकताका साथ उभ्याउनुपर्ने भन्नेमा जोड दिनुभयो’, ती पदाधिकरीले सुनाए

हिजोको बैठक अत्यन्तै सौहार्दपूर्णसाथ महाधिवेशनलाई मर्यादित ढंगले सम्पन्न गर्ने प्रतिबद्धतासाथ टुंगिएको सचिव योगेश भट्टराईले पनि सार्वजनिकरूमै बताएका छन् ।

सचिव योगेश भट्टराई, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले ३ महिना नपुग्दै विधान फेर्दा राम्रो सन्देश नजाने बताएका थिए ।

हाम्रो विधान महाधिवेशनलाई ‘पिकनिक’ भनेर लेख्न थालिसके भन्दै यसले गोदावरी भेलाको औचित्य नै पुष्टि नहुनेमा उनीहरूको जोड थियो ।

आफ्नो पालो आएपछि ओलीले ३ महिनामै विधान परिवर्तन गर्दा सन्देश त राम्रो नजाने । तर, पनि आकांक्षी साथीहरूलाई समेट्नु पर्ने हो कि भनेर संशोधन गरौँ भनेको हो भन्दै कन्भिन्स गर्न खोजे । खासमा मलाई पनि संशोधन गरौं जस्तो लागेको छैन। संशोधन प्रस्ताव नलैजाउँ ।

ईश्वर पोखरेल, पृथ्बी सुब्बा गुरुङ, गोकर्ण विष्टलगायत केही पदाधिकारीले केन्द्रीय कमिटीको आकार बढाउँदा नै ठिक हुने राय राखेको अर्का एक पदाधिकारी बताउँछन् ।

ती नेताले भने, ‘अध्यक्षले यहाँ फेरि ओली पक्ष र ईश्वर पक्ष भन्ने नहोस् है ! भन्नुभयो त्यसपछि विधान संशोधन नगर्ने निर्णय भयो ।’

नेतृत्वबारे पनि केहीबेर रोमाञ्चक छलफल भएको ती नेताले सुनाए । ओलीले बन्द सत्रको हला पुगिसकेपछि आफूहरूको मन पग्लिन पनि मन लाग्न सक्ने बताएका थिए ।

ओलीको भनाइ थियो- मैले त अहिलेसम्म अध्यक्ष उठ्छु भनेर घोषणा नै गरेको छैन । हलमा पुगेपछि मन पग्लिएर घर जान मन पनि लाग्न सक्छ । ईश्वर कमरेड चलाउनुस् भनेर हिँड्न पनि सक्छु। फेरि ईश्वर कमरेडले म झन्झट बेहोर्न सक्दिनँ, तपाईं नै चलाउनुस् भन्न पनि सक्नुहुन्छ ।

बैठकमा ओलीले यत्रो दुःख गरेर बनाएको पार्टी बिग्रोस् भन्ने कसैले नसोचेको भन्दै ‘एक-अर्कोलाई छोड्ने गरी सहमति हुन नसके पनि ‘चुनाव गरौँला, भोट गनौँला । जो हुन्छ उसले नेतृत्व गरौँला । सबै कुरा हाँसीखुसी गरौंला न !’ भने ।

बैठकको धेरैजसो समय हाँसोको माहोल बनेको ती नेता सुनाउँछन् ।

त्यसपछि खाजा आउँदा फेरि ओली ईश्वर कमरेड ! लौ जेरी खाने प्रतिस्पर्धा गरौँ । भन्दै फेरि ठट्यौली पारामा प्रस्तुत भएका थिए ।

बैठकमा ओलीको प्रस्तावमा खरो प्रतिवादको तयारीमा रहेका सुरेन्द्र, युवराज र अष्टलक्ष्मीलगायत आफ्ना कुरामा ओलीले सहजै समर्थन जनाएपछि आश्चर्यमा परेको स्रोत बताउँछ ।

त्यही बीचमा बाथरूम जान निस्केका विष्णु रिमाललाई गोकर्ण विष्टले सोधे – होइन, आज बुढालाई के भएको छ ? कस्तो नौनीजस्तै पो देखा पर्नु भो !

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *