सदाबहार सुदूरपश्चिम र ‘रेड हट’ लुम्बिनीबीच उपाधि भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । उक्त खेल टीयु क्रिकेट मैदानमा शनिवार दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

लुम्बिनीले उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा पुग्दा सुदूरपश्चिम सुरुबाट शानदार प्रदर्शन गर्दै फाइनलमा आफूलाई उभाएको हो । फाइनलसम्म पुग्दा सुदूरपश्चिमले एक मात्र हार बेहोरेको छ । लुम्बिनीले लगातार ३ हारेपछि उत्कृष्ट पुनरागमन गर्दै ५ खेलमा अपराजित छ ।

लुम्बिनीलाई स्पिनरको भर, ओपनिङको डर

लुम्बिनीले उत्कृष्ट पुनरागमन गर्दै फाइनलको यात्रा तय गर्नुको पछि महत्त्वपूर्ण हात छ स्पिन डिपार्टको । हारनजिक पुगेका खेलहरू पनि स्पिनरकै करामतका कारण लुम्बिनीको जित सम्भव भएको छ । त्यसका पनि लुम्बिनीले फाइनलमा पनि स्पिनरको भर पर्नेछ ।

मुख्य स्पिनरको रूपमा शेर मल्ल छन् । मल्लले सुरुआतमै लुम्बिनीले अधिकांश खेलमा सफलता दिलाएका छन् । विपक्षीलाई दबाबमा राख्न लुम्बिनीले शेरलाई सुरुआतमै पठाउने गरेको छ । जसमा शेर सफल पनि भएका छन् । शेर र पेस बलर रुवेन ट्रम्पलम्यानको उत्कृष्ट कम्बिनेशनले विपक्षी ब्याटर धरापमा परिरहेका छन् ।

फाइनलमा सुदूरपश्चिमविरुद्ध पनि लुम्बिनी स्पिन डिपार्टबाट ठूलो अपेक्षासहित मैदानमा उत्रिनेछ । स्पिन बलिङमा शेरसँगै अभिषेश गौतम र तिलक भण्डारी रहनेछन् । सुरुआति खेलमा अवसर नपाएका तिलकले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध उत्कृष्ट बलिङ गरेका थिए । उनी फाइनलमा पनि उक्त लय कायम राख्न चाहन्छन् । युवा स्पिनर अभिषेश पनि लयमा छन् । ३ स्पिनरले विपक्षी टोलीलाई खुलेर खेल्न दिएका छैनन् । कप्तान रोहित पौडेलले पनि पार्टटाइम स्पिनरको भूमिका निभाइरहेका छन् ।

लुम्बिनीको पेस बलिङको डिपार्ट नामिबियन क्रिकेट जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले सम्हालिरहेका छन् । ट्रम्पलम्यानले लुम्बिनीलाई उत्कृष्ट सुरुआत दिलाइरहेका छन् भने स्मिथको प्रदर्शन ठिकठाक छ ।

बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएको लुम्बिनीको ब्याटिङ भने सोचेअनुसार हुन सकेको छैन । ब्याटिङमा कुनै पनि खेलमा लुम्बिनीको सुरुआत राम्रो हुन सकेको छैन । उक्त डर फाइनलमा पनि रहनेछ । एकतर्फ अष्ट्रेलियन क्रिकेट डार्सी सर्ट लयमा फर्किँदा साथलाई ओपनिङ जोडीले साथ दिन सकेका छैनन् ।

लुम्बिनीले सुरुआतको केही खेलमा सन्दीप जोरालाई ओपनिङमा पठायो । त्यसपछिका केही खेलमा सुमित महर्जनलाई ओपनिङमा पठायो । उनीबाट पनि खास राम्रो सुरुआत हुन सकेन । प्लेअफका खेलमा दिनेश अधिकारीलाई लुम्बिनीले प्लेअफमा ओपनिङको रूपमा पठाएको थियो । तर, उनीबाट पनि राम्रो प्रदर्शन हुन नसक्दा लुम्बिनी फाइनलमा कसलाई ओपनिङ गराउने समस्यामा छ ।

पहिलो विकेट गएपछि भने लुम्बिनीको इनिन्सलाई डार्सी र कप्तान रोहितले सम्हालिरहेका छन् । फाइनलमा पनि लुम्बिनीले उनीहरूको ठूलो साझेदारीको अपेक्षा गर्नेछ । उनीहरूसँगै निरोशन डिक्वेला, सन्दीप जोरा र दिलीप नाथ रहनेछन् । लुम्बिनीले उनीहरूबाट संयमित ब्याटिङको अपेक्षा गर्नेछ । जेजे, रुवेन र शेर मल्ल लोअर्डरमा रहनेछन् । पहिलो सिजनमा अंक तालिकाको पुछारमा रहेको लुम्बिनीलाई शनिवार फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै यो सिजनको उपाधि जित्ने अवसर छ ।

बलियो ब्याटिङ लाइनअप, स्पिन बलिङमा धराशायी हुने डर

लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको टोली हो, सुदूरपश्चिम रोयल्स । लगातार ६ खेलमा जित निकालेको सुदूरपश्चिम लिग चरणको अन्तिम खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो ।

प्लेअफमा सोही विराटनगरलाई नै हराउँदै सुदूरपश्चिमले फाइनल यात्रा तय गरेको हो । लगातार जित निकालेको सुदूरपश्चिमको बलिङ र दुवै बलियो देखिएको छ ।

सुदूरपश्चिमको ओपनिङ गरिरहेका विनोद भण्डारी र क्रिस लिनको जोडी एनपीएलकै सफल जोडी हुन् । उनीहरूले सुदूरपश्चिमलाई अधिकांश खेलमा राम्रो सुरुआत दिलाएका छन् । घाइते भएर क्रिस स्वदेश फर्किसकेका छन् । सम्भवतः फाइनलमा उत्कृष्ट फर्ममा रहेका विनोद र मुख्तार अहमदले सुदूरपश्चिमको ओपनिङ गर्नेछन् । विनोद यो सिजनमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो र नेपाली खेलाडीको सूचीमा पहिलो नम्बरमा छन् । उनीबाट सुदूरपश्चिमले फाइनलमा पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्नेछ ।

क्रिस स्वदेश फिर्ता भएपछि सुदूरपश्चिमले ओपनिङको रूपमा मुख्तारलाई भित्राएको थियो । पहिलो खेलमा जम्न नसकेका उनलाई सुदूरपश्चिमले फाइनलमा सम्भवतः ओपनिङ जोडिकै रूपमा पठाउनेछ । जोश ब्राउनको ठाउँमा आएका शेल्डन ज्याकसन टपअर्डरमा रहनेछन् । इसान पाण्डे, कप्तान दीपेन्द्रसिंह ऐरी र हर्मित सिंहले सुदूरपश्चिमको मिडलअर्डर धान्नेछन् । उनीहरूसँगै आरिफ शेख र स्कट कुगेइलेन पनि ब्याटिङमा रहनेछन् । इसान, दीपेन्द्र र हर्मितले सुदूरपश्चिमको स्कोरलाई ठूलो बनाउन भूमिका खेलिरहेका छन् ।

बलिङमा यो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका अविनाश बोहरा र पहिलो सिजनमा जनकपुर बोल्ट्सलाई उपाधि जिताएका हेमन्त धामी सुदूरपश्चिमका मुख्य हतियार हुन् । अभिनाश यो सिजनमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । सुदूरपश्चिम बलिङमा स्पिनभन्दा पेस बलिङमा बढी डिपेन्ट हुनेछ । पेस बलिङमा अविनाश र हेमन्तसँगै स्कट कुगेलेइन रहनेछन् । स्कटले पनि यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

स्पिनमा पनि हर्मित, दीपेन्द्र जस्ता खेलाडी लयमा छन् । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा छैटौँ स्थानमा छन् । कप्तान दीपेन्द्र पनि टोलीलाई चाहिएको बेला विकेट लिन माहिर छन् । पहिलो सिजनमा लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिम फाइनलमा चुक्दा उपाधि चुम्न सकेको थिएन । यसपटक फाइनलमा लुम्बिनीलाई हराउँदै एनपीएलको उपाधि जितेर पहिलो सिजनको अधुरो सपना पूरा गर्ने अवसर सुदूरपश्चिमलाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *