एमालेमा पुरानै विधान व्यूँताउने तयारी, दिउँसो सचिवालय बैठक

काठमाडौं । एमालेभित्र पदाधिकारीमा रस्साकस्सी पेचिलो बनेपछि विधान संशोधनको तयारी गरिएको छ । सोही एजेन्डासहितलाई लिएर आज च्यासलमा १ बजे केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।

आजको बैठकमा पदाधिकारीसहित र २५१ सदस्यीय केन्द्रीय कमिटीबाट संख्या बढाउने र मनोनीत प्रतिनिधि टुंग्याउने एजेण्डासहित महत्वपूर्ण छलफल हुने एमाले नेता महेश बस्नेतले बताएका छन् ।

गत भदौ अन्तिम सातामात्रै विधान महाधिवेशनबाट संशोधन गरिएको विधानलाई पुन: ब्यूँताउँदै आकांक्षीहरूको व्यवस्थापन गर्न लागिएको बताइएको छ । ओलीले ईश्वर पोखरेललाई पुन: वरिष्ठमा राखेर उनको समूहका नेतालाई समेत समेट्ने गरी पुरानै लयमा विधान फर्काउने तयारी गरिएको स्रोत बताउँछ । आकांक्षीहरूमा ओली पक्षकै नेता पनि बढी भएपछि उनीहरू भड्किन नपाउन् भनेर संशोधन गर्न लागिएको इतर पक्षको बुझाइ छ ।

नेताहरूका अनुसार व्यक्तिहरूको व्यवस्थापनलाई दृष्टिगत गर्दै विधान संशोधनको तयारी भएको हो । अध्यक्ष ओलीले नै केही दिनअघि एक अन्तर्वार्तामा पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या थपिन सक्ने संकेत गरेका थिए ।

पदाधिकारी थप्ने, स्थायी कमिटी ब्युँताउने, केन्द्रीय कमिटीको आकार बढाउनेसहित चयन प्रक्रियाका निम्ति विभिन्न क्लष्टर थप्नेसम्मको तयारी गरिएको छ ।

गत भदौ २०-२२ मा सम्पन्न विधान महाधिवेशनले एमालेको आगामी केन्द्रीय कमिटीमा १५ सदस्यीय पदाधिकारीसहित २५१ सदस्यीय कमिटीको व्यवस्था गरेको थियो । त्यसभित्र महिला, दलित, आदिवासी, जनजाती, मजदुरसहितको क्लष्टर थिए । स्थायी कमिटी खारेज गरी केन्द्रीय कमिटीभन्दा सानो आकारको पोलिटब्युरोको व्यवस्था गरिएको थियो ।

अहिले ओलीनिकटका नेता र उनको सचिवालयमा पदाधिकारी १९, स्थायी कमिटी ब्यूँताउने, केन्द्रीय सदस्य थपेर ३५१ सम्म पुर्‍याउने र केन्द्रीय कमिटीमा प्रवेश गर्नका निम्ति दुई क्लष्टर थप्ने तयारीमा छन् ।

तर, ईश्वर पोखरेल समूहले भने विधान संशोधनलाई अस्वीकार गर्ने बताइसकेको छ । संशोधन गर्नैपर्ने भए २ कार्यकाल र ७० वर्षे व्यवस्था कायम राख्नुपर्ने उनीहरूकव माग छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *