एनपीएलमा लुम्बिनीको उडान

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लगातार तेस्रो हार बेहोरेपछि लुम्बिनी लायन्सका ओनर ईश्वर जिसीले सामाजिक सञ्जालमा लेखे – ‘इज इट नट इनफ् नाउ …’ टोलीले लगातार तेस्रो हार बेहोरेपछि असन्तुष्ट हुँदै उनले उक्त निराशा सामाजिक सञ्जालमा पोखेका हुन् । लुम्बिनीका समर्थकले पनि सामाजिक सञ्जालमा टोलीको प्रदर्शनमा प्रश्न चिन्ह खडा गरे ।

नगरुन् पनि किन ? पहिलो सिजनमा अंक तालिकाको पुछारमा रहेको लुम्बिनी दोस्रो सिजनमा पनि लिग चरणबाट बाहिरिने संघारमा पुगेको थियो । त्यहाँबाट एक हार मात्रै भएको भए पनि लुम्बिनी लिग चरणबाट बाहिरिनुपर्थ्यो । तर, लुम्बिनीले त्यसपछिका खेलमा शानदार पुनरागमन गर्दै फाइनलमा पाइला टेक्न सफल भएको छ । लुम्बिनीले बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । अब लुम्बिनीले उपाधिका लागि शनिवार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

दोस्रो सिजनको पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनीले त्यसपछिका लगातार ३ खेलमा पराजित हुन पुग्यो । कर्णाली याक्ससँग ९ विकेट, काठमाण्डु गोर्खाजसँग २२ रन र सुदूरपश्चिम रोयल्स ७ विकेटको हार बेहोर्‍यो । त्यसपछिका लिग चरणका खेलमा एक हार मात्रै बेहोरेको भए मात्रै पनि लुम्बिनी प्लेअफबाट बाहिरिन्थ्यो । तर, त्यसपछिका सबै तिन खेलमा जित निकाल्दै लुम्बिनीले प्लेअफमा स्थान बनायो । लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेट, विराटनगर किंग्सलाई ५ विकेट र जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्‍यो । प्लेअफमा पनि लुम्बिनीले लय कायम राख्यो । इलिमिनेटरमा काठमाण्डुलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गर्‍यो । यस्तै दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको छ ।

स्पिनबाट पाएको साथ

लुम्बिनीको पुनरागमनका जितको आधार नै स्पिन बलिङ हो । दोस्रो क्वालिफायरमा विराटनगरविरुद्धको १८ ओभरमा कप्तान रोहित पौडेलले १२ ओभर स्पिन बलरमा सुम्पिए । जसमा स्पिनरले प्रमाणित पनि गरिदिए । स्पिनर तिलक भण्डारीले ३, अभिषेश गौतमले २ र शेर मल्लले एक विकेट लिए । पेस बलर रुवेन ट्रम्पलम्यान र जेजे स्मिथले दुई-दुई विकेट लिए । योमात्रै होइन, लुम्बिनीले पुनरागमन गरेको खेलमा स्पिनर हाबी भएका छन् ।

प्लेअफमा काठमाण्डुविरुद्ध स्पिनर कप्तान रोहित र शेर मल्लले पकड कायम राखे । उनीहरूले समान ३–३ विकेट लिए । अर्को स्पिनर अभिषेश गौतमले एक विकेट लिँदा पेस बलर रुवेनले २ विकेट झारे । लिग चरणको अन्तिम खेलमा जनकपुरविरुद्ध लुम्बिनीले ल्याएको ६ मध्ये ४ विकेट स्पिनरको नाममा थियो । लिग चरणमा विराटनगरविरुद्ध ६ मध्ये ४ र पोखराविरुद्ध ५ मध्ये ४ विकेट स्पिनरले लिएका थिए ।

फर्ममा डार्सी सर्ट, लय लिन सकेनन् सन्दीप जोरा

सुरुआती खेलमा लय गुमाएका अष्ट्रेलियन ओपनर डार्सी सर्ट पछिल्लो खेलहरूमा लयमा छन् । लुम्बिनीलाई फाइनलमा पुर्‍याउन डार्सीले विराटनगरविरुद्ध सर्वाधिक ४५ रन बनाए । उनले प्लेअफकै इलिमिनेटरमा काठमाण्डुविरुद्ध सर्वाधिक ३३ रन बनाए । डार्सीले लिग चरणमा जनकपुरविरुद्ध ३० र विराटनगरविरुद्ध ५७ रनको इनिन्स खेले ।

सर्ट र कप्तान रोहितले लुम्बिनीको स्कोरलाई माथि उठाएका छन् । तर, ओपनिङको समस्या भने समाधान हुन सकेको छैन । सर्टले ओपनिङ जोडी नपाउँदा लुम्बिनीले सुरुआतमै पहिलो विकेट गुमाउँदै आएको छ । तर, सर्ट र कप्तान रोहितले इनिन्सलाई उकास्दा लुम्बिनीले लय गुमाउनुपरेको छैन । जसलाई निरोशन डिक्वेलाले पनि साथ दिइराखेका छन् ।

तर, आस गरिएका ब्याटर सन्दीप जोराले भने खासै प्रदर्शन गर्न सकेका छैनन् । उनको ब्याटबाट कुनै खेलमा विनिङ इनिङ खेल्न सकेका छैनन् । सन्दीपले ९ खेलबाट मात्र ११५ रन मात्र बनाएका छन् । दोस्रो क्वालिफायरमा उनी कुनै पनि रन नजोडी आउट भए । यस्तै जेजे स्मिथ र रुवेनले औसत प्रदर्शन गर्दा दिलीप नाथ चल्न सकेका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *