
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अहिले योजनाबद्ध प्रहार भइरहेको आरोप लगाएका छन्।
उनले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको संवेदनशील परिस्थितिमा एमाले ११ औँ महाधिवेशनतर्फ अघि बढिरहेको बेला ओलीको नेतृत्व रोक्न विभिन्न प्रयास भएका बताए ।
बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राईले ओलीमाथि पार्टीभित्र र बाहिरबाट भइरहेको प्रहारलाई महाधिवेशनले पराजित गर्ने दाबी गरे।
‘एकातिर महाधिवेशनको तयारी छ, अर्कोतिर ओलीको विकल्प भन्ने कुरा निरन्तर उठाइँदै छ। गाली, हल्ला र योजनाबद्ध प्रहार भइरहेको छ,’ उनले भने।
राईले अध्यक्ष केपी शर्मा ओली जेल जान्छन् भन्ने हल्ला समेत फैलाइएको बताएका छन्। ‘मिडिया ट्रायल भइरहेको छ। ओलीलाई थुनिँदैछ भन्ने गलत सूचना छरिएको छ। पार्टीभित्रका केही बलिया नेताले चुनौती दिएको कुरा पनि सुनिन्छ,’ उनले बताए।
राईले भदौ २३ र २४ को घटनाका पछाडि धेरै कारण भएको बताउँदै राज्य संयन्त्रलाई सुधार गर्न राजनीतिक नेतृत्वले पर्याप्त ध्यान दिन नसकेको स्वीकार गरे।
उनले सुशासनका धेरै प्रतिबद्धता कार्यान्वयन हुन नसकेको र कर्मचारी तन्त्रमा कमिसन संस्कृति कायम रहनु ठूलो समस्या रहेको बताए।
राईले अघिल्लो राजनीतिक परिवर्तन सबै दल मिलेर सम्भव भएको उल्लेख गर्दै अब त्यसलाई जोगाउन राज्यका अंगहरू प्रभावकारी बनाउन आवश्यक रहेको बताए।
‘एमालेको सचिव पदमा मेरो दाबी स्वाभाविक’
राईले आगामी ११ औँ महाधिवेशनमा आफू उपमहासचिव नभए सचिव पदमा उठ्ने तयारीमा रहेको स्पष्ट पारे । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिँदै आएका राईले यसपटक पार्टीमा आफूलाई पदाधिकारीका रूपमा हेर्ने माहोल बनेको बताए।
उनले पार्टी पदाधिकारमा क्रमैसँग अघि बढ्दै आएको अनुभवका आधारमा सचिव पद स्वाभाविक दाबी भएको उल्लेख गरे। उनका अनुसार १० औँ महाधिवेशनमा पनि पदाधिकारीमा जान खोजे पनि अन्ततः सहमतिको कारण स्थायी कमिटीमै बस्नु परेको थियो।
राईले आफू पार्टीका हरेक चुनौती र संकटमा अडिग रूपमा उभिएको नेता भएको दाबी गर्दै भने, ‘म पार्टीबाट नबरालिएको मान्छे हो। आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु।’
उनले गाउँबाट सुरु गरेको राजनीतिक यात्राले आफूलाई स्थायी कमिटीसम्म पुर्याएको उल्लेख गर्दै प्रमुख दलमा नेतृत्व निर्माण चुनौतीपूर्ण हुने बताए। पार्टीका धेरै नेताले आफूलाई पदाधिकारी दाबी गर्न स्वाभाविक रूपमा हेरेको उनले बताए।
११ औँ महाधिवेशनमा २, २६२ प्रतिनिधि सहभागी हुनेछन्। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राईले कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले पनि आफूलाई उपमहासचिव र सचिव दुवै पदका लागि योग्य ठानेको बताए ।
‘यदि सहमतिले अघि बढ्यो भने सचिव पदमै मेरो उम्मेदवारी रहनेछ,’ उनले स्पष्ट पार्दै भने, ‘स्थायी कमिटीबाट सचिव पदमा जानु स्वाभाविक प्रक्रिया पनि हुन्छ।’
राईले अध्यक्ष केपी शर्मा ओलीदेखि अन्य नेताहरूसम्मले आफ्नो दाबीलाई स्वाभाविक रूपमा स्वीकार गरेको पनि बताएका छन् ।

Leave a Reply