
काठमाडौं । आसन्न राष्ट्रियसभा निर्वाचनमा पनि प्रमुख दलहरुबीच गठबन्धनको सम्भावना बढेको छ । दलहरू आन्तरिक काममै व्यस्त झैँ देखिए पनि भित्रभित्रै राष्ट्रियसभा निर्वाचनका सम्भावित तालमेलबारे संवाद गरिरहेका छन् । पार्टीभित्र चुनावी गठबन्धनको विरुद्धमा पर्याप्त मत भए पनि नेपाली कांग्रेसपनि राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको तयारीमा छ ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनबाट १८ जना नयाँ सदस्यहरू चुनिँदै छन् । रिक्त हुने १९ पदमध्ये १ सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नुपर्नेछ । दुई वर्षअघि कांग्रेसले नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी लगायतसँग गठबन्धन गरेको थियो । गठबन्धनबाट एमालेले कोशीमा एक सिट फुत्काएको थियो ।
राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरे पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाइ नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउन एमालेसँग गठबन्धन गरेपछि कांग्रेस माओवादी सहकार्य टुटेको थियो । यसपटक माओवादी र एकीकृत समाजवादी पार्टी मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । सो पार्टीले पनि राष्ट्रियसभामा सकभर कांग्रेससँगै गठबन्धन गर्न चाहेको छ । अर्कोतिर महाधिवेशनको व्यस्तताबीच नेकपा एमालेपनि कांग्रेससँगै मिलेर राष्ट्रियसभा निर्वाचन लड्ने तयारीमा छ ।
देउवा ओली भेटमा चर्चा
जेनजी आन्दोलनपश्चात् पहिलो पटक गत मंसिर १९ गते एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेट भएको थियो । सो भेटमा व्यक्तिगतभन्दा बढी राजनीतिक नै संवाद भएको थियो । भेटलगत्तै कांग्रेसका केही सांसदले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । सोही भेटमा राष्ट्रियसभा निर्वाचनमा मिलेर जानेबारे सकारात्मक कुरा भएको बताइन्छ ।
‘कांग्रेस एमालेबीच गठबन्धन यसै पनि टुटेको छैन । राष्ट्रियसभा निर्वाचनमा मिलेर जाँदा नै दुवै पक्षको हित हुने भएकाले उहाँहरुबीचको भेटमा सम्भावित सहकार्यबारे छलफल भएको छ’, देउवानिकट नेताको भनाई छ ।
ती नेताका अनुसार एमालेले महाधिवेशनको उद्घाटनमा देउवालाई निम्तो दिएर पनि भावी सहकार्यलाई सहज पारेको छ । कांग्रेस र एमालेबीच गठबन्धन हुँदा निर्वाचन हुने सबै पदमा सोही गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना छ ।
एमाले अध्यक्ष ओलीले बिहीबार मात्रै देउवासँग आफूले भेट्नु अर्थपूर्ण रहेको र त्यसको परिणाम तत्कालै देखिने बताएका छन् । जसले कांग्रेस एमाले सम्बन्धमा कुनै समस्या नभएको बुझ्न सकिन्छ ।
नेकपाको पनि अफर कांग्रेसलाई
नेपाली कम्युनिष्ट पार्टीले पनि कांग्रेसलाई राष्ट्रियसभा निर्वाचनमा तालमेलको अफर दिएको छ । एमालेसँगको गठबन्धनले कांग्रेसलाई राजनीतिक धक्का पुगेको भन्दै नेकपा नेताहरूले कांग्रेसको दोस्रो तहका नेतामार्फत देउवालाई सन्देश पठाएका छन् ।
‘कांग्रेस एमाले मिल्दा जेनजी विद्रोह भयो । अब कोर्स करेक्सन गरौँ । हिजो पनि गठबन्धन भएकै हो, अबको चुनावमा पनि कांग्रेससँग मिल्न तयार छौँ भनेर कुरा आएको छ’, कांग्रेस नेताको दाबी छ ।
नेकपाको शीर्ष वरियताका एक नेता कांग्रेसलाई सम्मानजनक तालमेलका लागि प्रस्ताव गरिएको बताउँछन् । ‘हिजो पनि हामीले तालमेल गरेकै हो । कृष्ण सिटौलाजी लगायत हाम्रोसमेत मतमा राष्ट्रियसभामा पुग्नुभएको हो । अब पनि कांग्रेसले नेतृत्व लिनेगरी गठबन्धन गर्न उदार छौँ’, नेकपा नेताले नेपालप्रेससँग भने ।
निकटस्थहरूका अनुसार कांग्रेस सभापति देउवा भने नेकपासँगको तालमेलका लागि उत्साहित छैनन् । यद्यपि कम्युनिष्टहरु मिल्ने हुन् की भन्नेतर्फ सचेत देखिन्छन् । एक्लै लड्दा कांग्रेसले अधिकांश सिट जित्छ,एमाले ४ सीटमा हुनेछ भने अरुको सिट आउँदैन ।
कांग्रेसलाई पहिलो दल बन्ने अवसर
राष्ट्रियसभामा नेपाली कांग्रेसले अहिलेसम्म पहिलो दल बन्ने अवसर पाएको छैन । यस पटक कांग्रेसलाई त्यो अवसर छ । २०७४ सालमा एकल संक्रमणीय आधारमा राष्ट्रियसभा निर्वाचन हुँदा तत्कालीन नेकपा पहिलो दल बनेको थियो भने कांग्रेसको आकार निकै खुम्चिएको थियो । नेकपा विभाजनपछि एमाले पहिलो दलको रूपमा रह्यो ।
२०८० सालको राष्ट्रियसभा निर्वाचनपछि नेकपा माओवादी पहिलो दलका रूपमा रहेको थियो । अहिले राष्ट्रियसभाबाट एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका , जसपा नेपालका १ र लोसपा नेपालका १ जना कार्यकाल पूरा गरी बाहिरिँदै छन् । राष्ट्रियसभामा कांग्रेसका १६ जना सदस्य छन् ।
‘जोसँग मिलेर चुनाव लडेपनि कांग्रेस पहिलो दल बन्दैछ । राष्ट्रियसभाको अध्यक्ष लिएर संवैधानिक परिषदमा उपस्थिति जनाउने उद्देश्य भएकाले कांग्रेसले सोहीअनुसार गठबन्धन गर्छ’, सभापति देउवानिकट कांग्रेस नेताको भनाई छ ।
कुरा सबैसँग भइराछ, पार्टीले निर्णय लिएको छैन : कार्यवाहक सभापति खड्का
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का कांग्रेसभित्र राष्ट्रियसभा निर्वाचनबारे औपचारिक छलफल नभएको बताउँछन् । ‘अहिले धेरै समय बाँकी छ । अरु काममा पनि व्यस्त छौं । राष्ट्रियसभाको चुनाव वा तालमेलबारे पार्टीभित्र कुनै कुरा भएको छैन’, खड्काले नेपालप्रेससँग भने । उनले एमाले, नेकपा लगायतका दलका नेताहरुसँग संवाद भइरहेपनि राष्ट्रियसभाबारे धारणा बनाइनसकेको बताए ।
‘सभापतिजीले पनि नेताहरु भेटिरहनुभएको छ । मैलेपनि सबै पार्टीका नेतासँगकुरा गरेको छु । तर पार्टीभित्र नै यसबारे छलफल भइसकेको छैन । पहिले पार्टीले निर्णय लिन्छ अनि बल्ल गठबन्धनबारे टुंगो हुन्छ’, खड्काले भने ।

Leave a Reply