
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि बालुवाटारबाट भागेको आरोप अस्वीकार गरेका छन् । आफू भागेको नभई मुकाम परिवर्तन मात्रै गरेको उनको भनाइ छ ।
आज सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले यस सम्बन्धमा लामो स्पष्टीकरण दिए । सुरुमा उनले पाण्डवहरूको उदाहरण दिएर भाग्नु पनि कहिलेकाहीँ बुद्धिमत्तापूर्ण हुने तर्क गरे । पछि फेरि आफू कतै नभागेको जिकिर गरे ।
ओलीको भनाइ उनकै शब्दमा:
‘भाग्यो नि… भगाइयो नि… भन्या छन् । म कहिले सिंहदरबार, कहिले बालुवाटारमा हुन्थेँ । बाहिर जाँदा मुकाम अन्त पनि हुन्थ्यो । कौरवहरूले दुर्योधन, सकुनी र दुसासनहरुले लाक्षागृह बनाएर भित्रै जलाएर मार्न खोजेका थिए । दुर्योधनका प्रेतहरू अहिले पनि रहेछन् । पाण्डवहरू भागेर बाँचे । एकातिरबाट आगो लगाए, पाण्डवहरू अर्कातिरबाट भागे । भागेकै हुन् पाण्डवहरू । काँतर भएर होइन, बुद्धि पुर्याएर भागे । ‘म जल्छु तर भाग्दिन’ भनेको भए जल्थे । जल्नु हुँदैनथ्यो । त्यस्ता परिस्थिति पनि आउँदा रहेछन् ।
मेरो अगाडि एउटा परिस्थिति आयो । मैले राजीनामा गरेँ । तर म केयरटेकर प्रधानमन्त्री छँदै थिएँ । भागेर केयरटेकर हुन्छ ? भागेको मान्छे प्रधानमन्त्री रहन्छ ? म त प्रधानमन्त्री नै थिएँ । राष्ट्रपति भन्दै हुनुहुन्छ कि उहाँलाई कदम चाल्न प्रधानमन्त्रीले २६ गते राति सिफारिस गरेको हो भनेर । मैले राष्ट्रपतिलाई प्रधानमन्त्रीको हैसियतमा सिफारिस गर्दै छु भने म कहाँ भागेँ ? राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिबीच मेरो कुराकानी भयो म बसेको ठाउँमा । त्यो भाग्या भयो ?
हो, मैले (बालुवाटार) नछोड्न सक्थेँ । तर के–के खुवाएर ल्याएको छ, आक्रमण गर्न आउँछन् । आत्मरक्षाका लागि प्रहार गर्दा क्याजल्टी हुने भो । क्याजल्टी हुनुभन्दा वल्लो घरबाट पल्लो घर सर्दा राम्रो होइन ? कहिलेकाहीँ बच्चाबच्चीहरुले खेदे भने आफू कुद्नुपर्छ । अनि डरायो, भाग्यो… भनेर खुशी हुन्छन् । त्यस्तै हो । म प्रधानमन्त्री चलाइरहेको छु, भागेँ कसरी ? उनीहरूको ज्यान बचाउनका लागि मैले मुकाम परिवर्तन गरेको हुँ ।
भाग्या मान्छे यस्तै हुन्छ ? कुन देश गएको थ्यो भागेर ? भारत, चीन, अमेरिका, रुस कहाँ गएको थियो ? मैले ‘क्याजल्टी’ नहोस् भन्ने हिसाबले आफू बसेको मुकाम परिवर्तन गरेँ । किन त्यहाँ फर्केर गइनँ वा अर्को ठाउँ आइन भन्दा घर डढाइदिएको छ, बस्ने ठाउँ नखोजी आउन भएन । डेरा खोजेर पाएपछि आएँ । डेरा नभएसम्म यहाँ छु भनेर डाँडाडाँडा निस्किएर माइक लगाएर कराउने कुरा भएन । डेरामा आएपछि म गुण्डुमा आएँ भनेकै हो ।
म २ गते गुण्डुमा आएँ । गुण्डुमा फुत्त निस्केँ । यतै कतै आसपास थिएँ रे त फुत्त निस्किएँ । एयरपोर्टको टिकट हेर्दा भो । नाकाहरू चेक गर्दा भयो कहाँबाट आयो । आफ्नो घर नहुँदा अर्काको घरमा बास मागेर बसेको ठाउँमा धाक लगाएर अप्ठेरोमा पारिदिनु भएन नि । त्यति मात्र कुरा हो ।
नभाग्या भएर के गर्थे त सुशीलाजीहरुले ? म नभागेको भए के गर्नुहुन्थ्यो उहाँहरूले ? हो, हामीले एउटा कमीकमजोरी गरेका थियौँ । भन्न त केपी ओलीले कमजोरी स्वीकार्दैन भन्छन्, तर म स्वीकार्छु । हामी राज्य संयन्त्रको सुरक्षामा सम्पूर्णरुपमा भर पर्यौं । यही कमजोरी भयो । जनताले आफ्नो सुरक्षा आफैँले पनि गर्नुपर्ने रहेछ । हाम्रो घर जलाइँदा राज्य कहाँ थियो थाहा भएन । यो बदलिएको परिस्थितिमा अब यहाँहरूका घर पनि जलाइन आँटे भने तुरुन्त सूचना पाउँ, हामी सुरक्षा गर्छौँ । एमालेले सुरक्षा गर्छ । ढुक्क भएर कलम चलाए हुन्छ । कसैले फोन सोन गर्दैमा डराउनु पर्दैन ।

Leave a Reply