
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनरागमन गरेका हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङलाई आज भेटेका छन् । भेटमा मन्त्री घिसिङले नतिजा देखाउने गरी काम गर्न निर्देशन दिए ।
जल तथा ऊर्जा आयोगमा सरुवा गरिएका शाक्यलाई सर्वोच्चले प्राधिकरणमै पुनर्बहाली गरिदिएको थियो । हिजो पदभार गरेपश्चात् उनी आज मन्त्री भेट्न पुगेका हुन् ।
शाक्यले विगतमा पनि प्राधिकरणमा आफूहरूले सहकार्य गरेको सम्झिँदै आगामी दिनमा पनि मन्त्रीको दिशा निर्देशअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री घिसिङले यसअघि आफूले शाक्यलाई सल्लाहमा नै जल तथा ऊर्जा आयोगमा सरुवा गरेको सम्झिए ।
उनले भने, ‘तपाईँसँग सल्लाह गरेर नै सरुवा गरेको थियो । अदालतले पुनर्बहाली गर्न आदेश दियो । त्यसमा मेरो केही छैन । तर, अदालतले फर्काएको दम्भ बोकेर आफूखुसी चल्न नखोज्नु होला ।’
प्राधिकरणलाई अहिल्यै अत्यावश्यक सामानहरूको अभाव भइरहेको भन्दै उनले नतिजा देखाउने गरी काम गर्न सुझाव दिए ।
‘मलाई रिजल्ट चाहिन्छ । राम्रो रिजल्ट आएमा म शत्रुलाई पनि जिम्मेवारी दिन तयार हुने व्यक्ति हुँ । तर, रिजल्ट आएन भने फेरि पनि सोच्नु पर्ने हुन सक्छ,’ घिसिङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

Leave a Reply