एमालेको ११औँ महाधिवेशन : एक प्रतिनिधिको अपेक्षा

नेपाल सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने तात्कालीन कारण एउटा थियो तर बुझाइयो अर्कै । सामाजिक सञ्जालअन्तर्गतको फेसबुकलगायतको संस्थाहरूलाई नेपालमा पनि नियमनमा छिर्नुका लागि दर्ता गर्न गरेको अनुरोधको उत्तरमा मेटाका प्रमुख मालिक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले तिमीहरूको देशको संविधान र कानुन मान्दिनँ भनेको तिर कसैले ध्यान नै दिएनन् ।

त्यो चुनौतीपूर्ण र गैरजिम्मेवार ओठे जवाफप्रति सारा नेपालीहरूको ध्यान जान सक्थ्यो र जानुपर्थ्यो तर नेपालका प्रमुख राजनैतिक दलहरू नेकपा (एमाले)देखि बाहेक अन्यले नसुने जस्तो गरे । उल्टै सरकारमाथि आरोपका चाङ थुपारे कि भ्रष्टाचार छोप्न, विपक्षी दलहरूको बढ्दो लोकप्रियताबाट डराएर उपनिर्वाचनलाई प्रभावित पार्न, युवा पिँडीको जायज मागलाई लत्याउन वा यस्तै यस्तै अनर्गल हावा फिँजाइयो ।

तात्कालीन सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको बोली र अनुहारमा युवा पुस्ताप्रति गाली र बेवास्ता होइन, बरु राष्ट्रिय स्वाभिमान झल्किएको थियो । (त्यो भिडियो गौर गरेर मनन गरौँ ।) दुष्प्रचारले भदौ २३ अनिवार्य गर्‍यो र भदौ २४ को उत्तरार्धको पटाक्षेपलाई उदाङ्गो पारेरै छाड्यो ।

त्यसकै कालखण्डमा अहिले नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन हुन लागिरहेको छ । महाधिवेशनको निकट सम्मुखमा एमालेका प्रमुख नेताहरूको विभिन्न किसिमका अभिव्यक्तिहरू आइरहेका छन्, विशेषगरी नेतृत्व र २०८२ भदौ २३ गतेको जेन जी आन्दोलन र २४ गतेको अराजक विध्वंसका बारेमा । एमालेका कार्यकर्ताहरूले पनि सोहीअनुरूपको प्रतिक्रिया, अड्कलबाजी र लबिइङ गर्न थालेको पाइन्छ ।

कोही केपी ओलीकै नेतृत्वको खाँचो छ भन्छन्, कोही केपी ओलीले सहज रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्छन् । कोही केपी ओलीप्रतिको बढ्दो आलोचना र अलोकप्रियताका कारणले आगामी निर्वाचन हारिन्छ भन्छन् भने यसको ठिक विपरीत कोही ओलीकै राष्ट्रवादी छवि, तीव्र विकासवादी स्वभाव तथा राष्ट्रियता, लोकतन्त्र र समृद्धिप्रतिको क्रियाशील लगाव र दृढ प्रतिबद्धताका कारण एकल बहुमत ल्याउन सकिन्छ भन्छन् । सबैले आ-आफ्नो अनुमान गर्न पाइन्छ तर अनुमानहरू तथ्य र सम्भावनाको सन्निकट हुनुपर्दछ, र अनुमानहरूलाई इमानदारीपूर्वक प्रस्तुत गरिएको हुनुपर्दछ ।

महाधिवेशनमा कस्तो नेतृत्व ल्याउनेभन्दा पनि कसलाई नेतृत्व दिने भन्ने कुरा बढी खेलेको देखिन्छ । भुइँको कुरा गर्ने हो भने एमालेप्रतिको गलत धारणा पूर्ण रूपमा सङ्लिन अझै केही समय लाग्ने देखिन्छ । माथिल्लो तहको कुरा र क्षितिजपारिको कुरा हेर्दा अफवाह र भ्रम फैलाएर एमालेलाई अझै धेरै खुइल्याउने प्रयत्न अझ बढी वेग र सङ्गठित रूपमा गरिरहेको देखिन्छ ।

त्यसर्थ अहिले एमालेभित्र प्रतिस्पर्धाबाट मूल नेतृत्व छनौट गर्नु खराब नभए पनि यो पटक उचित होइन । प्रतिस्पर्धाले झिनो अंशमा भए पनि नेतृत्वमा पुग्ने र छुट्ने दुवैले केही न केही मात्रामा मनोवैज्ञानिक समस्या बोकेकै हुन्छन् । यो कुरामा जननेता मदनकुमार भण्डारीमा चाहिँ देखिएको थिएन । उहाँले उहाँको विचार र कार्यक्रम बेठिक भन्नेहरूलाई पनि अँगालो हालेर सँगसँगै पार्टीमा चलायमान गराउनुभएको थियो ।

नेकपा (एमाले) लाई ११औँ राष्ट्रिय महाधिवेशनबाट अझ एकताबद्ध, दर्बिलो र पहिलो शक्तिको राजनैतिक दलका रूपमा विकास र विस्तार गरेर लानुपर्दछ । अहिले कसैले पनि अहङ्कार, घमण्ड, रिसराग, ईष्या राख्नु हुँदैन । हराउने खेलमा कोही लाग्नु हुँदैन । आफू मात्र जित्ने कोसिस गर्दा कथङ् नेतृत्वमा छुटिइयो भने के होला ! जिते पनि काम उठाउन निक्कै गाह्रो हुने देखिन्छ ।

हो, एमालेले एकल बहुमत पाउन सकेको छैन तर पटक पटक सरकार सञ्चालन र सहभागिता पाएको छ । त्यसर्थ एमालेले लिएका असल नीति तथा कार्यक्रमहरू एवं गरेका राम्रा कामहरूको बाबजुद पनि विपक्षीहरूलाई सर्वसाधारण जनता र आम कार्यकर्ताहरूमा न्वरानदेखिको बल लगाएर भ्रम छर्ने अवसर पाइरहेका छन् । यो कुरा कसरी पनि बुझ्नुपर्दछ भने यो देशमा जे जति विकृति-विसङ्गति गरिएका छन्, ती सबै काम एमाले एक्लैको हो भनेर कुप्रचार गर्दछन् ।

नयाँ उम्रिएका दलहरू हुन् कि स्वघोषित नेताहरू हुन्, उनीहरूले अन्य राजनैतिक दल र नेतृत्वप्रति कडा र एमालेका विरुद्धमा जति मात्रामा अरू दल र नेतृत्वप्रति आलोचना गरेको पाइँदैन । यो देश-निर्माणका लागि दुर्भाग्य हो । महादुर्भाग्य त तब हुन्छ जब त्यो एमाले बाहिरको अनावश्यक रूपमा खुइल्याउने दुष्कार्य एमालेभित्रै छिछेर एमालेलाई नै विभाजित र नष्टीकरण गर्दछ ।

विपक्षीहरूको बोलीविरुद्धको राम-वाण एमालेभित्रै सरिसक्यो भन्ने छनक पाउन थालिएको छ । मिल्दा घाँटी जोड्ने, अलिकति मन परेन कि आन्द्रा–भुँडी उल्टाइदिने कार्यले कसैलाई पनि उँभो लाग्न दिँदैन । बन्दुकबाट छुटेको गोली र मुखबाट निस्किएको बोली फिर्ता लिन सकिँदैन । यसकारण बोल्दा होस पुर्‍याएर बोल्नु, स्वस्थ प्रतिस्पर्धा गर्दा सजग भएर परिधिभित्र बाँधिएर प्रतिस्पर्धा गर्नु नेतृत्वको स्तर र गरिमा हो । माथि नेतृत्वले कमिकमजोरी गर्दछ, अनावश्यक रूपमा पौँठेजोरी खेल्दछ । परिणाम, तल भुइँमा कार्यकर्ताहरू विभाजित बन्नुपर्ने, एकार्काबाट शङ्का र घृणा खप्नुपर्ने, अन्य दलको खिसीटिउरी सहनुपर्ने र सर्वसाधारण जनता र बौद्धिक समाजबाट तिरस्कृत बन्नुपर्ने हुन्छ ।

बहुमत प्राप्त गर्ने बेलामा एमाले धेरै चोटि फुट्यो/फुटाइयो, चोइटियो/चोइटाइयो, जे जे भयो/गरियो, आधारभूत कार्यकर्ताहरूले ठूलो बेइज्जत र सास्ती खप्नुपर्‍यो । आजसम्म प्राथमिक तहका कार्यकर्ताहरूको जुत्ता फाट्यो, खुट्टा फाट्यो तर यो पटक फुट्ने/टुट्ने जस्तो भयावह अवस्था आएमा आम कार्यकर्ताहरूको पार्टीप्रतिको दृढ आस्थाले भरिएको पवित्र मन फाट्ने छ ।

एमाले हुँदा गर्व गर्ने, एमालेलाई प्राणभन्दा प्यारो मान्ने र एमालेबाट मात्रै सबै किसिमका शोषण, दमन र विभेदको अन्त्य एवं संविधान र राष्ट्रियताको संरक्षण, देशको समृद्धि र जनताको सुख र खुसी सम्भव छ ठान्नेहरूको मन फाट्यो भने ती आफ्नै कारणले फाटेका मनहरूलाई टाल्ने सियो, धागोसहितको सूचिकार बन्नु नेताहरूलाई निकै कठिन हुनेछ । त्यसर्थ यो पटक सकभर सर्वसम्मत नै नेतृत्व (न्युनतम पदाधिकारी तहसम्म) चयन गर्नु बढी उपलब्धीमूलक हुनेछ जसका लागि तपसिलका कार्य गर्नु/गराउनुपर्दछ –

१. केपी ओलीको आव्हानमा मुख्य केही नेताहरूले र सम्मानका साथ सल्लाह र विश्वासका साथ सहमति गर्नुपर्दछ,

२. ५ औँदेखि ९औँ राष्ट्रिय महाधिवेशनजस्तो यो ११औँ महाधिवेशन होइन । पार्टीभित्रको आन्तरिक, देशभित्रको आन्तरिक र बाह्य शक्ति सन्तुलन र घटना-परिघटनाहरू बढी संवेदनशील र अप्ठ्यारा छन् । त्यही भएर पार्टीको नेतृत्व एकमत छ भन्ने सन्देश आम जनता, कार्यकर्ता, अन्य राजनैतिक दल र विदेशी मित्रहरूलाई दिनु जरुरी छ,

३. सकिन्छ भने, स्पष्ट अधिकार र कर्तव्य निर्धारण गरेर सहअध्यक्ष पनि बनाऊँ । नत्र कम्तीमा वरिष्ठ उपाध्यक्ष दुईजना बनाउनु बढी व्यवहारिक देखिन्छ । अन्य पदहरू तपसिलअनुसार निर्धारण गर्नु उपयुक्त ठहरिन्छ :-

(क) अध्यक्ष : १

(ख) सहअध्यक्ष/वरिष्ठ नेता : १

(ग) वरिष्ठ उपाध्यक्ष : २

(घ) उपाध्यक्ष : ५ (१ महिलासहित)

(ङ) महासचिव : १

(च) उपमहासचिव : ३

(छ) सचिव : ८ जना (७ प्रदेश र जनसङ्गठन इञ्चार्ज बनाउने गरी )

(ज) सदस्य : २८० जना (जिल्ला इञ्चार्ज बनाउने गरी हरेक जिल्लाबाट न्युनतम एक जना र बढी जनसङ्ख्या र पार्टी सदस्यता सङ्ख्या भएको जिल्लाबाट न्युनतम दुई जना अनिवार्य) तथा बाँकी खुल्ला र समावेशी क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र, विभाग र फाँट आदिको इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी दिने गरी कमिटीमा पार्नुपर्दछ, अर्थात् न्युनतम अहिले तीन सय एक जनाको केन्द्रीय कमिटी बनाउनुपर्दछ ।

२०८२ भदौ २३ भन्दाअगाडिको अवस्था देश र हाम्रो दलमा भएको भए, पदाधिकारी र सदस्यहरूको सङ्ख्या घटाउनु उचितै हुन्थ्यो होला तर अहिले देश र पार्टीको अवस्था थोरै बदलिएको छ । त्यसर्थ, नेतृत्वले यति बेला कमिटी गठन गर्दा धेरै दूरदर्शिता र ध्यान राख्नुपर्दछ ।

‘खरानी नेपाल, दुःखी नेपाली’ भएको संवेदनशील घडीमा मुलुक र जनतालाई सही र गतिशील नेतृत्व प्रदान गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को चरणमा उकाल्न एघारौँ राष्ट्रिय महाधिवेशनलाई एकताबद्ध बनाउँदै नेताहरूले आफूले जितेर आफैँ खुसियाली मनाउँदै हाँस्ने भन्दा पनि कार्यकर्ताहरूको भावनालाई बुझेर आम कार्यकता र सर्वसाधारण जनताहरूलाई मुस्कुराउने बनाउनु नै सफल र दूरदर्शी नेतृत्व ठहरिनेछ ।

११औँ राष्ट्रिय महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको सङ्कल्प; समृद्ध नेपाल र सुखी नेपाली, हाम्रो गन्तव्य’को कार्यभार पूरा गर्न पनि सर्वसम्मत नेतृत्व चयन गरिनुपर्दछ ।

(लेखक मोरङ ३ को खुलातर्फका महाधिवेशन प्रतिनिधि हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *