
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले हिजो जेनजी अगुवाहरूसँग गरेको सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिएका छन् । यो नाटकको हिजै पटाक्षेप भएको उनले टिप्पणी गरे ।
आज सम्पादकहरूसँग अन्तरक्रियामा बोल्दै ओलीले सरकारसँग यस्तो सम्झौता गर्न म्यान्डेट नै नरहेको बताए ।
उनको भनाइ यस्तो थियो:
हिजोको एउटा कलाविहीन थियो । नाटकको पटाक्षेप कसरी भो त्यो दृश्य पनि सम्झना होला । जति कलाविहीनताका साथ नाटकको पर्दा उठेको थियो, त्यही कलाविहीनताका साथ पटाक्षेप भएको छ । त्यसमा धेर भन्नुपर्छ र ? यो सरकार कुनै त्यस्तो सम्झौता गर्नै सक्दैन । कहाँबाट म्यान्डेट पायो सरकारले ? कसैले भोट हालेर चुनेको सरकार हो ? गोबर लगाएर टाँसेको होइन ? त्यस्तो सरकारले पनि कोको बोलायो, कसलाई कागज थमायो, यो कागज लिएर आऊ भन्यो । रिहर्सलमा सिकाएको बोल्दै जाँदा केटाकेटीले बिगारे । सिकाएको पाठ बिग्रियो । गडबड भयो । त्यहीँ अस्वीकार भयो । उनीहरूले नै च्याते त्यो । हामीले त्यस्ता फजुल कागजहरूलाई कुनै मान्यता दिने भन्ने प्रश्नै हुँदैन । यो कलाविहीन भद्दा नाटक हो ।
ओलीले वर्तमान सरकार नागपञ्चमीमा गोबर लगाएर टाँसिएको नागजस्तै भएको अर्को टिप्पणी गरे ।
उनले भने, ‘सरकारले फेद न टुप्पोको ताहुरमाहुर देखाइरहेको छ । नागपञ्चमीमा गोबर लगाएर टाँसे जसरी कसले ल्याएर टाँसेको सरकार हो यो ? यो नागको फोटो कसले टाँस्यो मैले थाहा पाएको छैन । खोज्दैछु ।’

Leave a Reply