
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्धका विषयमा ‘यथार्थवादी हुनुपर्ने’ बताएका छन् ।
उनले युक्रेनले आफ्नो अर्को चुनाव कहिले गर्ने योजना बनाएको छ ? भन्दै प्रश्न गरेका छन् । बुधबार पत्रकारहरुसँगको भेटमा ट्रम्पले छलफलहरु युक्रेनमा केन्द्रित रहेको बताए ।
ट्रम्पको यो टिप्पणी फ्रान्स, जर्मनी र बेलायतका नेताहरूसँगको छुट्टाछुट्टै फोन वार्तापछि आएको हो । ट्रम्पका अनुसार युरोपेली नेताहरूले यस सप्ताहन्तमा संयुक्त राज्य अमेरिका र युक्रेन दुवैसँग संयुक्त बैठक गर्न खोजिरहेका छन् ।
‘उनीहरू यस सप्ताहन्तमा हामी दुवैसँग भेट्न चाहन्छन्, र उनीहरू के लिएर आउँछन् भन्ने आधारमा हामीले निर्णय गर्नेछौं,’ ट्रम्पले पत्रकारसँग भने ।
सन् २०२२ मा रुसको आक्रमणसँगै सुरु भएको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले शान्ति प्रस्तावमा विचार गर्न जेलेन्स्कीलाई धेरै दिनसम्म आग्रह गरेपछि ट्रम्पको टिप्पणी आएको हो ।
प्रश्नोत्तर सत्रमा बोल्दै ट्रम्पले ‘युद्ध जारी रहँदा किभले आफ्नो अपेक्षाहरूको पुनर्मूल्यांकन गर्नुपर्ने’ सुझाव दिए । ‘मलाई लाग्छ उनी यथार्थवादी हुनुपर्छ,’ ट्रम्पले भने, ‘तपाईंलाई थाहा छ, चुनाव हुन कति समय लाग्छ ?’
युक्रेन र रुसबीचको लडाइँ तेस्रो वर्षमा प्रवेश गर्दै गर्दा जेलेन्स्कीको जनादेश र युद्धकालमा चुनावको सम्भाव्यतामाथि प्रश्नहरू पुन: उठेका छन् ।
पोलिटिकोसँगको एक अन्तर्वार्तामा, ट्रम्पले जेलेन्स्कीलाई ‘सत्तामा टाँसिएको’ आरोप लगाए । उनले युक्रेनको लोकतान्त्रिक अडानमा शंका व्यक्त गरे। ‘उनीहरूले लामो समयदेखि चुनाव गरेका छैनन् । तपाईंलाई थाहा छ, तिनीहरू लोकतन्त्रको बारेमा कुरा गर्छन्, तर यो त्यस्तो बिन्दुमा पुग्छ जहाँ यो अब लोकतन्त्र रहेन ।’
युक्रेनको संसद र अन्तर्राष्ट्रिय साझेदारहरूले सहमति जनाए भने उनी आगामी तीन महिनाभित्र राष्ट्रिय निर्वाचन गर्न तयार रहेको जेलेन्स्कीले बताउँदै आएका छन् । उनले जोड दिए, ‘यो निर्णय केवल युक्रेनीहरूको हो ।’
जेलेन्स्कीको पाँच वर्षे कार्यकाल मे २०२४ मा समाप्त भए पनि युक्रेनको संविधानले मार्शल लको समयमा राष्ट्रिय चुनाव निषेध गरेको छ । जुन २०२२ मा रूसले पूर्ण स्तरमा आक्रमण सुरु गरेदेखि मार्शल ल लागू भएको छ । जारी मिसाइल आक्रमण, लाखौंको विस्थापन, अग्रपंक्तिमा तैनाथ सैनिकहरू र मतदाता र मतदान पूर्वाधारमा जोखिमका कारण अहिले चुनाव गर्नु असुरक्षित र अव्यावहारिक हुने युक्रेनी विपक्षी दलको समेत मत रहिआएको छ ।
युरोपेली नेताहरूले जेलेन्स्कीको वैधताको लागि आफ्नो समर्थन दोहोर्याउँदै आएका छन् । युरोपेली आयोग र सुरक्षा परिस्थितिले अनुमति दिएमा मात्र चुनाव हुनसक्ने उनीहरुको भनाइ छ । ईयू प्रवक्ता अनिता हिपरले युक्रेनले ‘असाधारण समय’ को सामना गरिरहेको बताइन् । ‘राष्ट्रपति भोलोडिमिर जेलेन्स्की लोकतान्त्रिक रूपमा निर्वाचित नेता हुन्, र परिस्थितिले अनुमति दिएमा चुनाव हुनुपर्छ ।’
यद्यपि, रूसले जेलेन्स्कीको वैधतालाई अस्वीकार गर्दै आएको छ । उनको कार्यकाल समाप्त भएको तर्क गर्दै र युक्रेनमा अब वैध राष्ट्रप्रमुख नभएको दाबी गरेको छ । मस्कोले बाध्यकारी सम्झौताहरूमा प्रवेश गर्नबाट बच्न यो अडान प्रयोग गरेको छ, र भनिएको छ कि मस्कोले ‘अवैध’ भनेर लेबल लगाएको कसैसँग वार्ता गर्न सक्दैन । युक्रेन र यसका पश्चिमी साझेदारहरूले युद्धकालीन संवैधानिक प्रावधानहरू अन्तर्गत जेलेन्स्की देशको वैध नेता रहेको बताउँछन् ।
एएनआईले लेखेको छ- यो विभाजनले कूटनीतिक गतिरोध सिर्जना गरेको छ । युद्धविराम छलफललाई जटिल बनाएको छ र कैदी आदानप्रदान जस्ता मानवीय व्यवस्थाहरूमा ढिलाइ भएको छ ।

Leave a Reply