
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७-२९ मा आयोजित हुँदैछ । १० औँ महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीको कार्यकाल बाँकी हुँदै एमाले ‘अर्ली’ महाधिवेशनमा जुटेको हो । पार्टी जीवनको सुदृढीकरण र सशक्तीकरणका निम्ति एमाले यसरी ‘अर्ली महाधिवेशन’ मा जुटेको भन्ने कुरामा कुनै शंका छैन । त्यसैले आमजनताले पनि यसप्रति बढी नै चासो राखेका छन् ।
देश विषम परिस्थितिबीच गुज्रिरहेको छ । अध्यक्ष केपी शर्मा ओली नै सरकार प्रमुख भएको समयमा जेन-जी आन्दोलन भयो । त्यसको आवरणमा देशमा राजनीतिक प्रतिगमन भएको छ । उक्त आन्दोलनको सबै भन्दा ठूलो तारो एमाले नेतृत्वको सरकार र एमाले पार्टी पङ्क्ति नै थियो । देशभरका एमाले पार्टी कार्यालय र नेताका घर गुगल म्याप ट्रयाकिङ गर्दै ध्वस्त पारियो । भदौ २३ र २४ को उक्त आन्दोलनले देशको राजनीतिक चित्र नै बदलिदिएको छ । त्यो आन्दोलन मात्र थिएन । २३ गते दिउँसो १२ बजेसम्म आन्दोलन र त्यसपछि हिंसात्मक अराजकता थियो ।
त्यसको बलमा जनता (जनमत) र संविधानले नचिनेका मान्छे सत्तासीन भए । संसद विघटन गरिएको छ, जसलाई संविधानले चिन्दैन । यसबाट देशमा भयंकर राजनीतिक अस्थिरता उत्पन्न भयो । देश असफल राष्ट्रमा रूपान्तरित हुने खतरा बढिरहेको छ । यस्तो परिस्थितिमा एमालेले आफ्नो राष्ट्रिय महाधिवेशन गर्दैछ । यो महाधिवेशनले १० औँ देखि अहिलेको ११ औँ महाधिवेशनसम्म पार्टीद्वारा सम्पादित कामको समीक्षा गर्दै आगामी कार्य योजना सहित केन्द्रीय नेतृत्व निर्माण गर्नेछ ।
जबजले कम्युनिस्ट पार्टी, आन्दोलन, अर्थतन्त्र र राज्यसत्ताको लोकतान्त्रीकरणमा जोड दिएको छ । जबजको सैद्धान्तिक अभ्यासका क्रममा नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ मान्यताहरू स्थापित भएका छन् ।
एमाले मूल रूपमा मार्क्सवाद-लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त बनाएर अघि बढिरहेको पार्टी हो । मार्क्सवाद संसार बदलेर सञ्चालन गर्ने दर्शन, सिद्धान्त र पद्धति हो । आदिम साम्यवादकालीन समाजपछि निर्माण भएका सबै सामाजिक व्यवस्था अन्यायपूर्ण र विभेदयुक्त छन्, त्यस्ता सामाजिक व्यवस्था ढालेर जनतामा न्याय र समानता भएको राजनीतिक व्यवस्था स्थापना गर्ने उद्देश्य बोकेर मार्क्सवादी दर्शनको विकास भएको थियो । मार्क्सवादको सैद्धान्तिक अभ्यासका क्रममा लेनिनवादी सिद्धान्तको विकास भयो ।
संसारभर मार्क्सवाद-लेनिनवादको सैद्धान्तिक अभ्यासका क्रममा प्राप्त अनुभव र शिक्षाका आधारमा नेपालमा जननेता कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्नुभयो । मदनले जडसूत्रवाद र विसर्जनवादका विरुद्ध मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्ने नेपाली क्रान्तिको कार्यक्रमका रूपमा अघि सार्नुभएको जनताको बहुदलीय जनवादलाई अहिले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रूपमा विकास गरिएको छ । त्यसले मार्क्सवादका तीनवटै अंग- ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शन, आर्थिक सिद्धान्त र वैज्ञानिक समाजवादको सिद्धान्तमा थप योगदान गरेको छ ।
जबजले कम्युनिस्ट पार्टी, आन्दोलन, अर्थतन्त्र र राज्यसत्ताको लोकतान्त्रीकरणमा जोड दिएको छ । जबजको सैद्धान्तिक अभ्यासका क्रममा नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ मान्यताहरू स्थापित भएका छन् । जबज अनिर्वाचित नेतृत्व र सत्ताका कारण संसारमा कम्युनिस्ट आन्दोलन बदनाम भइरहेको समयमा मार्क्सवादको सही प्रयोग गर्ने संकल्प सहित विकास गरिएको सिद्धान्त हो । मार्क्सवाद आफैँमा हरेक प्रकारका विभेद र असमानताको अन्त्य एवं समानतायुक्त राज्यविहीन, वर्गविहीन समाज निर्माणका लागि विकास गरिएको दर्शन र सिद्धान्त हो ।
मार्क्सवादका पाँच वटा मूलभूत तत्त्व मध्ये ‘सिद्धान्त र व्यवहारबीचको एकता’ व्यवहारमा लागु गर्न नसक्नु संसारभरका कम्युनिस्ट आन्दोलनमा देखिएको सबैभन्दा जब्बर समस्या हो ।
जनवादी–समाजवादी चरणमा मार्क्सवादले साबिक मताधिकारका आधारमा जनप्रतिनिधि, सेना, प्रहरी, न्यायालय र प्रशासनका प्रमुख चुन्ने, उनीहरू जनताप्रति पूर्णरुपमा उत्तरदायी भएर शासन–प्रशासन सञ्चालन गर्नुपर्ने र जनताप्रति अनुत्तरदायी हुने जोसुकै प्रतिनिधिलाई तुरुन्तै प्रत्यावहन गर्ने मान्यतामा जोड दिएको छ । मार्क्सवादको यही मान्यतालाई सही रूपमा लागु गर्न नसक्दा संसारका धेरै देशका कम्युनिस्ट शासन र पार्टी ढलेका छन् । जननेता मदन भण्डारीले यो तथ्यलाई गहिरोसँग आत्मसात गर्दै नेपालमा जबजको बिचार अघि ल्याउनु भएको हो । जबजकै मार्गदर्शनमा नेकपा (एमाले) आज दक्षिण एसियाको संगठित पार्टीका रूपमा स्थापित भएको हो ।
महाधिवेशनमा जुटेको एमाले पङ्क्तिले कम्युनिस्ट सिद्धान्त र आदर्शमा आफूलाई खरो उतार्न सक्नुपर्दछ । नेपालमा अहिले पनि निकै ठूलो कम्युनिस्ट जनमत छ, जसले देशमा कम्युनिस्ट पार्टीको सरकार बनाएर त्यसका माध्यमबाट जनवाद र समाजवादको विकास गर्न चाहन्छ । नेपालमा आज पनि हिजोको सामन्ती सत्ताले विकास गरेका जनविरोधी मूल्य–मान्यता कायम नै छन् । जनताका बीचमा चरम सामाजिक विभेद कायमै छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको, झण्डै ६० प्रतिशत कम्युनिस्ट जनमत भएको देशमा करिब ६० लाख मानिस वर्णव्यवस्थाका नाममा चरम जातीय छुवाछुतबाट प्रताडित हुन बाध्य छन् । छाउपडी, बोक्सी, झुमा, दहेजजस्ता अनेक कुरीतिले नेपाली महिला आज पनि प्रताडित छन् । यस्ता धेरै सामाजिक कुरीतिले नेपालको सिंगो सामाजिक व्यवस्थालाई गिज्याइरहेका छन् । देशमा रहेका यस्ता अनेक सामाजिक कुरीतिको जरैदेखि अन्त्य गर्ने संकल्प यो महाधिवेशनले लिन आवश्यक छ । यो संकल्प पूरा गर्न सके मात्र नेपालमा कम्युनिस्ट आन्दोलनको थप औचित्य पुष्ट गर्न सकिनेछ ।
नेपालको कम्युनिस्ट आन्दोलनले निकै लामो बाटो हिँड्नुपर्ने छ । डिजिटल साम्राज्यवादको विकास र भूराजनीतिक परिवेशले अनेकौँ समस्या थपिदिएको छ । तर, जस्तासुकै चुनौतीका पहाडलाई पन्छाउँदै नेपालको कम्युनिस्ट आन्दोलन अघि बढ्नुको विकल्प छैन । आज पनि नेपालको सामाजिक चरित्र दलाल नोकर शाही पुँजीवादी प्रकारको छ । नेपाल स्वाधीन र स्वावलम्बी बन्न सकेको छैन । राष्ट्रिय पुँजी र उत्पादनको विकास हुन सकेको छैन । यस्तो देशलाई स्वाधीन र स्वावलम्बी बनाउँदै राष्ट्रिय समृद्धि हासिल गर्नुपर्ने छ । हाम्रो समाजमा छुवाछुत छ, कुरीति छ, गरिबी छ, अशिक्षा छ, भोकमरी छ, बेरोजगारी छ । यिनै समस्यालाई देखाएर हामीले कम्युनिस्ट पार्टीको नेतृत्वमा देशमा क्रान्ति सम्पन्न गरेका हौँ, एकात्मक सामन्ती शासनलाई ढालेका हौँ र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गरेका हौँ । हामी सत्तामा आएपछि यी सबै समस्यालाई हटाउँछौँ भनेर जनतासँग प्रतिबद्धता व्यक्त गरेका हौँ । आज पनि यी समस्या हाम्रो समाजमा जस्ताको तस्तै छन् । त्यस कारण यी समस्या तत्काल निवारण गर्ने संकल्प यो महाधिवेशनले लिनुपर्दछ ।
आज एमालेमा नेतृत्व गर्ने वा लाग्ने जोसुकैले एमाले हुनु भनेको सिद्धान्त र व्यवहारमा तादम्यता देखाउन सक्नुपर्दछ । जनप्रतिनिधि भएको छ, समाजका अन्य मानिस भन्दा आफू ठूलो मान्छे भएको भ्रम पालेको छ, कुनै कमिटीको नेता भएको छ ।
मार्क्सवादका पाँच वटा मूलभूत तत्त्व मध्ये ‘सिद्धान्त र व्यवहारबीचको एकता’ व्यवहारमा लागु गर्न नसक्नु संसारभरका कम्युनिस्ट आन्दोलनमा देखिएको सबैभन्दा जब्बर समस्या हो । सिद्धान्त र व्यवहारका बीचमा एकता छैन, सिद्धान्तले व्यवहारलाई निर्देशित गर्नुपर्ने, व्यवहारले सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने, तर त्यस्तो देखिँदैन । त्यसैले पुँजीवादीहरूले कम्युनिस्ट सिद्धान्त भनेको जनताको गरिबीमा नेतृत्वको समृद्धि र वैभव हासिल गर्ने सिद्धान्त हो भनेर आरोप लगाउने गर्दछन् । नेपालको कम्युनिस्ट आन्दोलनमा पनि यो समस्या देखिएको छ । कम्युनिस्ट नेता–कार्यकर्तामा निम्न पुँजीवादी चिन्तन बढेको देखिन्छ । वर्गीयता, सामूहिकता र दोस्रोको हितभन्दा आफ्नै हित मात्र सोच्ने चरित्रको विकासले नेपालको सिंगो कम्युनिस्ट आन्दोलन मार्क्सवादी सिद्धान्त, मूल्य र मान्यताबाट टाढा हुँदै गएको छ । त्यस कारण आज कम्युनिस्ट आन्दोलनमा लागेका नेता–कार्यकर्तामा आफ्ना मार्गदर्शक सिद्धान्तप्रतिको ज्ञान, प्रतिबद्धता र समर्पण पहिलो आवश्यकता हो ।
आजको कम्युनिस्ट आन्दोलनमा क्वान्टिटीको विकास भएको छ । तर, क्वालिटीको विकास हुन सकेको छैन । क्वान्टिटीको मात्र विकास हुनु भनेको यहाँ लागेपछि केही पाइन्छ भन्ने अभिलाषाले मानिसमा एक खालको आकर्षण देखिएको छ । तर, त्यो कम्युनिस्ट आन्दोलनका लागि अत्यन्तै हानिकारक हुन्छ । आन्दोलनमा समस्या आउँदा त्यो चरित्र थप चुनौती बनेर देखा पर्दछ । आज एमालेमा नेतृत्व गर्ने वा लाग्ने जोसुकैले एमाले हुनु भनेको सिद्धान्त र व्यवहारमा तादम्यता देखाउन सक्नुपर्दछ । जनप्रतिनिधि भएको छ, समाजका अन्य मानिस भन्दा आफू ठूलो मान्छे भएको भ्रम पालेको छ, कुनै कमिटीको नेता भएको छ । पार्टीको कार्यकर्ता भएको छ, जनताभन्दा आफू ठूलो भन्ने भ्रम पालेको छ, नेता भएको छ, कार्यकर्ता भन्दा आफू विशिष्ट भन्ने दम्भ पालेको छ, पद र सुविधा जति आफूलाई चाहिन्छ भनेर दाबी गरेको छ । कम्युनिस्ट नेता–कार्यकर्ता हुनु भनेको सामान्य मान्छेभन्दा बढी जिम्मेवार हुनु हो, समाजमा त्याग, समर्पण र क्षमताको रोल मोडल बन्नु हो । माओले भनेजस्तै कम्युनिस्ट नेता–कार्यकर्ता हुनु भनेको बूढो गोरुजस्तै कर्मशील बन्नु हो ।
अर्थात्, समाजको निःस्वार्थ सेवा गरिरहनु हो, यो महाधिवेशनले ‘सेन्टर टु राइट’ गइरहेको पार्टीलाई ‘सेन्टर टु लेफ्ट’ मा फर्काउने संकल्प गर्नुपर्दछ । दक्षिण एसियाको गौरवपूर्ण कम्युनिस्ट आन्दोलनको इतिहास बोकेको एमालेले मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा देशका ज्वलन्त समस्यालाई समाधान गर्दै स्वाधीन र समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध र थप सुदृढ पार्टी निर्माणमा आफ्नो ११ औँ राष्ट्रिय महाधिवेशनलाई आधार महाधिवेशन बनाउन सकोस्, हार्दिक शुभकामना ।
(‘जनताको बहुदलीय जनवाद’ विषयमा विद्यावारिधि गरेका लेखक एमालेका लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन् ।)

Leave a Reply