‘सहमति र एकताको प्रस्ताव ल्याउने जिम्मेवारी अध्यक्षको हो, एमालेमा प्यानलबन्दी नगरौँ’

काठमाडौं । कुनैबेला मन्त्री हुँदा केपी शर्मा ओलीको निजी निवासलाई मन्त्री क्वार्टर बनाउने हैसियतका गोकुल बास्कोटा पछिल्लो समय ओलीविरोधी कित्तामा पुगेको भनेर चर्चित छन् । यद्यपि पार्टीका दुई पक्षबीच सार्वजनिक आरोप-प्रत्यारोप र भेला बैठक चलिरहँदा बास्कोटा दुवैतिर खुलेर देखिएका छैनन् ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री बास्कोटा के गर्दैछन् त ? नेपाल प्रेसको स्टुडियोमा उपस्थित भएर करिब एक घण्टा संवाद गरेका बास्कोटा एउटा धारमा प्रष्ट देखिने भन्दा पार्टी मिलाएर लैजानुपर्छ भन्ने शैलीमा सुनिए । बास्कोटाले ओली फेरि अध्यक्ष बन्नेगरी विधानमै संशोधन गरिसकेको अवस्थामा पार्टीमा सहमति र एकता कायम गर्ने जिम्मेवारी पनि उनकै हुने बताए ।

११ औँ महाधिवेशनमा आफ्नो उम्मेदवारी सचिवमा रहने घोषणा गर्दै उनले प्यानल बनाएर चुनाव लड्दा क्षति हुने चेतावनी समेत दिए । सम्भव भएसम्म सर्वसम्मति, नभए स्वतन्त्र ढंगले व्यक्तिहरुलाई प्रतिस्पर्धा गर्न दिएर महाधिवेशन प्रतिनिधिमार्फत चयन हुने जबजको विधिमा जान सकिए पार्टीमा हार्दिकता र चुनावपछि पनि एकता कायम हुने बास्कोटाको बुझाइ छ ।

पार्टीको अभिभावक भइसकेपछि सबैलाई समेटेर नेतृत्व चयनको प्रस्ताव ल्याउने दायित्व पनि ओलीकै भएको बास्कोटाको भनाइ छ । उनले फरक मत राख्ने वा प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्न खोज्नेलाई दपेट्ने वा कालापानी खेद्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने भन्दै आसन्न महाधिवेशन र निर्वाचनलाई स्वच्छ र स्वस्थ बनाउन जोड दिए ।

प्रतिस्पर्धा गर्न उत्रिएका एउटै पुस्ता र लामो इतिहास बोकेका नेताहरुलाई हारेपछि माधव नेपाल र भीम रावलको जस्तो नहोस् भन्ने ढंगले मानमर्दन गर्ने वा खेद्ने प्रवृतिको पनि बास्कोटाले खरो आलोचना गरे । उनले यस्तो भन्ने व्यक्तिहरू नै महाधिवेशनमा हारे भने उनीहरू के गर्छन् ? भन्ने प्रश्नसमेत बास्कोटाले उठाएका छन् ।

एमालेको महाधिवेशनपछि ठूलो विद्रोह हुने र नेताहरू आफूतिर आउने भनेर नेकपाका संयोजक प्रचण्ड तथा सहसंयोजक माधव नेपालहरूले दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै बास्कोटाले भने-उनीहरूले सपना देख्न पाउँछन्, ढोक्सा थापेर बस्न सक्छन् तर प्रचण्ड माधवको ढोक्सामा केही पर्ने वाला छैन । नेकपा एमाले अझ बलियो, सुदृढ भएर जान्छ र उनीहरुतिरका मान्छेलाई पनि हामीतिर ल्याउने हो ।

अर्को प्रसंगमा बास्कोटाले अहिलेको सरकार गठन र प्रतिनिधिसभा विघटन संविधानविपरीत भए पनि अब यो विषय अदालतमा गइसकेकाले चुनाव वा पुन:स्थापना दुबै विकल्पमा एमाले तयार रहेको बताए । तर, अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद लगाएर, अनेक ढंगले ट्रायल गरेर चुनाव नहुने समेत बास्कोटाले प्रष्ट पारे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *