
रुपन्देही । कपिलवस्तुमा नेपाली कांग्रेसबाट आगामी निर्वाचनका लागि उम्मेदार सिफारिसकै क्रममा लामो समयदेखि टिकट हात पार्दै आएका ‘चुनावी नेताहरु’ यो पटक सिफारिसमै परेका छैनन् । तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा २०४८ सालदेखि नेतृत्व गर्दै आएका दीपकुमार उपाध्याय अहिलेको सिफारिसमा परेनन् । उनले छोरा आशीष शर्मालाई अगाडि सारेर क्षेत्रको संसदीय राजनीतिबाट तत्कालका लागि बिदा लिएका छन् ।
उपाध्यायले त छोरालाई राखेर निर्णय गराए तर यहाँबाट कांग्रेसमा राम्रो जनमत भएका अतहर कमाल मुसलमान रहस्मय तरिकाले सिफारिसमा परेनन् । २०७० सालमा कांग्रेसबाट टिकट नपाएर स्वतन्त्र उठेर जितेका मुसलमानले लगत्तै शेरबहादुरलाई भेटेर कांग्रेसलाई साथ दिएका थिए । पूर्वकेन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि रहेका उनले आफ्नो क्षेत्रमा यो सिफारिसको बैठक बसेको समेत थाहा नपाएको बताउँछन् ।
‘२३ गतेसम्म क्षेत्रीय समितिको बैठक बसेर टुंगो लगाउने कुरा केन्द्रबाट सर्कुलर थियो तर हिजोसम्म बैठक नै बसेन, आज एकाएक मिडियामा अर्कैको नाम सिफारिस भएको सुनेको छु, यो वैधानिकता त छैन तर क्षेत्रीय सभापति किन गैरकानूनी ढंगले निर्णय गराए भन्ने हो, मैले तत्काल जिल्ला, प्रदेश र केन्द्रमा खबर गरेको छु यसरी पार्टी चल्दैन,’ उनले नेपाल प्रेससँग भने, ‘२०७० सालमा स्वतन्त्रबाट जितेपछि एमालेसहितका धेरै पार्टीले बोलाउँदा कांग्रेस नछोडी बसेँ, २०७४ मा पनि मलाई समानुपातिकमा राखेर दीपकुमारलाई दिएर चुनाव हारियो, २०७९ मा माओवादीलाई दिएर पुनः हारियो, अहिले पनि मलाई सूचनासमेत नदिई अवैधानिक सिफारिस गरियो ।’
उनका अनुसार २३ गतेसम्म सिफारिस गर्नुपर्नेमा २४ गते घरघरमा रजिष्टर डुलाएर आफू निकटलाई हस्ताक्षर गराइएको छ ।

क्षेत्र नम्बर ३ मा पनि २०७९ सालको निर्वाचनमा जितेका अभिषेक प्रताप शाह सिफारिसमा नै अटाएनन् । दक्षिणी क्षेत्रमा राम्रो जनमत भएका उनी अन्य उम्मेदारभन्दा युवा थिए तर पार्टीको फरक समूहमा परेकाले सिफारिसमै नअटाएका हुन् । त्यसैगरी २ नम्बर क्षेत्रमा पनि एकल सिफारिस भएन ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि आशीष शर्मा, शक्तिसिंह ठकुरी र ध्रुव नेपालको नाम जिल्ला कार्यसमितिमा सिफारिस पठाइएको क्षेत्रीय सचिव विजय खनालले जानकारी दिए । यस्तै, समानुपातिक मुस्लिमतर्फ वजी अर्सद खस आर्यतर्फ कमलेश कुमार शर्मा होमलाल पौडेल हरिराज घिमिरे लोकराज गिरी, बिमला गैरे, इन्द्रा भट्टराई, आदिवासी जनजातितर्फ ललित गुरुङ, गोविन्दी थारु, मधेसीतर्फ सुरेश शर्मा, चतुर्भुजीमणि त्रिपाठी, विशम्भर कुर्मी, समानुपातिक थारु क्लस्टरतर्फ पूर्णप्रसाद चौधरी, रामेश्वर थारु, तारावती थारु, दलिततर्फ लक्ष्मी नेपाली, राष्ट्रिय सभा पुरुषतर्फतर्फ राजेश आचार्य, भोला थारु, सोहरत तेली, जयसराम यादव, राष्ट्रिय सभा महिलातर्फ सुमित्रा शर्मा र अपाङ्गतर्फ कृष्णप्रसाद न्यौपानेलाई सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर २ मा भने विवादरहित तरिकाले नाम सिफारिस भएको छ । तर लामो समयदेखि यो क्षेत्रबाट राजनीति गरेका सुरेन्द्रराज आचार्य सर्वसम्मत हुनसकेनन् । यहाँबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ आचार्यसहित गोपीकृष्ण शर्मा, विक्रमसिंह थापा र रविन्द्रनाथ ठाकुरको नाम सर्वसम्मतिले सिफारिस गरिएको क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठले बताए । समानुपातिकतर्फ मीना केसी, रिना नेपाल, माया ज्ञवाली र फागुप्रसाद धोबीको नाम सिफारिस गरिएको छ ।
राष्ट्रिय सभा सदस्यतर्फ जवाहरलाल थारु, रेश्मिराज अधिकारी र दीपेन्द्रनाथ शुक्लाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति श्रेष्ठले बताए । क्षेत्रीय समितिले सिफारिस गरिएको नाम जिल्ला र प्रदेश समितिलाई पठाइने र यिनै नाममध्येबाट पार्टीले उम्मेदवार बनाउने उनको भनाइ छ। सिफारिस गरिएका नाममध्ये ८० प्रतिशतभन्दा बढी पाका उमेरका छन् ।
क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ वीरेन्द्रकुमार कनौडियाको एकल नाम सिफारिस भएको छ । उनले पूर्वमा जिल्ला विकास समिति उपसभापति, सांसद, प्रदेशसभा सदस्य र राज्यमन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् । समानुपातिक उम्मेदवारका लागि ब्रह्मानन्द उपाध्याय, अखिल मिया र तारा चौधरीको नाम जिल्ला कार्यसमितिमा पठाइने निर्णय भएको छ । क्षेत्र नम्बर ३ मा निवर्तमान प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहको नाम प्रत्यक्षतर्फ सिफारिस नभएपछि उनीसहितका नेताहरु आक्रोशित भएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले अलोकतान्त्रिक ढंगले बिरेन्द्र कुमार कनौडियाको मात्र एकल नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस गरेको भन्दै कांग्रेस नेता अभिषेकप्रताप शाहले नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्य समितिमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।


Leave a Reply