‘जेरी अन टप’ ले मेरो करिअरमा अर्को जग थप्यो’

काठमाडौं । गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ ले गएको शनिबार साँझ एफक्युब सिनेमाजमा प्रदर्शनको ५१औँ दिन मनायो। ५१औँ दिनको सेलिब्रेसन कार्यक्रममा निर्माण टीमले तीन तलाको केक काटेर खुसी साटासाट गर्‍यो। कार्यक्रममा चलचित्रका निर्देशक, निर्माता र कलाकारहरू उपस्थित थिए।

सेलिब्रेसनकै लागि भनेर नायक अनमोल केसी आफ्नो आगामी चलचित्र ‘बाटुलो जुन’ को छायाङ्कन सेटबाट, बाटुलो जुनकै गेटअपमा सिधै कार्यक्रममा पुगेका थिए। होम प्रोडक्सनको चलचित्र ‘बाटुलो जुन’ का कारण अनमोलका पिता अभिनेता भुवन केसी भने कार्यक्रममा उपस्थित हुन सकेनन्। सेलिब्रेसन कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री आँचल शर्मा पनि उपस्थित भइनन्। अस्वस्थताका कारण उनी कार्यक्रममा उपस्थित हुन असमर्थ रहिन् ।

प्रदर्शनको ५१औँ दिनसम्म आइपुग्दा ‘जेरी अन टप’ ले नेपाली बक्स अफिसमा १२ करोडमाथिको व्यापार गरेको छ। १२ करोडको व्यापार गरेसँगै यो चलचित्र अनमोलको एक दशक लामो करिअरकै सर्वाधिक कमाउने चलचित्रसमेत बनेको छ। व्यापारिक हिसाबले यो अनमोलको करिअरकै रेकर्ड ब्रेकिङ चलचित्र हो।

यो चलचित्र जति अनमोलका लागि खास छ, त्यति नै विशेष आँचलका लागि पनि छ। हुन त आँचलले यसअघि नै ‘नाई नभन्नु ल ४’, ‘शत्रुगते’ जस्ता रेकर्ड ब्रेकिङ चलचित्रहरू दर्शकलाई दिइसकेकी छिन्। तर पनि ‘जेरी अन टप’ को सफलताले आफ्नो करिअरमा एउटा सिँढी अझै थपिदिएको आँचलको भनाइ छ। यो चलचित्रले आफूलाई अझै धेरै दर्शकसँग जोडिदिएको आँचलले महसुस गरेकी छिन्।

धेरैलाई थाहा नहुन सक्छ, आँचलले ‘जेरी अन टप’ का लागि तीन राम्रा ब्यानरका चलचित्रहरू छाडेकी थिइन् । उक्त चलचित्रहरू हुन्- हर्ष, पीताम्बर र राम नाम सत्य । जसमध्ये ‘हर्ष’ र ‘पीताम्बर’ प्रदर्शन भइसकेका छन् भने ‘राम नाम सत्य’ आउने नेपाली नयाँ वर्षमा प्रदर्शन हुँदैछ।

‘जेरी अन टप’ का लागि यी तीनवटा चलचित्र छाडेकोमा आँचललाई कुनै गुनासो छैन। यसबारे उनी भन्छिन्, ‘आज जसरी जेरी अन टपले ५१ दिन दर्शकको साथ पाएको छ, यही मेरो लागि ठूलो सफलता हो। तीनवटा अन्य चलचित्रहरू छोडेर, मैले जुन मेरो समय यसमा लगानी गरेको छु, त्यो आज एकदमै फलदायी भयो। अरुको लोभमा मैले यो प्रोजेक्ट छोडेको भए वा बीचमा निस्केको भए, सायद मलाई पछुतो हुन्थ्यो।’

‘जेरी अन टप’ बाट आफूले अहिलेसम्म महसुस नगरेको दर्शकको माया र साथ पाएको आँचल बताउँछिन्। उनी भन्छिन्, ‘मैले आजसम्म यत्रा चलचित्रहरू गरेँ तर कहिले पनि दर्शकले मेरो क्यारेक्टरलाई यसरी रुचाइदिनुभएको थाहा थिएन। शत्रुगतेमा सन्ध्या र झिँगेदाउमा राधालाई माया गर्दिनुभएको थियो तर यसपटक श्रेयालाई अत्यधिक नै माया गर्दिनुभयो। यो मेरो त्यस्तो उपलब्धि हो, जुन सायद मैले अरु फिल्मबाट पाउँदिनथेँ।’

तीनवटा चलचित्र छाडे पनि आँचलले फ्री भएर बस्न भने पाएकी छैनन्। अहिलेको पुस्ताकी व्यस्त नायिकाका रूपमा गनिने उनी हाल ‘झिँगेदाउ २’ को छायाङ्कनका लागि निस्किएकी छिन्। छिट्टै नै उनको अर्को चलचित्र ‘एकमुठी बादल– माई सेयर अफ स्काई’ पनि प्रदर्शनमा आउँदैछ। उनी अभिनित यो चलचित्र फेस्टिबल फिल्म भएकाले, पहिला बाहिर रिलिज भएर मात्र नेपालमा प्रदर्शन हुनेछ।

आँचलका लागि यहाँ अर्को खुसीको कुरा के छ भने, यसै वर्ष उनको अभिनय करिअरले १० वर्ष पूरा गरेको छ। वर्ष २०१५ मा ‘नाई नभन्नु ल ४’ बाट उनले सिने जगतमा पाइला टेकेकी थिइन्। अहिले ‘जेरी अन टप’ सफल भइरहँदा उनको अभिनय करिअरले १० वर्षको यात्रा पूरा गरेको हो। सोही कारण पनि उनका लागि ‘जेरी अन टप’ थप विशेष बनेको छ।

आफ्नो अभिनय करिअरको १० वर्ष पुग्दा, दर्शकलाई उनले दिएको हिट चलचित्र ‘जेरी अन टप’ बाट उनी कति खुसी छिन्? अनमोलको नाम र प्रेम चर्चाका कारण कतै उनी ओझेलमा त परिनन् ? चलचित्र सफल हुँदा उनलाई कति प्रेसर छ ? यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानी नेपाल टकमा-

– अभिनय करिअरको १० वर्ष पुग्दा कस्तो महसुस गर्नुभएको छ ?

एकदमै खुसी छु। कति खुसी छु भन्ने कुरा म शब्दमा व्यक्त गर्नै सक्दिनँ। दर्शकले मलाई गर्नुभएको मायाको ऋण म कहिले तिरेर सक्दिनँ। आजसम्म मलाई माया र साथ दिनुहुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। र आउने दिनमा पनि यसरी नै साथ र माया दिनुहुनेछ भन्नेमा म विश्वस्त छु। सबै भगवान्‌रूपी दर्शकलाई म मनैबाट नमन गरी धन्यवाद दिन चाहन्छु।

– तपाईँ ‘जेरी अन टप’ को केही हल भिजिटमा छुट्नुभएको थियो। ५१औँ दिनको सेलिब्रेसनमा पनि देखिनुभएन। किन?

होइन, म प्रायः सबै ठाउँमा नै सँगै थिएँ। अष्टनारायण हल, थ्याङ्क्यु हल भिजिट र ५१औँ दिनको सेलिब्रेसनमा भने छुटेँ। यो तीनवटै समयमा म थोरै अस्वस्थ भएँ। त्यही भएर चाहेर पनि पुग्न सकिनँ।

– आफ्नो अभिनय यात्राको १० वर्षमा फेरि एकपटक हिट चलचित्र दिनुभएको छ। तर यसपटक अनमोलको नाम र स्टारडमले आफू केही छायामा परेजस्तो महसुस भएको छ?

छैन। तपाईंले मिडियामा प्रायः ‘अनमोलको जेरी अन टप’ भनेर आइरहने भएकाले मलाई यो प्रश्न गर्नुभएको होला। त्यस्तो लाग्नु स्वाभाविक पनि हो तर मलाई त्यस्तो केही महसुस भएको छैन। किनभने काम हेर्नुभएको दर्शकहरूले सबैलाई नै सम्झिरहनुभएको छ। ‘जेरी अन टप’ भन्नासाथ दर्शकले हामी तीनजनाकै क्यारेक्टर सम्झिनुहुन्छ। उहाँहरूले मेरो श्रेया क्यारेक्टरलाई रुचाइदिनुभएको छ।

यो चलचित्रका कारण हाम्रो इन्स्टाग्राममा प्रोफाइल भिजिट नै मिलियन–मिलियन पुगेको छ। मैले अथाह माया पाइरहेकी छु। त्यही मेरो लागि ठूलो कुरा हो। र अर्को कुरा भनेको यो हाम्रोभन्दा पनि अनमोलको जेरी अन टप हो। यो उसकै कथा हो। त्यसैले जता पनि उसको नाम आउनु स्वाभाविक हो। यसमा छायामा पर्ने भन्ने नै हुँदैन।

– ‘जेरी अन टप’ का लागि राम्रा तीनवटा ब्यानरका चलचित्रहरू छोड्नुभयो। त्यो छोड्न जरुरी थियो ?

खासमा ‘जेरी अन टप’ रिलिज हुन डेढ वर्ष लाग्यो। मैले मात्र होइन, हामी सबै कलाकारले, हाम्रो डेढ वर्षको पूरा समय यही चलचित्रलाई दिएका छौँ। यो बीचमा मैले अफर आएका अन्य प्रोजेक्टहरू गर्नै सकिनँ। एउटा कलाकार भएको हिसाबले मलाई टाउकोमा धेरै कुराको बोझ लिएर हिँड्न मन लाग्दैन। एउटा सेटमा एउटा क्यारेक्टरको जिम्मेवारी लिइसकेपछि, फेरि अर्कोतर्फ अर्को क्यारेक्टरमा जम्प गर्दै यता र उता गरिरहँदा दुइटै पात्रलाई न्याय हुँदैन। त्यस्तो म गर्दिनँ पनि। त्यही भएर अरु चलचित्र छोडेको हो ।

– आज चलचित्रले १२ करोडको आँकडा पार गरी ५१औँ दिन मनाएको छ। यो सफलतालाई कसरी लिनुभएको छ ?

मैले अहिले ‘जेरी अन टप’ को सफलतालाई एउटा जगको रूपमा लिएको छु। जग जति बलियो भयो, पिलर त्यति नै थपिँदै जान्छ। ‘जेरी अन टप’ दोस्रो हप्ताबाट राम्रो चल्दै गर्दा नै, मलाई अन्य प्रोजेक्टको स्क्रिप्टहरू सुनाउन धेरैले सम्पर्क गर्नुभएको थियो। भेट्न खोज्नुभएको थियो। त्यही भएर यो मेरो करिअरको अर्को एउटा जग थप्ने चलचित्र हो।

– चलचित्रले यतिको सफलता पाएपछि अब अर्को चलचित्र छानेर गर्न कत्तिको प्रेसर हुन्छ ?

हुन्छ नि। अहिले मलाई कहिल्यै मेसेज नगर्नुहुने दर्शकहरूले ‘तपाईंको जेरी अन टप हेरेँ, तपाईंको काम एकदमै राम्रो लाग्यो, अब तपाईंको सबै फिल्म हेर्छु, राम्रो फिल्महरू खेल्नु है’ भनेर धेरै मेसेजहरू गरिरहनुभएको छ। यस्तो अवस्थामा अब मैले राम्रो कन्टेन्ट छानेर राम्रो चलचित्र गरिनँ भने, मेरो दर्शक मसँग निराश हुनुहुन्छ। जसले गर्दा मलाई पनि मजा आउँदैन। त्यही भएर एक प्रकारको प्रेसर चाहिँ हुँदो रहेछ।

– आफूलाई चाहिँ ‘जेरी अन टप’ बाट आफ्नो जति चर्चा हुनुपर्ने थियो, त्यति चर्चा भएजस्तो लाग्छ ?

मैले भनेँ नि, म पत्रकारले लेखिरहेको न्युज वा समाचारमा के क्याप्सन आउँछ भन्ने सोचेर काम गर्दिनँ। त्यो भनेको मलाई एकछिनको ताली अनि एकैछिनको गाली हो जस्तो लाग्छ। त्यो मनको एकछिनको सन्तुष्टि मात्र हो। मलाई अहिले यो फिल्मपछि अझै धेरै मान्छे कमाएजस्तो लाग्छ। मलाई कहिल्यै टेक्स्ट अनि फलो नगर्नुभएको मान्छेहरूले अहिले आएर ‘म आँचलको फ्यान भएँ’ भनेर लेखिरहनुभएको छ। मेरो कामको तारिफ भइरहेको छ। कति पछि नयाँ प्रकारको मायाको महसुस भइरहेको छ। यही मेरो जित हो। यसैका लागि त मैले काम गरेको हो ।

– जताततै अनमोल–जसिताको प्रेम चर्चा भइरहँदा, कार्यक्रममा सबै सँगै हिँड्दा भने प्रेम चर्चाभन्दा बढी चलचित्रको कुरा भइदिए हुन्थ्यो जस्तो लाग्दैनथ्यो ?

मैले उहाँहरूसँग हिँडिरहँदा के महसुस गरेँ भने, यहाँ कति त्यस्ता दर्शकहरू हुनुहुँदो रहेछ जो उहाँहरूलाई रियल लाइफ कपलको रूपमा हेर्न चाहनुहुँदो रहेछ। उहाँहरूको जोडीलाई दर्शकले रुचाइरहनु पनि भएको छ। त्यही भएर पनि युट्युबमा कन्टेन्टहरू आइरहँदा, दर्शकलाई मनोरञ्जन मिल्छ भनेर पनि उहाँहरूको नाम जोडिएको हुन सक्छ। यो पनि एक लेभलको चलचित्रकै प्रचार सोच्छु म।

– तपाईँहरूको जोडीलाई पनि दर्शकले उत्तिकै रुचाउनुभएको छ। तपाईँ र अनमोलको फेरि सहकार्य हुने सम्भावना कति छ ?

हामीलाई सेटमा हुँदा पनि सबैले हाम्रो जोडी कस्तो सुहाएको भनेर भन्ने गर्नुहुन्थ्यो। पछि फिल्म आएपछि दर्शकले पनि उत्तिकै रुचाइदिनुभयो। त्यसैले, मिलेसम्म र हामी दुईलाई मध्यनजर गरेर कसैले कथा तयार पार्नुभयो भने, अर्को प्रोजेक्टमा फेरि अवश्य सहकार्य हुन्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *