
काठमाडौँ । नेकपा एमाले मकवानपुरका उपाध्यक्ष एवम् भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पार्टीका ४ वटा महाधिवेशनलाई समीक्षा गर्दै मूल नेतृत्वलाई छिर्कने नहान्न अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा फेसबुकमा मुलुक असामान्य परिस्थितिमा रहेको र पार्टी चौतर्फी घेराबन्दीमा रहेको बताएका छन् ।
विगतमा युवासंघको केन्द्रीय कोषाध्यक्ष भइसकेका लामा दुई कार्यकाल मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्ष भइसकेका छन् भने हाल मकवानपुर पार्टी उपाध्यक्षका रुपमा क्रियाशील छन् । अध्यक्ष श्रीधर पोखरेल स्वास्थ्य उपचारमा भएकाले जेन्जी आन्दोलनपछि पार्टीको जिल्ला नेतृत्वमा लामाले नै काम गरिरहेका छन् । उनले भनेका छन्, ‘नेतृत्व निर्माणक्रममा हुने प्रतिस्पर्धाले ११ औँ महाधिवेशन पनि विगतको निरन्तरता होला कि भन्ने आशंका बोकेर देशभरका पार्टी सदस्यहरुको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ जम्मा हुँदैछन् । भूइँ थेग्ने पार्टी सदस्यहरुको भावनाको सम्मान होस् । मुलुक असामान्य परिस्थितिमा छ । चौतर्फी घेराबन्दीमा छ । सार्वभौमिकता र स्वाधीनताको युद्धमा छौँ । युद्धका बेला मैदानमा सेनापतिलाई छिर्कने नहानौँ ।’
उनले लेखेका छन्, ‘२०७१ असार १९ देखि साउन १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिलाई संस्थागत गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौँ ! भन्ने मूल नाराका साथ नवौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो भने ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ २०७८ मसिर १०–१३ चितवनमा सम्पन्न १० औँ महाधिवेशनमा यो नारा तय गरेका थियौँ ।’
मकवानपुरको निर्वाचन क्षेत्र २ बाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत हुँदा उपाध्यक्ष लामा पनि महाधिवेशन प्रतिनिधि भएका छन् । उनले भनेका छन्, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नाराका साथ हामी ११ औँ महाधिवेशनको संघारमा छौँ । नवौँ र १० औँमा प्रतिस्पर्धा गर्नु भएका पार्टीलाई नेतृत्व गरिसकेका र एमाले पार्टी बाटै पटकपटक सांसद, मन्त्री, प्रधानमन्त्री हुनुभएका कतिपय नेताहरुबाटै विग्रह ल्याउने काम भयो । आठौँका विजेता, नवौँ र १० औंका उपबिजेता यो पार्टी निर्माणमा उहाँहरुको ठूलो योगदान थियो तर आज उहाँहरु जीवनको ऊर्जाशील समय कठिन यात्राहरु पार गरी निर्माण गरेको पार्टी छोडेर बरालिनु भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने हाम्रो अभियानलाई साकार बनाउन एमाले दह्रो र सुदृढ हुनुपर्छ । महाधिवेशनले सोही अनुरुपको एकताबद्ध सर्वसम्मत नेतृत्व निर्माण गरौँ ।’
जेन्जी आन्दोलनमा मकवानपुर एमाले पार्टी कार्यालयका अलावा लामाको घरमा पनि आगजनी र तोडफोड भएको थियो । जेन्जी आन्दोलन घटना जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की हेटौँडा आउँदा पीडितहरुको पक्षमा काम नगरेको, आगजनी र अपराध गर्नेहरुलाई राज्यले, अझ गृहमन्त्रीले नै कारबाही गर्न रोकेको कुरा कैयौँ सिडिओ र एसपी साबहरुले बताउनु भएको भनेर लामाले नै पहिलोपटक वास्तविकता बोलेका थिए । उनले आयोगका अध्यक्ष कार्कीलाई राखेको जिज्ञासापछि आयोगका पदाधिकारी देशभर जाँदा एक हिसाबले राजनीतिक नेतृत्वको कठोर प्रहार सहन बाध्य भएको थियो । लामा यो कठिन परिस्थितिमा एकतावद्ध सामुहिकता झल्कने नेतृत्वको पक्षमा उभिएका छन् र मूल नेतृत्वमाथि प्रहार गर्ने काम रोक्न सबैलाई आग्रह गर्छन् ।

Leave a Reply