
कैलाली । जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको घर जलाउने विरुद्ध किटानी जाहेरी परेको छ ।
गत २४ भदौमा भीमदत्त नगरपालिका–६, ऐठपुरस्थित एमाले पोलिटब्युरो सदस्यसमेत रहेका एमाले सुप संसदीय दलका नेता रावलको घर जलाउने, तोडफोड एवं लुटपाट गर्ने आठ जना विरुद्ध किटानी परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।
‘विभिन्न आठ जनाविरुद्ध किटानी जाहेरी आएको छ । हामीले दर्ता गरेर अनुसन्धान र छानबिन गरिरहेका छौँ ’ प्रवक्ता बोहराले भने, ‘दोषी प्रमाणित भए कानुनी कारबाही हुन्छ ।’
यसअघि जिल्ला सरकारी वकिल कार्यालयसहित १० सरकारी कार्यालय आगजनीविरुद्धको उजुरी प्रहरीमा आएको थियो । ती छानबिनको लागि जाहेरी आएपनि यसपटक भने व्यक्तिको नाम नै किटान गरेर जाहेरी परेको हो ।
आगजनीमा संलग्नहरूको पहिचान हुन ढिलाइ भएकाले तीन महिनापछि मात्रै किटानी दिएको पूर्वमुख्यमन्त्री रावलका छोरा नितेश रावलले बताए ।
घरमा तोडफोड, लुटपाट एवं आगजनीमा संलग्नहरूमाथि कडा कारबाही हुनुपर्ने उनले बताए ।
‘हाम्रो घरमा आएर तोडफोड, लुटपाट एवं आगजनीमा संलग्न भएको भिडियो, फोटोका आधारमा १५–२० जनाको नाम सङ्कलन गरेर मुख्य नाइके घरभित्र छिरेर आगजनी, तोडफोड लुटपाट गर्ने विरुद्ध किटानी दिएका छौँ,’ उनले भने, ‘हामी कानुनी तवरले अघि बढेका छौँ, अझै पनि फोटो, भिडियो चिनेका छैनौँ, थप दिन्छौँ ।’

Leave a Reply