मुक्ति दिवसमा जननायक रामप्रसाद राईको योगदान चर्चा

काठमाडौं । जननायक रामप्रसाद राईको ७५औँ मुक्ति दिवसको अवसरमा विविधक कार्यक्रम गरिएको छ । यसैअवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले एक परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी कार्यक्रम गर्‍यो ।

कार्यक्रममा बुद्धिजीवी, राजनीतिककर्मी, अध्ययनकर्ता तथा विविध क्षेत्रका अगुवाहरूको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि एमाले नेता एवं कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले जननायक रामप्रसाद राईको योगदान नेपाली इतिहासमा असाधारण र अविस्मरणीय रहेको बताए ।

राईले जहानियाँ राणा शासनबाट भोजपुर जिल्लालाई रक्तपातबिना मुक्त गराउन सफल भएको ऐतिहासिक प्रसङ्ग स्मरण गर्दै उनले यो दिवसलाई नेपालकै स्वतन्त्रता-सङ्घर्षको महत्त्वपूर्ण अध्यायका रूपमा अङ्कित गर्नुपर्ने आवश्यकता औँल्याए ।

राईले भने, ‘नेपालको इतिहासमा आजको दिन विशेष रूपमा दर्ज छ । रामप्रसाद राईजस्ता साहसी, दूरदर्शी तथा जनताको हक-अधिकारका लागि समर्पित व्यक्तित्वलाई स्मरण गर्नु हाम्रो कर्तव्य हो । राष्ट्र, राष्ट्रियता र नागरिक स्वतन्त्रताका लागि पुर्‍याउनुभएको उहाँको योगदान अतुलनीय छ ।’

अन्य वक्ताहरूले पनि रामप्रसाद राईले राणा शासनविरुद्ध देखाएको साहस, नेतृत्व क्षमता र जनताका पक्षमा गरेको जोखिमपूर्ण भूमिकाको चर्चा गरे ।

प्रतिष्ठानले राईको जीवन, सङ्घर्ष, आदर्श र नेतृत्व झल्किने विशेष वृत्तचित्रसमेत प्रदर्शन गरेको थियो । वृत्तचित्रमा राईद्वारा सञ्चालन गरिएका आन्दोलनहरू, स्थानीय जनसमुदायसँगको सम्बन्ध, राणाविरोधी गतिविधिहरू तथा भोजपुर मुक्ति अभियानका दुर्लभ ऐतिहासिक सामग्री समावेश थियो ।

संस्थाका अध्यक्ष कर्ण घलेको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा टिकाराम चेमजोङ्, प्राडा गोविन्दमानसिंह कार्की, प्रा. रामकुमार बान्तवा, राससका महाप्रबन्धक सन्दीप राई, भोगिराज चाम्लिङलगायतको सभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *