
काठमाडौं । भदौ २३ र २४ को जेन–विद्रोहका क्रममा निर्वाचन आयोगलाई क्षतिबाट जोगाउने सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश कोइरालालाई निर्वाचन आयोगले सम्मान गरेको छ ।
तत्कालीन सशस्त्र प्रहरी बल बाघभैरब गुल्म काठमाडौंलाई आयोगले सम्मान गरेको हो । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गुल्मपति कोइरालालाई सम्मान गर्दै आयोगको सुरक्षामा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको बताए ।
गत भदौ २४ गते काठमाडौं–२७ कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा तोडफोड र आगजनीको प्रयास भएपछि तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालाको कमाण्डमा खटिएको टोलीले प्रदर्शनकारीहरुलाई अगाडि बढ्न नदिई मुख्य गेटको केहीभित्र रोकी सम्झाई बुझाई गरेको सशस्त्र प्रहरीको सूचना विभागले जनाएको छ ।
निर्वाचन आयोग परिसरमा रहेको गुल्म हालै गणमा स्तरोन्नति भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १८ बाघभैरब गणले फागुन २१ गते घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई मध्य नजर गर्दै निर्वाचन सम्बन्धी दल दर्ता, दल दर्ता प्रमाण–पत्र वितरण लगायतका विभिन्न गतिविधि एवं आयोग परिसरको निरन्तर रुपमा सुरक्षा प्रदान गर्दै आइरहेको जनाएको छ ।
सम्मान कार्यक्रममा आयुक्त डा. जानकी तुलाधर, सचिव महादेव पन्त, प्रवक्ता सह–सचिव नारायणप्रसाद भट्टराईलगायतको उपस्थिति थियो ।

Leave a Reply