
चाणक्यले भनेका थिए, ‘यदि सबैले एउटै नेतामाथि प्रहार गर्छन् भने, सम्भवतः त्यो शासक सत्यको बाटोमा छ।’ वर्तमान नेपालको राजनीतिक अवस्थालाई चित्रित गर्दै नेपाली राजनीतिक आकाशका प्रभावशाली व्यक्तित्व केपी शर्मा ओलीको सन्दर्भमा यो उक्ति सान्दर्भिक छ ।
आन्तरिक राजनीतिको चक्रव्यूह
नेकपा एमालेको संसदीय दलको नेतामा तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गरेपछि २०७१ साल असारमा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनमा माधव नेपाललाई पराजित गर्दै केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षका रूपमा निर्वाचित हुनुभयो। दासढुङ्गा जिप दुर्घटनामा जननेता मदन भण्डारीको निधनपछि एमालेले विचारधारात्मक स्पष्टता पाए पनि पार्टी नेतृत्वचाहिँ कुनै विषयमा पनि धारणा बनाउन नसक्ने ‘हिलोको किलो’ जस्तै थियो।
कुनै बेला ‘न पोथी न भाले’ सम्म भन्ने भाष्य निर्माण भयो। तर, सधैँ ओझेलमा पारिनुभएका ओली एमालेको नेतृत्वमा आउनुभयो। सुदृढ सङ्गठन र जबजको मार्गदर्शनमा विचारधारात्मक स्पष्टता पाएपछि एमाले नेपालकै सबैभन्दा ठूलो दल र कम्युनिष्ट दलका रूपमा स्थापित भयो।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले नेपालीको घर मात्र होइन, मन पनि ढलेको थियो। २०७२ असोज ३ गते ६ दशकभन्दा लामो प्रतीक्षापछि दोस्रो संविधानसभा मार्फत नेपालीले आफ्नो संविधान आफैँले लेखेर जारी गर्न सफल भए। सबैलाई थाहा भएकै विषय हो, नेपालको संविधान जारी गर्न नदिन छिमेकी भारतले निकै ठूलो दबाब दियो। अरु दल र नेतृत्व भारतसामु लम्पसार पर्न थाल्दा ओलीको चट्टानी अडानले मात्र नेपालको संविधान जारी भयो। संविधानसभा मार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो, नेपालको संविधान जारी भएपछि ओली प्रथम पटक देशको प्रधानमन्त्री हुनुभयो। तर, भारतले नेपालमाथि अघोषित नाकाबन्दी गर्यो।
एकातर्फ भूकम्पको पीडा, अर्कोतर्फ नाकाबन्दी दुवैलाई सामना गर्नुपर्ने नै थियो, ओलीको राष्ट्रियताप्रतिको अडानमा नेपाली जनताको अभूतपूर्व साथ र समर्थन थियो। नेपालमाथि लगाएको नाकाबन्दी नहटाएसम्म भारतको भ्रमण नगर्ने दृढता र नेपाल सधैँ भूपरिवेष्ठित रहिरहनु हुँदैन भनेर अर्को मित्रराष्ट्र चीनसँग पारवहन सन्धिमा हस्ताक्षर गरेर देशलाई ‘भू–जडित’ राष्ट्रका रूपमा अघि बढाउने काम ऐतिहासिक थियो नै। नेपालीलाई सम्मानपूर्वक विश्वसम्मको पहुँच पुर्याउन ओलीको भूमिका स्वर्ण अक्षरले लेखिएको छ। अनि, रचियो चक्रव्यूह। ९ महिनामै ओलीलाई सत्ताच्युत गरियो, भूराजनीतिक जटिलता र संविधानको त्यान्द्रो समातेर प्रचण्डरूपी अस्थिरताका बुख्याँचालाई तयार पारियो, जो भारतलाई ‘कम्फर्टेबल’ थिए।
नेपाली कांग्रेस सधैँ कम्युनिष्ट पार्टीहरू लडाएर सत्ताको राज गर्थ्यो। ‘भाइ फुटे, गवार लुटे’ भन्ने सत्यतालाई बुझेर ओलीकै पहलकदमीमा २०७४ सालको आम निर्वाचनपूर्व एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन गरेर जाने र पछि पार्टी एकतासम्म गर्ने सहमति भयो। उक्त निर्वाचनमा एमाले पहिलो दल र माओवादी केन्द्र तेस्रो दलका रूपमा स्थापित भयो। पवित्र उद्देश्यसहित पार्टी एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी नामकरण गरियो। दुई पाइलटले नेतृत्व गर्ने गरी ओली र प्रचण्ड अध्यक्ष भए।
झन्डै दुई तिहाइको सरकार बनाएर नेपाली समाजवादको मौलिक कार्यक्रम ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने आधारहरू तय गर्न अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक बनाउँदै सङ्घीयताको आधारस्तम्भ तयार गर्ने कामको थालनी भयो। हो, पक्कै पनि हामीले सोचेजति परिवर्तन भएको छैन होला। लगभग अधिकांश तुइन विस्थापित भएका छन्, आज सबै जिल्लाका सदरमुकाम सडक सञ्जालसँग जोडिएका छन्। ठूला नदीमा ठूल्ठूला पक्की पुल बनेका छन्।
फास्ट ट्र्याकमा दुई ठूला पहाड जोड्ने भीमकाय पुल बनिरहेका छन्। देशमा हजारौँ झोलुङ्गे पुल, सयौँको सङ्ख्यामा मोटरेबल पुल बनेका छन्। ४–५ जिल्लाबाहेक ७० भन्दा धेरै जिल्ला घुम्दाको मेरो अनुभवले पूर्व–पश्चिम, हुलाकी, मदन भण्डारी, पुष्पलाल, बीपी राजमार्गहरू, तमोर, गण्डकी, कर्णाली करिडोर र सुरुङ मार्गहरूले सुखद् भविष्यको आभास गराउँछन्, देश विकासको युगमा प्रवेश गरेको छ।
ओलीले लिपुलेकसहितको चुच्चे नक्सा संविधानमा लेखाउन राष्ट्रिय सहमति कायम गराउन सफल भए र नेपालको संसद्बाट चुच्चे नक्सा देखाउँदै भारतलाई ‘सत्यमेव जयते कि सिंहमेव जयते ?’ भनेर प्रश्न गरेका थिए। यसैबीच ०७७ को प्रारम्भदेखि नै विश्व कोभिड महामारीले आक्रान्त भयो, यो महामारीबाट हाम्रो देश पनि अछुतो रहन सकेन। तर, पार्टीभित्र फेरि ओलीलाई अपदस्थ गर्ने खेलो सुरु भयो। सिङ्गो पार्टी कब्जा गर्न पूर्वमाओवादीका प्रचण्ड र पूर्वएमालेका स्वार्थ समूह माधव–झलनाथहरू लागिपरे।
ओलीको बढ्दो लोकप्रियता देखेर प्रधानमन्त्रीबाट हटाउन संसदीय दलको नेता र पार्टी साधारण सदस्यबाट हटाउन कारबाही गराउन हात धोएर लागे। तर, सर्वोच्च अदालतको निर्णयले नेकपा विभाजन गराइदियो र फेरि एमाले र माओवादी केन्द्र ब्युँताइदियो। सत्यसँग नलड्ने शक्तिसँग नझुक्ने सङ्कल्प बोकेका ओलीलाई सिध्याउनका लागि रचिएका सबै चक्रव्यूहहरू तोडिए। नेकपाको मूलप्रवाह ओलीसँग रह्यो, जहाँ माओवादीका धेरै नेता–कार्यकर्ता समाहित भए। तर, एमालेलाई कमजोर बनाउन र जसरी पनि प्रचण्डको कार्यकर्ता बन्न माधव–झलनाथहरूले पार्टी फुटाए। त्यो समूहलाई एकीकृत समाजवादी नामकरण गरे।
चक्रव्यूहको तानाबाना त्यतिमा सीमित थिएन। ०७८ मा एमालेलाई कमजोर बनाउन सर्वोच्च अदालतलाई प्रयोग गरेर परमादेशबाट देउवा नेतृत्वको सरकार बनाइयो। जहाँ प्रचण्ड, माधव नेपालहरूले काँध थापे। अदालतको सहारामा ओलीलाई अपदस्थ गरियो र एमालेलाई कहिल्यै सरकारमा फर्किन नदिने प्रण गरियो।
२०७९ सालको स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म महागठबन्धन गरेर कांग्रेस–माओवादीदेखि एकीकृत समाजवादीसम्म एकै ठाउँमा उभिएर एमालेलाई धुलोपीठो बनाइदिने, ‘टर्च बालेर खोज्नुपर्ने’ बनाइदिनेजस्ता अभिव्यक्ति दिन थाले। तर, ओली र एमालेलाई नेपाली जनताप्रति भरोसा थियो, जस्तोसुकै घेराबन्दीका बाबजुद लोकप्रिय दलका रूपमा एमाले रह्यो। प्रत्यक्षतर्फ दोस्रो ठूलो दलका रूपमा स्थापित भयो।
३२ अङ्कको म्याजिकल नम्बर रहेको भनेर जग हँसाउने विघटित संसद्को तेस्रो ठूलो दलका संसदीय दलका माओवादी नेता प्रचण्ड कहिले कांग्रेस त कहिले एमालेको बुई चढेर प्रधानमन्त्री भए। प्रचण्डको अस्थिर चरित्रका कारण कांग्रेस–एमालेले सत्ता समीकरण गर्दा राजनीतिक स्थिरताको लागि संविधान संशोधनमार्फत स्थायित्वको पहल गर्न ओली नेतृत्वमा दुई तिहाइको सरकार गठन भयो। थिलथिलो पारिएको अर्थतन्त्र चलायमान हुँदै थियो। यसैबीचमा पटक–पटक ओलीलाई हटाउन अनेकन प्रपञ्च रचियो। दुर्गा प्रसाईंहरू व्यवस्था उल्टाउन लागे। प्रचण्डहरू ‘सरकार आज ढल्छ, भोलि ढल्छ’ भन्दै देउसी खेल्न लागे। कांग्रेसभित्रका प्रतिक्रियावादी पनि स्वरमा स्वर मिसाउन थाले। तर, कसैको दाल गल्ने अवस्था रहेन।
जेन–जी आन्दोलन र चक्रव्यूह
२३ गते जेन–जी आन्दोलन सुरु हुँदा दुई माग अघि आयो। एउटा– भ्रष्टाचार नियन्त्रण र सुशासन। र, अर्को– बन्द भएको सामाजिक सञ्जाल खुलाउने। तत्कालीन प्रधानमन्त्री ओलीको राजीनामा मागिएको थिएन। जब आन्दोलन उठ्यो, त्यसपछि विभिन्न स्वार्थ समूहमध्ये केहीले प्रत्यक्ष निर्वाचित कार्यकारी र सङ्घीयता खारेजीको त कसैले राजतन्त्र पुनःस्थापनाको माग राखे। केहीले धर्मनिरपेक्षता खारेज गरेर हिन्दू राष्ट्रको माग गरे। यी कुरा जेन–जी आन्दोलनको मूल मर्मभित्र थिएनन्। भूराजनीतिक आवरणमा नवपुस्ताको आन्दोलनलाई ‘ह्याइज्याक’ गर्ने काम भयो।
विशेषगरी नेपाली कांग्रेसको गगन–शेखर समूह, माओवादी, रास्वपा, दुर्गा प्रसाईं र राजावादीका कार्यकर्ता खुलेआम आन्दोलनमा घुसपैठ गरिरहेका थिए। युवा पुस्तालाई सिर्जनाको संवाहक बनाउनुपर्नेमा स्वार्थ समूहले रणमैदानमा ढाल बनाएर सत्ता हत्याउने योजनामा सरिक बनाइयो। ओली नेतृत्वको सरकार पनि ढल्यो। अनि, सुरु भयो देशलाई भड्खालोमा हाल्ने प्रपञ्च। ७४ वर्षीया सुशीला कार्कीलाई असंवैधानिक अन्तरिम सरकारको जिम्मा लगाइयो र संसद् भङ्ग गरियो। आज देश असामान्य र जटिल परिस्थितिमा फसेको छ।
संविधान च्यातेर व्यवस्था उल्टाउने प्रतिगामी सोचका विदेशीका मतियारहरूले देशलाई अस्थिरताको भुमरीमा पारेका छन्। सरकार गठनमा बारबरा फाउण्डेशन लगायतका संस्थाको सिफारिसका साथै स्वतन्त्र तिब्बत पक्षधरहरूका अस्वाभाविक गतिविधि तीव्र गतिमा बढेको छ। जब जननिर्वाचित संस्था मासेर हामी भिडको पछि लागेर समाधान बाहिर खोज्न थाल्दछौँ, थप समस्या पैदा हुन्छन्। आन्दोलनलाई सम्झौतामा लगेर टुङ्ग्याउन सकिन्थ्यो। प्रत्यक्ष निर्वाचित कार्यकारी र अन्य विषयलाई संविधान संशोधनमार्फत एउटा मार्गमा डोर्याउन सकिन्थ्यो ।
तर, यहाँ ओलीलाई मार्ने योजना बनेको प्रष्ट हुन्छ। देउवा दम्पतीमाथिको आक्रमण अस्वाभाविक थियो। देशका ऐतिहासिक धरोहर सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन जलाउने काम भयो। देशभरिका स्थानीय र प्रादेशिक संस्थालाई खरानी बनाइयो, विशेष त एमालेका नेता–कार्यकर्ताको घरमा आगजनी, तोडफोड र लुटपाट मच्चाइयो। २४ घण्टामा नेपाल प्रहरीलाई घुँडा टेकाउने काम भयो। अर्को चक्रव्यूह यसरी रचियो कि, ओलीलाई अपदस्थ गर्ने मात्र होइन, इहलीला नै सकाउने योजना बनाइयो– प्रचण्डकै शब्दमा ‘जलाइयो–जल्यो’।
वर्तमान अवस्थामा आज नेपाली कांग्रेसको ठूलो पङ्क्ति गगन–शेखर–विश्वप्रकाशलगायत, प्रचण्ड, माधव नेपाल, झलनाथ, वामदेव, भीम रावलहरू गोलबन्द भई पुनर्गठित नेपाली कम्युनिष्ट पार्टी, लोकप्रियतावादको छाता ओढेर आएका रवि लामिछाने, बालेन साह, हर्क साम्पाङ, कुलमान घिसिङ, दुर्गा प्रसाईं, राजावादीहरूसहित सबै ओलीलाई गालीमा आफ्नो भविष्य देख्नेहरू अहिले पनि हात धोएर लागेकै छन्।
मिडिया र सामाजिक सञ्जालको चक्रव्यूह
सामाजिक सञ्जालको दुरुपयोग गरी ‘मिस इन्फर्मेसन’ र ‘डिस इन्फर्मेसन’ मार्फत जनतामा भ्रम फैलाएर ओली र एमालेलाई कमजोर देखाउन भरमग्दुर प्रयास गरिरहेका छन् नै। जेन–जी विद्रोहको बेला एउटा सर्वेक्षणले ३५ प्रतिशत फेक आईडीमार्फत निश्चल युवा मस्तिष्कमा नकारात्मक सूचना भर्ने काम भयो, बालबालिकालाई असाध्यै माया गर्ने ओलीका भिडियोका क्लिप–क्लिप जोडेर जेन–जी विरोधी ओली भनेर भ्रमको खेती मच्चाइयो। एक वर्षयता सार्वजनिक कार्यक्रममा एक–दुई जना रास्वपा र बालेन समर्थकमार्फत घुसपैठ गर्ने काम हुन थाले। चक्रव्यूहको अर्को घेरो बनायो। तर, चुच्चे नक्सा, धरहरा, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सुरुङ मार्गहरूका विषयमा जति भ्रमको खेती गर्न खोजे पनि नेपाली जनता जानकार नै छन्।
भूराजनीतिको चक्रव्यूह
भूराजनीतिक चलखेलको सबैभन्दा ठूलो प्रहारमा एमाले परेको छ। यसको मूल नेतृत्वमाथि प्रहार भएको छ। ओलीको राष्ट्रवादी धारणा विदेशी स्वार्थसँग मेल खाँदैन। तसर्थ, बाह्य शक्ति ओली र सिङ्गो एमालेविरुद्ध षड्यन्त्रका नयाँ–नयाँ तानाबाना बुनेर ओलीलाई कमजोर बनाउन सकिन्छ कि भनेर दिनरात मिहिनेत गरिरहेका हुन्छन्। विदेशीबाट परिचालित सबै शक्ति एमालेविरुद्ध नुनको सोझो गरेर लागीपरेका छन्। चाहे त्यो संविधान जारी गर्ने बखत होस् या चुच्चे नक्सा निकाल्ने मामलामा। चाहे संसद्बाट भूगोलमा ‘देश सानो ठूलो हुन्छ, तर सार्वभौमसत्ता सबै राष्ट्रको बराबर हुन्छ’ भन्ने पाठ भारतलाई पढाउँदा भारतीय चक्रव्यूहले ओलीलाई सत्ताच्युत गर्ने काम गर्यो। ओली र एमालेको शक्ति भनेका जनता हुन्।
सत्यका पछाडि जनता छन्। एमसीसीलाई व्याख्यात्मक टिप्पणीमार्फत संसद्बाट पास गराउन सफल प्रचण्ड, देउवा, माधव नेपालहरूले सबै नेपालीलाई थाहा हुने गरी ओलीले संसद्मा टेबुल गर्दा चर्काचर्का कुरा गरेर नेकपा विभाजनको एउटा कडी बनाएको तीतो यथार्थ छर्लङ्ग थियो। एमसीसी पास भइसकेको अवस्थामा चिनियाँ सहयोग बीआरआईमा नेपाल सहभागी हुने विषय ओलीले नै पास गराएका थिए। त्यसपछि भारत र अमेरिका झनै क्रुद्ध बने । दुई छिमेकी राष्ट्र भारत र चीनले नेपाली भूमि लिपुलेक भञ्ज्याङ हुँदै व्यापार सम्झौतामा हस्ताक्षर गरेपछि साङ्घाई सहयोग सङ्गठनको सम्मेलन र चीनले जापानमाथि विजय हासिल गरेको दिनको सम्झनामा भिक्ट्री परेडमा सहभागी हुन साङ्घाई पुगेका ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई उक्त सम्झौता नेपाललाई मान्य नहुने र लिपुलेक नेपालको अभिन्न अङ्ग रहेको विषय विश्वले सुन्ने गरी राख्नुभएपछि भोलिपल्ट साङ्घाई जाने तयारीमा रहेका भारतीय प्रधानमन्त्री झन् क्रुद्ध बने।
भिक्ट्री परेडमा सहभागी हुँदा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनलगायतसँग भेटवार्ता गरेपछि अमेरिका, युरोपियन युनियन र जापान अनि क्रुद्ध बने। त्यसपछि महिनौँदेखि तयार पारिएको चक्रव्यूहमा ओलीलाई अपदस्थ गर्न नवयुवाको आवरणमा जेन–जी आन्दोलनको जगमा ‘कलर रेभुलुसन’ भनेर नवयुवालाई ढाल बनाइयो। आन्दोलनमा घुसपैठ गरी आगजनी, तोडफोड र लुटपाट मच्चाउने काम भयो। अनि, सुशीला कार्की नेतृत्वको सरकार बनाउन विदेशीले खुलेआम नाङ्गो नाच नाचे। जब जापान, दलाई लामाले असंवैधानिक सरकारलाई बधाई दिन थालेपछि बल्ल नेपथ्यका खेलाडी स्पष्ट भयो।
अहिले जेन–जी विद्रोहको तीन महिना बितेको छ। एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्या छ। ‘बेला यही हो’ भनेर पार्टी नेतृत्व हत्याउन एउटा पङ्क्ति लागिरहेको छ। यो बेला देश राष्ट्रिय सङ्कटमा छ, तसर्थ एकमना एकताको साथ एमालेजन एकताबद्ध रहेर आगामी दिन ओली नेतृत्वमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको महाअभियानमा जोडिनुपर्ने आजको आवश्यकता हो।
आज केपी ओली र एमालेविरुद्धको घेराबन्दी बलियो र सङ्गठित भएको छ। ती सबै घेराबन्दी तोड्ने सामर्थ्य ओलीसँग छ। महाभारतका अभिमन्युले जस्तो चक्रव्यूह तोड्न सकेनन्, तर आजका चुनौती (राजनीतिक, आर्थिक, राष्ट्रिय) तोड्नसक्ने क्षमता ओलीमा छ। ओली पार्टीगत सीमाभन्दा माथि उठेर राष्ट्रकै अभिभावक भएका छन्। ओली र एमालेविरुद्ध सबै शक्ति लाग्नुको मूल कारण यसको सुदृढ सङ्गठन, राष्ट्रवादी नीति, भ्रष्टाचारविरोधी प्रतिबद्धता र जनस्तरमा गहिरो पकड हो।
राष्ट्रको सार्वभौमसत्ता, स्वाधीनता, स्थिरता र समाजवादी परिवर्तनका पक्षमा दृढ ओली विदेशी स्वार्थ, दलाल पुँजी र स्वार्थपरक गठबन्धनका लागि चुनौती बनेका छन्। सशक्त नेतृत्व र जनआधारित दृष्टिकोणका कारण विपक्षी शक्ति एक भएर एमालेलाई कमजोर पार्ने प्रयास गर्छन्, तर ओली र एमालेसँग त्यस घेराबन्दीलाई सामना गर्ने सङ्गठनात्मक र जनसमर्थन विद्यमान छ।
(लेखक नेशनल भोलिन्टियर फोर्सका सचिवालय कमान्डर हुन्।)

Leave a Reply