
जेन–जी आन्दोलनपछि बाँकेका आठ वटै पालिका र ८१ वटै वडामा एमालेका वडा स्तरीय कार्यक्रम सम्पन्न भए । पार्टी पुनः ग्रास रुटको ऊर्जा र एकतामा उभिएको छ । यस पटक जिल्ला, प्रदेश र केन्द्रबाट आएका नेताको ‘निर्देशन’ भन्दा पनि कार्यकर्ताको ‘धारणा, गुनासा र सुझाव’ सुन्नेमा जोड दिनु एमालेभित्र विकास भएको लोकतान्त्रिक अभ्यासको सकारात्मक रूपान्तर हो ।

कार्यकर्ताले राखेका धारणा स्पष्ट छन्, ‘पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प छैन र चुनौतीपूर्ण परिस्थितिमा उहाँलाई थप बलियो बनाउनुपर्ने आवश्यकता छ ।’
उनीहरूले उठाएको भावनाको मूलमा दुई पक्ष छन् । पहिलो, केपी ओलीले प्रदर्शित गरेको राष्ट्रिय स्वाभिमानको दृढ अडान । दोस्रो, पार्टीभित्र विगतमा देखिएका विभाजनकारी गतिविधिलाई आन्तरिक संवाद र जिम्मेवार नेतृत्वमार्फत न्यून गर्दै एकतापूर्ण वातावरण बनाइएको विश्वास । विशेष गरी माधव नेपाल समूहसँगको प्रतिस्पर्धापछिको अवस्थालाई सम्हाल्दै ओलीले पदाधिकारीदेखि जिल्ला तहसम्म सबै पक्षलाई समेटेर अघि बढाइएको प्रक्रियाले ग्रास रुटमा ‘अब पक्ष–विपक्ष’ भन्ने सोच कमजोर हुँदै गएको संकेत देखिन्छ ।
यता, देशभित्र र बाहिरबाट अध्यक्ष ओलीमाथि भइरहेका प्रहारका बीच ग्रास रुट कार्यकर्ताले देखाएको विश्वासले पार्टी अझ संगठित रूपमा उभिन सक्ने संकेत दिन्छ । अहिले एमालेभित्र धेरै चलखेल, खेमावाद वा आन्तरिक वाक युद्ध बढाउनुको सट्टा, अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत महाधिवेशन तयार पार्नु नै पार्टीलाई दीर्घकालीन रूपमा मजबुत बनाउने उपाय हो । यस्तो महाधिवेशनले मात्र देशभित्र र अन्तर्राष्ट्रिय शक्तिहरूलाई स्पष्ट सन्देश दिन सक्छ, एमाले एकताको बलमा उभिएको, संगठित, दृढ र भविष्यप्रति केन्द्रित दल हो ।
यदि यही एकता, यही स्पष्टता र यही संगठनात्मक अनुशासन कायम रह्यो भने आगामी निर्वाचनहरूमा एमालेलाई रोक्न सक्ने शक्ति कमै देखिन्छ । पहिलो, बलियो र निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमाले उदाउने सम्भावना यथार्थपरक बन्दै गएको छ ।
एमालेलाई बलियो पार्टी बनाएको आम कार्यकर्ताहरूले हो । नेपालगञ्जमा महासचिव शंकर पोखरेलको उपस्थितिमा सम्पन्न जनसभामा देखिएको जनलहर पनि एमालेप्रति आम जनताको समर्थनमा झन् बढेको छ भन्न सकिन्छ ।
जेन–जी आन्दोलनमा राखिएका सुरुवाती मागमा हाम्रो कतै विमति छैन । तर, यसको आडमा गरिएको हिंसात्मक गतिविधि भने स्वीकार्य छैन । भदौ २३ गते भएको शान्तिपूर्ण प्रदर्शनमा गोली लागेर केही युवाको निधन भएपछि तत्कालीन सरकारले नै छानबिनका लागि समिति गठन गरिसकेको अवस्था थियो । एमाले युवाहरूले गठन गरेको पार्टी हो । अहिले पनि लाखौँ युवा र विद्यार्थी यो पार्टीका सदस्य छन् । एमाले विरुद्धका हरेक षड्यन्त्रलाई हामीले कार्यकर्ताको बलमा निस्तेज पार्दै आएका छौँ ।
जेन–जी आन्दोलनको समयमा तोडफोड र आगजनी गरिएको बाँके एमालेको पार्टी कार्यालय एक महिनाभित्र आम कार्यकर्ताबाट सहयोग जुटाएर पुनः निर्माण गर्न सक्नु पनि आम कार्यकर्ताहरूको पार्टीप्रतिको अपनत्व नै हो ।
(एमाले बाँकेका उपाध्यक्ष खत्री लुम्बिनी प्रदेशसभा सदस्य हुन् ।)

Leave a Reply