एमाले महाधिवेशनः लुम्बिनीबाट नयाँ दाबेदारको भिड, पुरानाकै व्यवस्थापन चुनौती

रुपन्देही । एमाले महाधिवेशनमा लुम्बिनी प्रदेशबाट २ दर्जनभन्दा बढी नयाँ अनुहार केन्द्रीय सदस्यको दौडमा लागेका छन् । १० औँ महाधिवेशनबाट यो प्रदेशबाट ७ पदाधिकारीसहित ५२ केन्दीय सदस्य र १० जना विभिन्न आयोगमा पुगेका छन् ।

अहिले कायम रहेकामध्ये केही माथिल्लो पदमा जान चाहेका छन् भने अधिकांश केन्द्रीय सदस्यहरूले यसलाई निरन्तरता दिन खोजेपछि नयाँ आकांक्षी दुई दर्जनको व्यवस्थापनका लागि पार्टी नेतृत्वलाई चुनौती थपिएको छ त्यसमाथि केन्द्रमै पहिलेभन्दा संख्या घटाइएको छ ।

१० औँ महाधिवेशनबाट ३५५ केन्द्रीय सदस्य रहेकोमा भदौ २२ को विधान अधिवेशनले त्यसलाई घटाएर २७५ सदस्यीय बनाएको छ त्यो आधारमा लुम्बिनीबाट साबिकको कोटामा कटौती हुने निश्चित भएकाले पनि नेतृत्वलाई चुनौती थपिएको हो । अहिले प्रदेशबाट १९१ जना प्रतिनिधि छनौट भएर गएका छन् त्यसमाथि केही मनोनित पक्कै हुनेछन् । आयोजक कमिटीमा केन्द्रीय पदाधिकारी, सदस्यहरु तथा विभिन्न आयोगमा रहेकाहरु रहेपछि उनीहरुको संख्या पनि त्यसमै जोडिने छ ।

निर्वाचित प्रतिनिधिहरूसँग प्रदेशबाट पदाधिकारी बनेका नेताहरुले औपचारिक रूपमा कुन पदमा जाने भन्ने स्पष्ट जानकारी नगराएपनि आन्तरिक रुपमा संकेत गरिरहेका छन् । यता केन्द्रीय कमिटीमा जान चाहेका नेताहरुले पनि आफू निकटस्थ नेताहरुलाई जसरी पनि आफ्नो व्यवस्थापनका लागि दबाब दिँदै आएका छन् । नयाँ आकांक्षीहरू अधिकांश आफ्नो लाइन मिलाउन काठमाडौं पुगिसकेका छन् ।

लुम्बिनी प्रदेश एमालेका अध्यक्ष राधाकृष्ण कँडेलले आफू केन्द्रीय कमिटीमा अहिले नजाने तर यहाँबाट जाने साथीहरूको समन्वय गर्ने जनाएका छन् । लुम्बिनी प्रदेश कमिटीबाट पाँच जना राष्ट्रिय प्रतिनिधि बनेकामध्ये कंडेलबाहेक अरु केन्द्रीय कमिटीमा जाने आकांक्षी देखिएका छन् ।

प्रदेश कमिटीबाट अध्यक्ष राधाकृष्ण कँडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ सचिव लक्ष्मण आचार्य, उपसचिव लीला राना र र कार्यालय सचिव बिना गुरुङ प्रतिनिधि परेका छन् । अध्यक्ष कँडेलले केन्द्रमा आफूले उम्मेदवारी नदिने जनाए ।

प्रदेश अध्यक्ष स्वतः केन्द्रीय सदस्य हुने विधान भएकोले अर्को पदमा उम्मेदवारी नदिने उनको भनाइ छ । उपाध्यक्ष श्रेष्ठ यसअघि पनि आकांक्षी भएपनि नपाएकाले यसपटक दावेदारी रहने बताउँछन् ।

‘प्रदेशमा करिब दुई कार्यकाल सकाएँ, यसअघि पनि केन्द्रीय कमिटीमा जाने तयारीमा थिएँ तर नेतृत्वले प्रदेशको जिम्मेवारी दिएकाले यतै बसेको हो, अब केन्द्रीय नेतृत्वसँगको सल्लाहमा अघि बढ्ने हो’ उनले भने ।

प्रदेशमा रहेका पदाधिकारीहरूले केन्द्रमा पर्ने ढुक्क भएमात्रै उम्मेदवारी दिनेगरी नेताहरूसँग चाहना राखेका छन् । एमालेको विधानमा माथिल्लो तहमा मनोनयन गरेमा तल्लो तहका पद स्वतः खारेज हुने व्यवस्था भएकाले उनीहरुलाई सुरक्षित नभई जान समस्या परेको हो ।

प्रदेशबाट युवा क्लष्टरमा रुकुमपूर्वका जिल्ला अध्यक्ष लीलामणि गौतम बलियो उम्मेदार हुन् । त्यसैगरी युवा संघका पूर्व केन्द्रीय सचिव बाँकेका खेमराज शर्मा पनि युवा क्लष्टरबाट केन्द्रीय कमिटीमा दौडधुपमा छन् । महिलाबाट ज्ञानु केसी, जागेश्वरी चौधरीले तयारी गरिरहेका छन् । मधेशी तर्फबाट बजरंगप्रसाद कुर्मी कपिलवस्तु, तुलसी पासी नवलपरासीले तयारी गरिरहेका छन् । त्यसैगरी अघिल्लोपटक तयारी गरेर नपाएका तुलसीप्रसाद चौधरी बलियो उम्मेदार हुन् ।

खुला तर्फबाट प्रतिनिधिसभाका निवर्तमान सदस्य रहेका वासुदेव घिमिरे, प्रेस चौतारीका पूर्व केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल दाबेदार छन् । त्यसैगरी रुपन्देहीका पूर्वअध्यक्ष तेजेन्द्र केसी, बर्दियाका पूर्वअध्यक्ष लालबहादुर खत्री, दाङका रेवतीरमण शर्मा, रोल्पाका शान्तकुमार वली, कपिलवस्तुका पूर्वअध्यक्ष डम्बर शर्मा, पाल्पाका धनेन्द्र घिमिरे, गुल्मीका अध्यक्ष बालसिंह काउछा, बाँकेका उपाध्यक्ष रत्न खत्री नयाँ केन्द्रीय कमिटी सदस्यका लागि बलियो दावेदारका रुपमा रहेका छन् । उनीहरूमध्ये अधिकांश जिल्ला तथा प्रदेशको नेतृत्व सम्हालेका छन् ।

पदाधिकारीका लागि केही नेताहरूले दौडधुप गरेका छन् । पोलिटब्युरो सदस्यहरू सूर्य थापा, खिमलाल भट्टराई, ठाकुर गैरे, लीला गिरी तथा केही समयअघि नेकपा एसबाट आएकी रामकुमारी झाँक्रीसहितका नेताहरू पदाधिकारी प्रवेशका लागि तयारीमा छन् ।

थापा पछिल्लो समय अध्यक्ष केपी ओलीको पक्षमा खुलेर बोलेका नेतामा गनिन्छन् । प्यूठानमा ५ दलको गठबन्धन भएको समयमा पनि फराकिलो मतले चुनाव जितेकाले उनले केन्द्रीय नेताहरुको ध्यानाकर्षण गराएका छन् । लीला गिरी लुम्बिनीका पूर्वमुख्यमन्त्री हुन् भने ठाकुर गैरे अनेरास्ववियुका नेता हुँदै पाल्पाबाट निर्वाचित सांसद हुन् । रुपन्देहीका खिमलाल भट्टराई पूर्वराष्ट्रिय सभा सांसद हुन् ।

तर, यहाँबाट यसअघिका ७ मध्ये निलम्बित सचिव टोपबहादुर रायमाझी थुनामा रहेकाले नपर्ने निश्चित छ भने उपाध्यक्ष युवराज ज्ञवाली पुस्तान्तरण गरेर अरुलाई जिम्मेवारीमा पठाउने बताइरहेका छन् अन्य ५ जना स्वतह दावेदार भएकाले नयाँ प्रवेश गर्नेलाई सहज छैन तर निर्वाचन भएको खण्डमा प्रवेश पाउन सक्नेछन् ।

१०औँ महाधिवेशनबाट यहाँबाट उपाध्यक्षद्वय युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट र छविलाल विश्वकर्मा छन् । टोपबहादुर रायमाझी सचिव नै रहे पनि अहिले निलम्बित रही पुर्पक्षका लागि थुनामा छन् । उनीहरुमध्ये पौडेल र पोखरेल यथावत रहन चाहेका छन् भने ज्ञवाली विष्ट महासचिव र विश्वकर्मा उपाध्यक्ष बन्न चाहेका छन् ।

ज्ञवाली सहमतिमा भए दोहोरिने तर निर्वाचन भए नजाने मुडमा रहेका छन् । केन्द्रमा अध्यक्ष ओली दोहोरिने र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदारी सार्वजनिक गरेसँगै लुम्बिनीका ६ पदाधिकारीमध्ये युवराज ज्ञवाली र गोकर्ण विष्ट मात्रै पोखरेलको पक्षमा खुलेका छन् भने अरु सबै ओलीलाई दोहोर्‍याउने पक्षमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *