युक्रेनी राष्ट्रपति जेलेन्स्कीको अडान- अमेरिकी दबाबको प्रतिरोध गर्ने, आफ्नो भूमि नत्याग्ने

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आफ्नो देशको लागि थप युरोपेली समर्थन जुटाउन लागि परेका छन् । अमेरिकी दबाबको प्रतिरोध गर्दै कुनै पनि क्षेत्र त्याग्न नसक्ने आफ्नो दृढ अस्वीकारलाई जेलेन्स्कीले पुन: पुष्टि गरेका छन् ।

‘निस्सन्देह, रूसले हामीलाई हाम्रा भूमिहरु त्याग्न जोड दिएको छ । हामी, स्पष्ट रूपमा, केही पनि त्याग्न चाहँदैनौं । हामी त्यसैको लागि लडिरहेका छौं,’ जेलेन्स्कीले सोमबार अबेर व्हाट्सएप च्याटमा पत्रकारहरूलाई भनेका थिए ।

‘के हामी कुनै क्षेत्रहरू दिने विचार गर्छौं ? कानूनअनुसार हामीलाई त्यस्तो अधिकार छैन,’ उनले भने, ‘युक्रेनको कानूनअनुसार, हाम्रो संविधान अनुसार, अन्तर्राष्ट्रिय कानून अनुसार, र स्पष्ट भन्नुपर्दा, हामीलाई नैतिक अधिकार पनि छैन ।’

मंगलबार प्रकाशित पोलिटिकोसँगको एक अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रूसलाई आफ्नो भूभाग सुम्पने अमेरिकी प्रस्ताव स्वीकार गर्न जेलेन्स्कीलाई दबाब दिएको एसोसियट प्रेसले लेखेको छ ।

जेलेन्स्कीले रोममा इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीसँग भेट गरी शान्ति प्रक्रियाको प्रगतिबारे छलफल गरेको उनको कार्यालयले जनाएको छ । उनीहरूले अमेरिका र युरोपेली एकताको महत्त्व र ‘महादेशको सुरक्षामा असर पार्ने समाधानहरूको महत्त्व’ मा जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले ‘भविष्यमा हुने आक्रमणलाई रोक्नको लागि बलियो सुरक्षा ग्यारेन्टीहरू विकास गर्ने र रूसलाई राम्रो विश्वासका साथ वार्ताको टेबलमा सामेल हुन दबाब कायम राख्ने’ विषयमा पनि छलफल गरेका छन् । यसअघि, जेलेन्स्कीले रोम बाहिर पोपको निवास क्यास्टेल गान्डोल्फोमा पोप लियो चौधौंसँग भेट गरेका थिए । लियोले निरन्तर संवादको आवश्यकतालाई दोहोर्‍याएका थिए । उनले वर्तमान कूटनीतिक पहलहरूले न्यायपूर्ण र दिगो शान्ति ल्याउने आफ्नो तत्कालको इच्छा रहेको बताएका थिए ।

लियोले जेलेन्स्कीसँग तीन पटक भेटेका छन् र कम्तिमा एक पटक रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुरा गरेका छन् । युद्धविरामको लागि आह्वान गर्दै र मस्कोलाई शान्ति प्रवर्द्धन गर्न उनले आग्रह गरेका छन् ।

ट्रम्पको बढ्दो अधीरताको बीचमा युक्रेनको हात बलियो बनाउन सोमबार जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केयर स्टारमर, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मर्जसँग लन्डनमा वार्ता गरे ।

ट्रम्प प्रशासनको शान्ति प्रस्तावमा मतभेद कम गर्ने प्रयास गर्ने उद्देश्यले अमेरिका र युक्रेनी वार्ताकारहरूले शनिबार तीन दिने वार्ता सम्पन्न गरे ।

एसोसियट प्रेस लेख्छ- एउटा प्रमुख बाधा भनेको कीभले पूर्वी युक्रेनको डोनबास क्षेत्रको नियन्त्रण रूसलाई दिनुपर्छ भन्ने सुझाव हो । जसले धेरैजसो क्षेत्र ओगटेको छ । युक्रेन र यसका युरोपेली सहयोगीहरूले भूमि हस्तान्तरण गर्ने विचारको दृढतापूर्वक विरोध गर्दैआएका छन् ।

‘तपाईंलाई थाहा छ, धेरै मानिसहरू मरिरहेका छन्,’ ट्रम्पले सोमबार पोलिटिकोलाई भने । ट्रम्पले जेलेन्स्कीका ‘लेफ्टिनेन्टहरू, उनका शीर्ष व्यक्तिहरू’ भनेर पहिचान गरेका अन्य युक्रेनी अधिकारीहरू अमेरिकी प्रशासनसँग सहमत भएको दाबी गरे ।

सोमबार जेलेन्स्कीको टिप्पणी बाहेक, युक्रेनी वार्ताकारहरूले अमेरिकी प्रस्तावको विषयवस्तु वा यसप्रति आफ्नो दृष्टिकोणको बारेमा सार्वजनिक रूपमा थोरै मात्र बताएका छन् ।

मंगलबार ह्वाट्सएपमा पत्रकारहरूसँग फेरि कुरा गर्दै जेलेन्स्कीले भने – अमेरिकी र युरोपेली साझेदारहरूसँग तीनवटा दस्ताबेजहरू छलफल भइरहेको छ – २०-बुँदे रूपरेखा दस्ताबेज जुन निरन्तर परिवर्तन भइरहेको छ, सुरक्षा ग्यारेन्टी सम्बन्धी दस्ताबेज र युक्रेनको पुन:प्राप्तिसँग सम्बन्धित दस्ताबेज ।

युक्रेनको प्रस्तावको अद्यावधिक संस्करण बुधबार अमेरिकालाई दिइने जेलेन्स्कीले पत्रकारहरूलाई जानकारी गराए ।

ट्रम्पले भने, ‘रुस शक्तिशाली छ, युक्रेनले लडाइँ जारी राख्न सक्छ ।’

उनले थपे- ‘म युक्रेनका जनता र युक्रेनको सेनालाई उनीहरूको बहादुरी र लडाइँ र ती सबैको लागि ठूलो श्रेय दिन्छु । तर तपाईंलाई थाहा छ, सामान्यतया जुनै समय ठूलाले जित्नेगर्छ ।’

ट्रम्पले युक्रेनमा राष्ट्रपति चुनाव गराउनुपर्ने आफ्नो आह्वान दोहोर्‍याइरहेका छन् । यद्यपि मार्शल लले अनुमति दिँदैन र २०१९ मा निर्वाचित जेलेन्स्कीको पाँच वर्षको कार्यकाल युद्धका कारण थपिएको छ । युक्रेनले चुनाव तत्काल नगराउने बताइरहँदा ट्रम्पको अडान ‘पुटिनका बारम्बार आइरहेका वक्तव्यहरुसँग’ मिल्न पुगेको देखिन्छ ।

ट्रम्पको टिप्पणीको जवाफ दिँदै जेलेन्स्कीले अमेरिका र सम्भवतः युरोपबाट ‘चुनावको सुरक्षा सुनिश्चित गर्न’ मद्दत मागेका छन् । युक्रेन ६० देखि ९० दिनभित्रमा चुनाव गर्न तयार हुनसक्ने उनले बताएका छन् ।

विगतका टिप्पणीहरूमा जेलेन्स्कीले युद्धविराम घोषणा नभएसम्म र मार्शल ल नहटाएसम्म चुनाव गराउन अस्वीकार गरेका छन् । र, युक्रेनीहरूले उक्त निर्णयलाई ठूलो मात्रामा समर्थन गरेका छन् ।

स्टारमर, म्याक्रोन र मर्जले कीभलाई बलियो समर्थन गरेका छन् । शान्तिको लागि प्रयास ‘महत्वपूर्ण चरण’ मा छ र ‘न्यायपूर्ण र दिगो युद्धविराम’ को आवश्यकता रहेको बेलायती नेताले जोड दिएका छन् । यसैबीच, मर्जले अमेरिकाले जारी गरेका कागजातमा भएका केही विवरण बारे आफूलाई ‘शंका’ लागेको बताए । ‘हामीले यसको बारेमा कुरा गर्नुपर्छ । त्यसैले हामी यहाँ छौं,’ उनले भने, ‘आगामी दिनहरू … हामी सबैको लागि निर्णायक समय हुन सक्छन् ।’

युद्धविरामलाई युरोप र अमेरिका दुवैबाट ठोस सुरक्षासहित ग्यारेन्टी गराउन युरोपेली नेताहरुले जोड दिइरहेका छन् । ताकि रूसले फेरि आक्रमण नगरोस् । तर ट्रम्पले सार्वजनिक रूपमा स्पष्ट ग्यारेन्टी दिएका छैनन् । जेलेन्स्की र उनका युरोपेली सहयोगीहरूले बारम्बार पुटिनले ‘आक्रमणलाई अगाडि बढाउन’ वार्तालाई ढिलो गरेको आरोप लगाउँदै आएका छन् ।

एपी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *