लुम्बिनी भर्सेस काठमाडौं- आज कसको यात्रा टुंगिएला ?

काठमाडौं । पहिलोपटक एनपीएलको प्लेअफमा पुगेका दुई टिम लुम्बिनी लायन्स र काठमाण्डु गोर्खाज आज इलिमिनेटरमा भिड्दैछन् । पराजित हुने टोली उपाधि दौडबाट बाहिरिनु पर्नेछ ।

एनपीएलको अघिल्लो सिजनमा लुम्बिनीले खराब प्रदर्शन गर्दै अंकतालिकाको पुछारमा रहेको थियो । काठमाण्डु पाचौं स्थानमा रहेर प्लेअफमा जान चुक्यो । यसपाली दुवैले टिमले प्लेअफमा स्थान बनाएर उपाधि होडमा रहेका छन् ।

लुम्बिनी लायन्सको नेतृत्व गरिरहेका छन् नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले । गत सिजनमा उनले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गरे पनि समग्र टिमको प्रदर्शन राम्रो हुन सकेको थिएन । यसपाली पनि लुम्बिनीको सबैभन्दा बढी आशा कप्तान पौडेलमाथि नै टिकेको छ । यद्यपि, टिम पनि पहिलेभन्दा बढी सन्तुलित देखिन्छ ।

अघिल्लो सिजनमा लुम्बिनीका विदेशी खेलाडीहरुले निराश बनाएका थिए । यो पाली विदेशी खेलाडीहरुको सेट लुम्बिनीले पुरै परिवर्तन गरेको छ । टम मुर्स, साद बिन जाफर, रेमन सिमोन्ड्स्, उन्मुक्त चन्द र बेन कटिङमध्ये कसैले पनि दोस्रो सिजनमा निरन्तरता पाएनन् ।

यसपाली निरोशन डिकवेला, डि आर्सी सर्ट, गुलबदिन नैब, जोहानस जोनाथन स्मिट, रुबेल ट्रम्पलम्यानजस्ता खेलाडीहरु छन् । विदेशी खेलाडीको सेट पोहोरभन्दा यसपाली बलियो छ र त्यही अनुसार प्रदर्शन पनि गरेका छन् ।

स्वदेशीतर्फ पनि लुम्बिनीसँग रोहितको साथमा सन्दीप जोरा, दिलिप नाथ सुमित महर्जन, शेर मल्ल, तिलक भण्डारी लगायत खेलाडीहरु छन् । यो सिजनमा शेर मल्लले लुम्बिनीका लागि उत्कृष्ट गरिररहेका छन् ।

लुम्बिनीले पहिलो म्याचमा चितवनलाई हराउँदै दोस्रो सिजनको सुखद सुरुवात गरेको थियो । तर, त्यसपछि लगातार तीन म्याच हारेर आफूलाई कमजोर स्थितिमा पुर्यायो । त्यसपछि फेरि लगातार तीन म्याच जित्दै प्लेअफमा स्थान बनाएको हो । काठमाण्डुसँग समूह चरणमा भएको भिडन्तमा लुम्बिनीले २२ रनको हार व्यहोरेको थियो ।

यता काठमाडौंको टिम कागजीरुपमा अरुभन्दा कमजोर देखिन्छ । काठमाण्डुसँग ठूला विदेशी नामहरु छैनन् । तर, भएका खेलाडीहरुले राम्रो डेलिभरि दिइरहेका छन् । काठमाण्डुले पहिलो म्याचमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै दोस्रो सिजनको उत्कृष्ट सुरुवात गर्यो ।

त्यसपछि दुई म्याचमा सुदुरपश्चिम र बिराटनगरसँग लगातार हार व्यहोर्यो । अन्तिम चार म्याचमा लगातार जित हासिल गर्दै काठमाडौं प्लेअफमा पुगेको हो । तर, रनरेटका आधारमा बिराटनगरले उछिनेपछि तेस्रो स्थानमा रहेर इलिमिनेटर खेल्नु परेको छ ।

काठमाण्डुका कप्तान करण केसीले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका छन् ।सात म्याचमा १२ विकेट लिएका उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचीमा पाचौं नम्बरमा छन् । उनले कुनै पनि म्याचमा विकेटविहिन रहनु परेको छैन । काठमाण्डुकै स्पिनर सहाब आलमले पनि समान १२ विकेट लिएका छन् ।

ब्याटिङतर्फ पछिल्लो म्याचमा भिम सार्कीको प्रदर्शनले काठमाण्डुको ‘मोरल बुस्ट’ गरेको छ । उनले आक्रामक शैलीमा ब्याटिङ गर्दै १९ बलमा अर्धसतक प्रहार गरेका थिए । काठमाण्डुका विदेशी खेलाडीहरुको प्रदर्शन औसत मात्र छ ।

आज हुने म्याचमा विजेताले फाइनलमा स्थान बनाउँदैन । तर म्याच हारेमा प्रतियोगिताबाट बाहिरिनुपर्ने हुन्छ । जित्नेले विराटनगरविरुद्ध भोली प्रतिस्पर्धा गर्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *