‘अन्तिम पटक’ चुनाव लड्दै देउवा- डडेल्धुरामा एक्लो आकांक्षी

कैलाली । फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि नेपाली कांग्रेसले जिल्ला र क्षेत्रबाट धमाधम उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये केही क्षेत्रबाट जिल्लामा नाम पुगिसकेको छ भने केही ठाउँमा टुंग्याउन बाँकी छ ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको कैलालीका ५ वटै क्षेत्रबाट आकाङ्क्षीहरूको नाम जिल्लामा पुगिसकेको छ । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा उम्मेदवारहरूको नाम छनोट हुन बाँकी छ । कैलाली ५ बाट पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित चारजनाको नाम सिफारिस गरिएको छ ।

प्रदेश महामन्त्री नरनारायण शाह मनु, अघिल्लो निर्वाचन जितेका डिल्लीराज जोशी र पूर्वमेयर नृप वडको नाम यहाँबाट सिफारिस गरिएको छ । यी चारमध्ये आरजुको बलियो सम्भावना रहेको नेताहरू सुनाउँछन् । ७४ मा एमालेका नारदमुनि रानासँग पराजित आरजु ७९ मा समानुपातिक सांसद बनेकी थिइन् ।

कैलाली ४ बाट पनि साविक विजेता वीरबहादुर बलायरसहित विजय कुँवर, लोकराज पाण्डे ‘आगो’, दिनेशराज जोशी, टेकराज जोशी, नैनसिंह महर र भुवन महरा (युवा प्रतिनिधि) को नाम सिफारिस गरिएको छ । कैलाली क्षेत्र नम्बर ३ बाट खेमराज डगौरा थारु, अविनाश चौधरी, भीम बहादुर बडूवाल र झंकरबहादुर शाहको नाम सिफारिस गरिएको छ । कैलाली-२ बाट सबैभन्दा धेरैजनाको नाम सिफारिस गरिएको छ ।

कृष्णराज पाण्डे घनश्याम जोशी, विजय बहादुर स्वार, हिमबहादुर रावल, गोपालबहादुर बम, ललित भट्ट वीरबहादुर थारु नवराज उपाध्याय, जितेन्द्र उपाध्याय र मोहनसिंह राठौरको नाम सिफारिस गरिएको छ । कैलाली १ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य रामजनम चौधरी र डा. रणबहादुर रावल, ईश्वरी न्यौपाने, सुदूरपश्चिम प्रदेश समितिका उपसभापति जनकराज चौधरी र बुद्धिसागर चौधरीको नाम सिफारिस गरिएको छ ।

कैलालीका सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम जिल्लामा सिफारिस हुँदा कञ्चनपुरको तीन निर्वाचन क्षेत्रमा नाम सिफारिस गरिएको छैन । अहिलेसम्म उम्मेदवारको छनोटको लागि क्षेत्रको बैठक नबसेको जिल्ला उपसभापति मीनबहादुर सिंहले जानकारी दिए ।

डडेल्धुरामा देउवाको एक्लो दाबी

एउटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ‘अन्तिम पल्ट’ भन्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लड्ने गरेका छन् । अहिलेसम्म डडेल्धुराबाट प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारको नाम सिफारिस गरिएको छैन । तर, कांग्रेस जिल्ला समितिले पूर्वप्रधानमन्त्री देउवाको एक्लो नाम सिफारिस गर्ने तयारी गरिएको छ ।

मंगलबार देउवालाई भेट्न नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद , देउवाको गृहपालिका गन्यापधुराका अध्यक्ष इन्द्रबहादुर कार्की, उपाध्यक्ष ज्ञानु सेठी देउवा, परशुराम नगरपालिका मेयर भरत बडायर जोशीलगायतका नेताहरू पुगेका थिए । उनीहरूसँग देउवाले अन्तिम पटक निर्वाचन लड्ने सङ्केत गरेका हुन् ।

‘डडेल्धुराका जनताले उहाँको सम्मानजनक बिदाई खोजेका छन्,’ सभापति साउँदले भने, ‘डडेल्धुराका जनताकै इच्छाअनुसार सोही कारण भेटघाटका क्रममा हामीहरूले डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन लड्नका लागि उहाँसमक्ष अनुरोध गरेका थियो । जनताको इच्छा भए अन्तिम पटक डडेल्धुराबाट चुनाव लड्छु भन्नुभएको छ ।’

जिल्ला सभापति साउँदले काठमाडौंबाट फर्किएर केन्द्रीय निर्देशनअनुसार तोकिएकै मितिमा देउवाको नाम एकलरूपमा सिफारिस गर्ने तयारी रहेको बताए ।

देउवा डडेल्धुराबाट सात पटक संघीय निर्वाचनमा विजयी भइसकेका छन् । २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा देउवा विजयी भएका थिए ।

जिल्लाबाट आएका नामहरूमा प्रदेश समितिले २८ र २९ गते छलफल गर्ने जनाएको छ । अहिले केन्द्रबाट तीनजनाको नाम सिफारिस गर्न भनिएको बताउँदै प्रदेश महामन्त्री नरनारायण शाह मनुले जिल्लाबाट आएका सबै नामहरू हुबहु केन्द्रमा पठाउने वा तीन जनाको मात्रै नाम पठाउने भन्ने विषयमा बैठकमा छलफल हुने बताए । उनले २७ गतेभित्र प्रदेश समितिमा नाम आउने बताए ।

‘अहिले केही जिल्लाहरूसम्म नाम आएपनि प्रदेशमा पुगेको छैन । २७ गतेभित्र नाम प्रदेशमा पुग्ने छ । त्यसपछि प्रदेश समितिको बैठकले केन्द्रलाई नाम सिफारिस गर्ने छ’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *